जागौँ जागौँ

कुबेर कुईकेल (भुवानेटारे)
अमेरिका

त्यो मान्छे हो समर तलमा लास माथा झुकाइ
तानाशाही कपट चरमा झुक्छ बाहाँ उठाइ
जस्ले बोल्दा अमरपदमा नीति दीक्षा छ भारी
नाका रक्षा दलबल हुँदा दुष्ट झुक्ने छ हारी

थोपा थोपा जल थल हुँदै शक्तिशाली नदी छन्
खागो मौरी भ्रमर कमिलो एकता शक्तिमा छन्
एक्लो बोल्दा बहुमत बिना हार आफ्ने हुनेछ
हामी बोल्दा बहुमत भए ठालु माटो छुनेछ

तिम्रो मेरो हक हित झुटो मात्र ठान्दै प्रचारी
लाटो ठान्दै निहित निमुखा मार्छ चालू प्रभारी
टाठो बाठो चतुर ठग त्यो हात पार्दैछ बारी
हामी बोल्दा पद पद ठुलो त्रास बोक्ने छ घारी

सत्ताधारी कहर कपटी नीति रैती विरोधी
थोप्दै आफ्नो बल मनपरी देश शिक्षा निरोधी
भिक्षा माग्दै निहुरनु निको ठान्छ दम्भी विचारी
गद्दी रद्दी जणगण अघी बाध्यतामा स्विकारी

माथा माथी शिर शिखरको झुक्नु टोपी हुँदैन
तानाशाही चरम डरले ठीक ठान्नै हुँदैन
जागौँ जागौँ भय पर गरौँ बाँच्न माथा उठाइ
लागौँ मागौँ हक अवनिमा लक्ष्य मुठ्ठी बनाइ

छन्द- मन्दक्रान्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *