जन्मभूमिलाई पत्र — एक

देशभक्त

स्तम्भकार

आदरणीय आमा
दण्डवत् प्रणाम ।
आमा, तपाईंलाई कस्तो छ ? तपार्इंको मुटुको एक टुक्रा, त्यो काखको आधा अस्तित्व र सिंगो भविष्य, समयको गति र कर्मको लेखाले वाध्यताको बाटा हिंडाएर विवशतापूर्वक बगरको पुच्छ्रे अस्तित्वमा सिमान्तिकृत गरे पछि आज १८ वर्षसम्म विछोड, ग्लानी, द्विविधा, पीडा, भोक, कुसंगत, अनिश्चितता र विवेकहीनताका ज्वरभाटाहरूमा जेलिएर भएपनि भन्नुपर्छ बाँचेको छु । तर मलाई लाग्छ, पतित अवस्थासँगै सडिइरहेको क्यारकासमा सास वा हावाको कथित सन्तुलन हुनुमात्र जीवनको प्रत्याभूति र जिउनुको परिभाषा हुन सक्तैन । मानिसलाई जिउनलाई त एउटा अस्तित्व चाहिन्छ, स्वतन्त्रता चाहिन्छ, मौलिकता चाहिन्छ । गाँस, बास र कपासको प्रत्याभूति चाहिन्छ । उन्नति र प्रतिस्पर्धाको कार्यशाला चाहिन्छ र एउटा व्यक्तिले मानिस हुन सक्ने पूर्ण परिकल्पना भएको भविष्य चाहिन्छ । हैन र आमा ? अन्यायको दन्कोमा जलिरहेकी मेरी आमा ! तिमीसँग विछोड भएको पूरा १८ वर्ष भएको छ । प्रेमी प्रेमीकाको विछोड भएको भए संयोगान्तको आकाशमा वादल लागि सक्थ्यो होला, अतीत केही विस्मृतिमा हराएर वर्तमान नै भविष्यको बाधक भएको भए पृथ्वी प्रलयको तुवाँलोमा फँस्थ्यो होला ! सूर्यबाट चौटो उछिटिएर झरेको भए पृथ्वीको उत्पत्ति भइसक्थ्यो होला तर आमा तिम्रो काखमा हुर्किइरहेको जैतुन ढालेको हेर्न नसकि वर्तमानमा उदासिनताको हुण्डरी चलाएर मुक्तिको परिकल्पनामा दायित्वपरायणताबाट पतित भएर जीवनको भीख हात थापेर बगरको अर्धमरो वर्तमानमा पुगको म, तपाईंको छोरो १८ वर्षको युगान्तरमा मात्र एउटा पत्र लेख्न सक्ने भएको छु । यद्यपि कम रन्को र थोरै वेदनाले शरणार्थी अस्तित्व म बाँचिरहेको छैन ।

आमा ! तिमीलाई स्मरण रहोस् कि तिम्रो काखमा मेरो ओछ्यनाका लागि विछाइएका थाङ्नाहरू १८ औं शताव्दिको चिन्तनले ग्रसित छन् तर म २१ औं शताव्दिको चिन्तन, वैज्ञानिकता र दार्शनिकतामा बाँचिरहेको छु । आमा ! तिमी परम्परावादी संरचनाधर्मिताको चिन्तनमा छौ र म मुक्ति, मौलिकता, विनिर्माण, स्वच्छन्दता र प्रगतिशील सृजनाधर्मिताबाट अझै नयाँ चिन्तनको खोजीमा छु । हामी फरक चिन्तनले वर्तमान बाँचिरहेका छौं । विचार मिल्दैन होला र तिमीलाई थाहा छ तिमी लाटी छौ । त्यसैले त तिमीले मलाई पढेर बाठो भएस् भनेर विदेश पठाएकी हैन ? तर आमा पढेर बाठो भएँ भन्दैमा मैले मेरो धर्म र दायित्वलाई कदापि विर्सने छैन । आमा ! तिमी धन्य छौ । वैंशमै विधवा हुनु प-यो, शत्रुले छियाछिया पारेर तिम्रो छाती फोडेर रगत चुसिदिए, तिम्रो दशधारा दुध चुसेर हुर्किएका मेरो दाजु भनाउँदा कुपुत्रहरूले उल्टै तिमीलाई नै बलात्कार गर्ने दुश्प्रयास गरे र गरिरहेका छन् । तिमीलाई शोषण गरेर आफ्नो ऐशको विज्ञापन गर्न छिमेकीहरू नै लागि परे । हो आमा ! जीवनमा एकै चोटी यति विघ्न दर्द सहेर पनि सन्तानलाई पढेर बाठो भएस् भनेर विदेश पठाउन सक्ने तिम्रो छाती म्याक्जिम गोर्कीकी आमामा भन्दा कम सहासले भरिएको छैन ।

तिमीले दिएका अर्ती उपदेशलाई मैले मेरो चिन्तनमा मिसाएको छु र तिमीले मलाई सुनाएका तिम्रा सपनाहरूलाई मैले मेरो लक्षमा परिणत गरेको छु । सन्तान भक्तकी मातृत्वलाई यो भन्दा खुसीको खबर के हुन सक्छ ? हुन त आमा तिमी भन्दा धेरै टाढा छु तर तिम्रो मातृत्वबाट मैले हासिल गरेको मेरो वर्तमानमा तिम्रै सपनाहरूको संसारमा मेरा परिकल्पनाहरू मिसाएर मैले जीवनको लक्ष्य बनाएको छु । मेरो एकमात्र लक्ष्य भनेको तिम्रो अनुहारमा नवीनता र युगीनता भरिपूर्ण भएको खुसी उदाउनु हो, तिम्रो छातीमा पुनः जैतुन उमारेर शान्तिको घर बनाउनु हो । “तिमी परमाङ्गी हौ आमा म तिम्रो परञ्जय हुँ” । तिमीले देखेका सपनाहरूसँग मेरो जीवनको सोझो नाता छ । आखिर यही नातामा म अन्योन्याश्रित अस्तित्व निर्माण गर्न चहान्छु । तिमीबाट टाढा बस्दा मैले अभावमात्र बाँचेको छैन । मसँग अनुभवहरू छन्, वेदना—आर्तहरू छन्, तिखातिखा बाँणीहरू छन्, अवहेलना, गालीगलौच, तिरस्कार र दोषारोपणको त म किताब हुँ जसलाई लेखिनु पर्छ, आवाज हुँ जसलाई प्रहर—प्रहर र खण्डहर—खण्डहरमा बोलिनु पर्छ, तिम्रा सपनाहरूको त माहौल हँु जसलाई बागडोरको सही नेतृत्वले सही रूपमा दिशार्निदेश गरी गन्तव्य प्राप्तिका खातिर नसा उमाल्नु पर्छ र कलनसा—कलपूर्जा उरालेर दधीचि हाड घोट्नु पर्छ । आमा ! तिमीले भनेको “सन्तानहरूले चिन्तनबाटै चेतना लिनु पर्छ, मायाबाटै मार्गदर्शन लिनु पर्छ र काखसँगै विवेक दिनु पर्छ” उक्तिलाई मैले कहिल्यै भुल्ने छैन । त्यतिमात्र हैन आमा यसको धर्मलाई कहिल्यै विर्सेको छैन र विर्सने छैन ।

आज बल्ल मेरो चेतनाको अन्धतामा तिम्रो अर्तीको नयाँ सर्गले पदार्पण गरेको छ । मेरो १८ वर्षको अन्तरालका दर्दहरु सुनाउँला र तिम्रा गथासाहरू सुनूँला भन्ने मलाई म्याक्जिम गोर्कीकी आमासँग परिचय भएदेखि नै नलागेको हैन । तिमीलाई पत्र लेखेकै हुँ तर पत्रचारका लागि ठेगाना नभए पछि पठाउन सकिन । आजमात्र मलाई थाहा भयो कि तिमीलाई पत्र पठाउने ठेगाना www.bhutaneseliterature.com रहेछ । आजदेखि बाचा गरें कि समय समयमा पत्र लेख्ने नै छु । तिमी सारा सन्तानका दिमागमा छिरेर प्रतीक्षा गर म वेभपेजका तरङ्ग हुँदै सही समयमा छलाङ मारेर चेतनाको पीउष लिई घच्घच्याउन आइपुग्ने छु ।

प्रसङ्ग बदलौँ, यस पत्रमा म तिमीलाई मेरो पढाइको विषयमा बताउने छु । तिमीदेखि तिम्रो सपनाको डोकोमा आर्शीवाद भारी लगाई मेरो कर्म त्यहाँमाथि सुपारी लगाएर अंकुरमै विनाश झुण्डिएपछि तिमीले उत्तरोत्तर प्रगति होस् भनी दिएको अर्तीलाई उलङ्घन गरी पश्चिम जाँदा म नेपालमा आइपुगें र कलेज भर्ना गरें । यो कलेजमा मानवता पढाइँदो रहेछ । मेरो कलेजको नाम “भूटानी शरणर्थी शिविर” हो । यो नेपाल भन्ने देशको झापा जिल्लमा अवस्थित छ र यसका सात शाखा मध्ये एक मोरङ्ग जिल्लाको शनिश्चरे गाउँ विकास समितिमा पर्दछ, जहाँ मैँले धेरै पढेको छु । यस कलेजको प्रिन्सिपल UNHCR हो र यसको संस्थापक भूटानको प्रतिक्रियावादी फुच्चे तानाशाह हो साथै भारत र अमेरिकाले पनि यसमा साझेदारी गरेका छन् र अरु थुप्रै छन् यस रोडम्यापमा ।

आमा ! नाम नै अनौठो लाग्ने यो कलेजमा पढाइ पनि अचम्मको हुन्छ । यहाँ एक विषयमात्र पढाइन्छ, त्यो हो “मानवता” र एउटैमात्र किताब हुन्छ । किताब अत्यन्त ठूलो छ । मेरो किताबका सारा पानाहरू खाली छन् । यस्तो ठूलो लेख्दै नलेखिएको किताब पढ्दा साँच्चि नै आनन्द आउँछ भन्ने सोच्नु भएको होला तर त्यसो हुँदैन । कारितास नेपालद्वारा राहात स्वरूप दिलाइने १०+२ को स्तर हाँसिल गरे पछिमात्र भर्ना पाइने मेरो कलेजको शैक्षिक पाठ्यक्रममा शरणार्थी, शरणदाता, भोकमारी—मृत्यु, हिंसा—तिरस्कार, अवहेलना—आलोचना, अत्यचार—अन्याय आदि जीवनसँग अन्वित हुने पाठहरू राखिएका छन् । नयाँ पाठ्यक्रम अनुरूप तयार पारिएको यो शिक्षापद्धति खासगरी म जस्तै असहाय, असक्त र टुहुराहरूलाई जीवनको पाठ सिकाउन लक्षित छ । अहिले मेरो श्रेणी भनेको परञ्जय हो । यो एउटा राष्ट्रभक्त जस्तै स्तर हो । यसमा ऐच्छिक विषय पनि छ त्यो हो “तेस्रो राष्ट्रमा स्थानन्तरण” । मसँगै यस कलेजमा पढ्न आएका हामी एक लाख र अरु हजार मध्येबाट दश हजारले ऐक्षिक विषय रोजि सकेका छन् । यो विषय पढ्दा आफ्नी आमालाई वेवास्ता गरिँदो रहेछ । “मातृत्व श्रापका खातिर पनि शिक्षा दिलाइने कस्तो अभियान हगि आमा” ? नयाँ चेतना, विवेक र प्रगति नभएका केही पृथ्वीका भारहरू भूर्इँ न भाँडामा भएर विदेशको र डलरको सपना देख्न थालेका छन् । ऐक्षिक विषयमा जोडतोडकासाथ पढाइ भई रहेको छ । सशक्तिकरण, प्रलोभन, आदि पाठहरू अन्तिम सर्गमा पढाइँदै छ । क्वालिफाईङ परीक्षा अहिले बेलडाँगी कलेजमा चल्दैछ । यसै कलेजका मदन गिरीको परिवार प्रकरणको पहिलो नतिजा हासिल गरी क्यानाडा चलान भई सकेका छन् । तिम्रा सपनाहरूलाई सुँगुरले नास्पाती चपाएझैं चपाएर तिम्रो कोख बिटुलो पारेर जन्मिएका जुँघे दाइ यस विभागको नाइके भएका छन् । हात्ती देखि मुसो जत्रा केही अल्प बुद्धि भयङ्करहरू उनका झिंगा धपाउने र कछाड समात्ने अरौटे—भरौटे हुन् । तिम्रो बैंशको शेखी गर्ने छिमेकीहरू त आजभोलि सारा सन्तानलाई दासत्व भिराएर तिमीलाई तानाशाहको सिकार पार्ने कोर अभियानमा लागेकाछन् । राष्ट्रियता र विचारको चिन्तन पतन गर्ने दुःसहासले उनीहरू डलरको खोलो बगाउने, आश्वसन र प्रलोभनको पासो भिराउने र पलायनताको संयन्त्रमा दासत्वको कर्मणा दिएर हाम्रो अस्तित्व खतम गरी तिमीलाई निसन्तान पार्ने षड्यान्त्रमा जुटेकाछन् । केही भूटानको नेपाली संगीतको पर्याय हुँ भन्नेहरू, शिक्षित—बुद्धिजीवि नेता हुँ भन्नेहरू र केही युवाहरू पनि यस उश्रृंखलताको पछाडि पछाडि उर्लिरहेका छन् । सन्तानको हितका लागि पृथ्वीले झैं त्याग्न कत्ति पनि नहिच्किचाउने मेरी आमा ! तिम्रो भविष्य र अस्मिता कुनै पनि समयमा झ-याप पारिन सक्छ । तिमीले चनाखो गर्नु पर्छ आमा नत्र हामीले जन्मजन्म दासत्वको जीवन बाँच्नु पर्ने छ । साँझ बिहान एक्लै नहिँड्नु होला । हिँड्दा पनि सँधै सहिद र राष्ट्रभक्तहरूको सहारा लिएर मात्र हिँड्नु होला ।

आमा ! मैले बुझेअनुसार कुशासन, कुविचार, कुबुद्धि, पतन, पलायन र नरसंहार जहिल्यै पनि अल्पसंख्याकहरूद्वारा बहुसंख्याक विरूद्ध परिचालित गरी लादिन्छ । त्यस कारणले पनि हामीले चनाखो रहनु पर्छ आमा ! तर जब जब अन्याय, अत्याचार, दुराचार, अतिवाद—अतिक्रमण र भ्रष्टचारले सीमा नाघेर निर्दोष नागरिकहरूलाई नरसंहारको कुण्डमा होमिन्छ तब तब भूमिपुत्र वीरभैरवहरू नरसंहारको विरूद्धमा बत्तिमा होमिएको पुतलीझैं माटो, राष्ट्रियता र स्वभिमान रक्षार्थ जीवन उत्सर्ग गरेर सत्यको जित बनाउन मैदानमा उत्रनेछन् अनिमात्र तिम्रा सपनाहरूले कार्यदिशा पाउनेछन् र मात्र वर्तमानको निकाश भेटिनेछ । बरू आमा तिमीले यस पालिको माघमा स्वास्थानी परमेश्वरीको व्रत लिईसत्तासिनहरूको बुद्धि सप्रियोस् भन्ने वरदान माग्नू । स्वास्थानी परमेश्वरी देवीले कि त यी निराङकुसताका व्यभिचारीहरूलाई बुद्धि दिने छिन् कि त यिनीहरूको प्रतिक्रियावादी अस्तित्वलाई उडाई दिनेछिन् । हुन त तिम्रो छातीमा बलात्कारका रगतहरू फाल्सा लडिरहेकाछन्, तिम्रो अस्मिता अझै अस्तित्वसँगै धरापमा छ यद्यपि तिमीले चोखो नितो गरी व्रत सम्पन्न गर्नू । तिम्रो वरदानमा आएकी देवीको रूप धारण गरी हामी नयाँ दशकसँगै तिम्रो छातीमा हर्षको वर्षा गराएर आनन्दका गुच्छा चढाउने छौं ।

अन्त्यमा आमा ! तिमीले धन्दा नमान्नू र पीर—चिन्ता नलिनू । हामी हाम्रो अस्तित्व र तिम्रो भविष्य विरूद्ध परिचालित हरेक दिवार खोलेर छिट्टै घर फर्कने छौं । वर्तमान माहौलको एकताको पछाडि बहुसंख्याक भूटानी दाजुभाइ—दिदीबहिनीहरू छन् । आमा ! मैले मेरो पढाइको विषयमा तिमीलाई सुनाएँ र अर्को पत्रमा अर्कै कुनै विषय संप्रेषण गर्ने बाचाकासाथ विदा चाहन्छु ।

उही तपाईंको प्यारो छोरो

देशभक्त
भूटानी शरणार्थी शिविर
शनिश्चरे मोरङ्ग, नेपाल
असोज १९, २०६४

2 Replies to “जन्मभूमिलाई पत्र — एक”

  1. reecha sharma tiwari

    This piece is written for bhutan motherland , as i find , its very hearttouching ,and to be stated as refugee is so heartaching for citizen of bhutan .whoelse may be the writer of this piece i salute the writer for giving such a master piece of literature . hope it will continue . its all about agony and pains of motherland , it is universal truth also .keep it up writer , its best . would like to read more .

Leave a Reply

Your email address will not be published. Required fields are marked *