जारसँग बिताएका तीस रात

गङ्गा लामिटारे
ओहायो, अमेरिका

“वाह, उनका सागर जस्ता आँखा ! अनार जस्ता दाँतका पङ्क्ति ! हात्तीको जस्तो लचकता ! मृगको जस्तो चञ्चलता ! हिमाल जस्तो छाती ! कोइलीको जस्तो स्वर ! बिर्सनै नसक्नुको मोहनी रूप ! मेरी ह्रदयकी रानीलाई चटक्क छुटाएर पराइको अघि लगायो यस समाजले, “भन्दै शङ्कर घुँक्क घुँक्क गर्दै रून थाल्यो । उसका आँखाबाट घृणाका ज्वारभाटाहरू उर्लिइरहेका थिए । वर्षौँदेखिका अतृप्त पीडाहरू आँसुका रूपमा बर्सिरहेका थिए । ती पीडाहरू व्यक्त गर्ने उपयुक्त वातावरण र असल मित्र सायद उसले पाउन सकेको थिएन । कमलको आत्मीयता र सान्निध्यको छहारी पाएर नै ऊ आज निर्ढुक्क थियो । र ती असीमित पीडाहरूलाई सुनाउन हतार भइरहेको उसको हाउभाउबाट स्पष्ट हुन्थ्यो । ऊ भन्दै जान्थ्यो । कमल सुन्दै जान्थ्यो ।
“दाजु……. एक दिनको कुरा हो । घर धेरै टाढा भए पनि गाई चरन भने एउटै थियो हाम्रो । दुवैको साउने गाउँको चिउरी घारीमा भेट हुन्थ्यो । म रूखमा चढेर चिउरीका दाना झार्थेँ । उनी बटुल्थिन् । दुईजना सँगै बसेर चिउरी खान्थ्यौँ । यसरी नै दिनदिनै सँगै खाने र जिस्किने गर्थ्यौँ । कहिले कहीँ उनी गाई बाख्रा चराउन नआएका दिन आफैँ हराए जस्तो लाग्थ्यो । मन शून्य र बिलकुलै निराश हुन्थ्यो । फेरि उनी आएपछि संसारै रमाइलो भएजस्तो हुन्थ्यो । त्यस जङ्लमा गाई चराउन अरू पनि धेरै साथीहरू जान्थेँ । तर उनीहरूसँग हाम्रो कुनै सरोकार थिएन । हाम्रो आफ्नो छुट्टै र स्वतन्त्र संसार थियो । त्यहाँ कसैको हस्तक्षेप थिएन । तरपनि अब म तिमीबिना बाँच्न सक्दिन भन्ने हिम्मत गर्न सकेको थिइनँ । एकक्षण नदेख्दा मनै अमिलो भएजस्तो हुन्थ्यो जीवनमा केही गुमाए जस्तो हुन्थ्यो। अब १२ घण्टाको एकरात पनि १२ वर्ष झैँ लाग्न थाल्यो । उनलाई आँखैमा राख्न पाए हुन्थ्यो र अँगालोमा कस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यसो हुँदा हुँदै अब उनी बिना बाच्न नसक्ने अवस्था भयो मेरो । मलाई यस्तो के भएको हो थाहा भएन । तरपनि सत्य कुरा भन्न आँट आइरहेको थिएन । राती निन्द्रा लाग्दैन थियो । कयौँ रातहरू उनका सम्झनामै बिते । राति नसुतेको र नखाएकाले म दिनदिनै कम्जोर बन्दै गएको थिएँ । मेरो स्वास्थ्य बिग्रेको देखेर आमा-बाबा पनि सुर्ताउन थाले। जङ्गलको दोख लाग्यो भनेर झार फुक गर्न धामी र बिजुवा लगाउन थाले । म धेरै कमजोर हुँदै छु भन्ने महसुस गर्थे । तर कसैसँग केही भन्न सक्दिन थिएँ । सायद उनलाई पनि मलाई जस्तै भएको हुनुपर्छ । उनको पनि हालत मेरो भन्दा भिन्न छैन भन्ने उनका निनौरा आँखा र मलिन अनुहारबाट स्पष्ट हुन्थ्यो । उनी पनि मनको बह व्यक्त गर्न सकिरहेकी थिइनन् र म पनि । उनीसँग मनको व्थथा कसरी पोखु कुनै जुक्ति जुरिरहेको थिएन ।

० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०० ० ० ० ० ० ० ०

केही दिन पछिको कुरा हो । सदा झैँ यस पटक चिउरी भुईँमा झारिनँ । रूखमै टिपेर हापिनका गोजीहरूमा लगाएँ । मेरो परिवर्तित व्यवहार देखेर चन्द्राले मलाई पनि झार्दिनु नि भनेर आग्रह गरिन् । मैले आज चिउरी भूइमा नझार्ने भनेँ । “किन नझार्ने ?” भनेर उनले प्रश्न गरिन् । भुईँमा झार्दा सबै पिल्लिएर मिठो भएन भन्ने जबाव दिएँ । उनले पनि शिर हल्लाएर स्वीकृति जनाइन् । हापीन र कमिजका गोजी भरी चिउरी बोकेर रूखबाट ओर्लिएँ । ऊ त्यो चुच्चे ढुङ्गाको टुप्पोमा बसेर खानुपर्छ भनेर दूवैजना ढुङ्गा माथि चढेर बसियौँ । त्यहाँबाट एकसुरमा बगिहेको सुनकोस नदीको गम्भीर दृश्यहरूलाई अवलोकन गर्यौं ! सुदूर क्षितिजमा पुग्न हतारिइरहेका उसका छल्का र सुसावटहरूमा हामी विलीन भइरह्यौँ ! सुनकोसदेखि दागानासम्म नागबेली झैँ कुङ्लिङ पर्दै गएको दागा रोड र त्यस छेउछाउका सल्लाघारीहरूको रमणीय परिदृश्यहरूमा हामी हराउदै गयौं ! त्यो धर्ती, अकास र घामको त्रिसंगम जस्तै देखिने मैदानी फाँटको रिमरिमे मृग तृष्णाले हाम्रो ध्यान आकर्षित गर्दै थियो ! यस्तै हराइरहेका बेला डुजेगाउँको उकालो रोडमा समानले थिचिएको मालवाहक ट्रकको हुँइहुँइको आवाजबाट हामी झसङ्ग भयौँ ! त्यसपछि मात्र थाह भयो ! हामी त चिउरी खानका लागि यस ढुङ्गाको टुप्पो चढेका थियौँ भन्ने ! आज चाहिँ सबै कुरा उनलाई भन्छु भनेर मन दह्रो बनाएँ । तरपनि आँट आएन । बरु गोजीबाट पाकेका चिउरी निकालेँ । उनलाई देखाउँदै भने, ‘चन्द्रा आज तिम्रा हातले होइन मेरा हातले दिएको खाने । मुख आँ गर्न भने । उनले मेरो निवेदन स्विकार्दै आँ गरिन् । चिउरी मुखमा हाल्दिएँ । उनले पनि आँखा चिम्म गर्दै बा ! कति स्वादिष्ट भन्दै मेरो प्रेमको उपहार स्विकारिन् । उनले पनि मेरो गोजीबाट चिउरी निकालिन् र आँ गर्नुहोस् भन्दै मेरा मुखमा हाल्दिइन् । बा ओ ! हिजो आफैँले खाएको भन्दा यो कति मिठो ! कति स्वादिष्ट थियो चिउरी ! साहेद उनका मायालु स्पर्श पाएर नै चिउरीमा मिठोपन आएको भन्ने सम्झेँ । त्यसपछि त दाजु,  निर्धक्क भएर एक अर्कालाई खुवाउने क्रम चल्यो । उनले खाँदै गरेको पनि मैले खोसेर खान थालेँ र उनले पनि त्यसै गरी खोसेर खान थालिन् । यो रमाइलो खेलले कस्तो उमङ्ग भरिएर आयो । जीवनमा यस्तो अकल्पनीय आनन्दको अनुभूति भएको थिएन । त्यसै त्यसै चन्द्रालाई स्वाटै निल्न पाए हुन्थ्यो,जस्तो भयो ! र उनको हातमा समाएँ । उनीबाट कुनै प्रतिक्रिया आएन । सायद उनलाई पनि त्यस्तै भएछ भन्ने लाग्यो । र दुवै हातले च्याप्प समाएर मेरो काखमा राखेँ । अनायासै मेरा मिलनका लागि हतारिएका ओठहरू उनका ओठमा ठोकिन पुगेछन् । मलाई केही थाह भएन । हाम्रो खेल निर्बाध चलिरह्यो । यो दुई मुटुको मिलन मात्र थिएन धेरै महिनादेखि मिलनका लागि तिर्खाएका दुई पृथक् प्रेमीहरूको एककार थियो । त्यहाँ तीव्र गतिमा धड्किइरहेका दुई मुटुको साक्षात्कार थियो । र दुवैका नाक र मुखबाट तीब्रगतिमा उर्लिएको बाफका ज्वारभाटाहरूको लुकामारी थियो ।

० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०० ० ० ० ० ० ० ०

केही दिनपछिको घटना संझदै अर्को रात उसले भन्यो, “त्यसदिन म भन्दा पहिला उनी गाई चरनमा पुगेकी थिइन् । उनका आँखा मलाइ नै खोजिरहेका थिए । छिट्टो छिट्टो मला खोलेँ र गाई जङ्गलतिर खेदाएँ । यता उति हेरेँ । कोही थिएन । उनलाई दुइहातले च्याप्प समाएर चुम्बन गरेँ । मेरो यस व्यवहारबाट तर्षिदै उनले भनिन्’ के गरेको ? कसैले देख्यो भने ? ए, त्यसो भए, कसैले नदेख्नमा त हुने रहेछ भन्ने लाग्यो । र मैले नै उनलाई उ त्यो फुच्चेको फेदमा जाँउ भनेर सङ्केत गरेँ । उनी अलिक लजाए जस्तो गरिन् । तरपनि मैले हातमा समाएर डोर्‍याउदै लगेँ । म अघि अघि । उनी पछि पछि । बिहेको लगनमा जग्गे घुमे जस्तै हामी पञ्चेको फेदमा पुग्यौँ । म भुईँमा बसेँ । उनलाई पनि बस्न आग्रह गरेँ । उनी बस्न मानिरहेकी थिइनन् । मैले नै जबर्जस्ती हातमा समाएर बसालेँ । उनी लज्जा र डरले भुतुक्क भएकी थिइन् । मनले नचाहे पनि उनको शरीरले मेरो मधुर स्पर्श र आत्मीयता पर्खिरहेको थियो । उनी घर्लम्म मुढो झैँ मेरो काखमा ढलिन् । हामी फेरि एककार भयौँ । त्यहाँ कुनै आशा र अभिलाषा थिएन ! आग्रह र प्रत्याग्रहरू थिएन ! जात-पात ठुलो सानुको विभेद थिएन ! त्यो भन्दा पर हाम्रो गन्तव्य पनि थिएन ! थियो त एउटै सुखद मिलन र असीमित पीडा र बेदानाहरूको अन्त्य ! केही महिनासम्म यो क्रम चलिरह्यो । एउटा आदर्श लोग्ने स्वास्नीको जस्तै । वर्षा सक्किए लगत्तै शरद ऋतुको आगमन भयो । नेपालीहरूको रमाइलो चाड दसैँ आयो । दसैँ गयो । तिहार आयो । तिहार गयो । हिउँद लाग्यो । हाम्रो प्रेम मनमा मात्रै सीमित रहेन । बिस्तारै शारीरिक सम्बन्धमा विकसित हुँदै थियो ।
अचानक एक दिन उनले मलिन स्वरमा भनिन् “शङ्कर दाजु, दुई महिना भयो । मेरो महिनावारी रोकिएको । मलाई सारै डर लाग्दै छ । केही भइहाल्यो भने के गर्ने ?” उनको प्रश्न सुनेर मनमनै खुसी लाग्यो । म पनि त्यही चाहन्थेँ । उनी बच्चाको आमा बनुन् । नानी जन्मिए पछि उनीमाथि कसैको अधिकार हुनेछैन भन्ने मैले सम्झेँ । र उनलाई पनि नडराउनु भनेर थम्थमाउदै भने, “यहाँ हामीलाई गरीखान दिँदैन समाजले । त्यसैले कसैले नदेख्ने ठाउँमा जानुपर्छ । टाढा टाढा । इन्डिया तिर”। बेलुकी गाइलिएर आफ्आफ्नै घर गएपनि दिउँसो भने हाम्रो सम्बन्ध लोग्नेस्वास्नीका रूपमा कसिँदै थियो ।

० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०० ० ० ० ० ० ० ०

शङ्कर सारै मिलनसार थियो । स्पष्ट बोल्थ्यो । उसमा कुनै छलकपटको भाव थिएन । २२ वर्षको भएपनि विचार र अनुभवहरूमा ऊ ४० वर्षे परिपक्व भन्दा माथिको थियो । कमल उसको विचार व्यक्तित्वबाट निकै प्रभावित हुँदै थिथो । शङ्कर डुजेगाउँमा दोकान बनाउनका लागि कमलका दाइले खोज्दिएको मिस्त्री थियो । उसँगको यो कमलको पहिलो र अन्तिम भेट थियो । उनीहरू दिउँसो घरको काममा व्यस्त हुन्थे । फाल्टु कुरा गर्ने समय नै थिएन । त्यसैले बत्ती नभएकाले बेलुका छिट्टै खान्थे र ओछ्यानमा पल्टिहाल्थे । त्यसपछि सुरु हुन्थ्यो शंकरको अधुरो प्रेम कहानी । २८ रात यसरी नै रमाइलाका साथ बिते । लगभग घर सिद्धिइनै लागेको थियो । त्यो रहल पहल पनि आज बेलुकासम्ममा सकेर भोलि बिहानै घर हिँड्नुपर्ने थियो । सातु चामल पनि सिद्धिइसकेको थियो । र शंकरको अधुरो कहानीलाई पनि पूर्णविराम दिनु थियो । छिट्टो छिट्टो गरेर घरको काम सके उनीहरूले । काम सकेर ऊ नुहाउन धारातिर लाग्यो । कमलले बेलुकाको खाना बनायो । खाना तयार हुनसाथ शङ्कर पनि आइपुग्यो । दुबैले सँगै खाना खाए । भाँडा वर्तन सफा गरेर घरतिर जाने भारी तारी पनि मिलाए दुवैले र सधा झैँ ओछ्यानमा पल्टिए । आज कमलले नै उसलाई रहल कहानी सुरु गर्न आग्र गर्‍यो । कमलको आग्रह सुनेर उसले खुईया गर्‍यो र लामो सास फेर्‍यो । असारमा थाकेको हली जस्तै । कहाँबाट सुरु गरौँ भनेर सोच्दै पनि थियो । लामो सास तान्दै उसले भन्यो, “दाजु, महिनावारी रोकिएको दुई महिना भयो भनेका भोलि पलटदेखि उनी गाई चराउनै आउन छाडिन् । मलाई चिन्ता र सुर्ताले व्याकुल बनाउन थाल्यो । उनलाई कस्तो विपत्तिको पहाडले थिच्यो ! उनलाई यस्तो अवस्थामा पुर्‍याउने म पनि एउटा अपराधी हुँ भन्ने लाग्यो । धेरै दिन पछि गाई चराउन आएको चन्द्राको भाइलाई डराई डराई सोधेँ, ‘भाइ, दिदीलाई के भयो र तिमी गाई चराउन आयौ ? दाजु, दिदी अस्ति सिकुवामा लड्नु भयो । धेरै बेरसम्म होस नआए पछि डम्पू अस्पतालमा राखेको छ ।’ त्यो सानु भाइको कुरा सुनेर म डरले थुरथुर कामेँ । हे भगवान्, अब के हुने हो नि भनेर चिन्ता र त्रासबाट म प्रताडित बनिरहेँ । र पनि चन्द्रालाई केही पनि नहोस् भनेर मनमनै ईश्वरसँग प्रार्थना गरेँ ।

० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०० ० ० ० ० ० ० ०

एक हप्तापछि त्यही सानु भाइले दिदीलाई घरमा ल्याएको खबर सुनायो । पक्का पनि भगवानले मेरो पुकार सुनेछन् भन्ने लाग्यो । उनी सकुशल घर फर्किएको सुनेर खुसी र उमङ्गले द्रबिभूत भएँ । अब पक्कै पनि हाम्रो पुनर्मिलन हुनेछ भनेर आफूलाई आश्वस्त र विश्वस्त गर्दै लगें । तर त्यो विश्वास पनि त्यति लामो टिकेन । कान्छा बाजेकी छोरी चन्द्रा बिहोस् भएर अस्पताल लगे अरे । डाक्टरले पेटमा नानी भएकाले यस्तो भएको हो डराउनु पर्दैन भन्यो रे भन्ने हल्ला डढेलो झैँ गाउँमा फैलियो । ला, अब समाजले मार्ने भो भनेर डरले थुरथुर भएँ । बरु सबै आपत्तिहरू भोग्छु, मेरी चन्द्रालाई केही पनि नहोस् भनेर मनमनै भगवानसँग प्रार्थना गरेँ । कसको नासो बोकिस् भनेर गाउँलेले कुटौँ र मारौँ गर्दा पनि नबोले पछि पञ्चायत राख्ने हल्ला सुनेँ । अब यस पञ्चायतमा उनले सत्य भन्ने छिन् र हाम्रो पुनर्मिलन अब निश्चित छ, भन्नेमा मलाइ पूर्ण विश्वास हुँदै थियो । टुक्रा टुक्रा भएर फुटेको मनलाई जोड्ने प्रयास गर्दै थिएँ ।
तर परिवारका सदस्यहरूले बकाउन नसकेपछि कान्छा बाजेका घरमा पञ्चायत जुट्यो । पञ्चायतमा मण्डलले बाँसको भाटो देखाउँदै, ‘ओइ लबस्तरी ! कसको पेट बोकिस्, सत्य सत्य भन् । नत्र यस भाटाले ———- भनेर थर्काएपछि । गाई हेर्दा जङ्गलमा कसैले आँखामा पट्टी बाँधेर बलात्कार गर्‍यो भनिन् अरे । मण्डलले त्यो मानिस को हो चिन्छेस् ? भनेर सोधे । चन्द्राले चिन्दिन हजुर भनिन् अरे ।
चन्द्राको यो परिवर्तित निर्णय सुनेर म छाँगाबाट खसेजस्तो भएँ । एक पटक चन्द्राको पेट मेरो हो भनेर गाउँभरि चिच्याइ चिच्याइ हिँड्नु मन लाग्यो । तर मेरा घरकाहरूले त्यसो गर्न दिएनन् । उल्टै तल्लो जातको भएर ठुला बडाकी छोरी ताक्छस् भनेर कुटौँ र मारौँ गरे । भाग्छ भनेर घरभित्रै बाँधेर राखे । उनलाई छुटाएर ल्याउन सकिनँ । म हारेँ दाजु म हारेँ भन्दै शङ्कर जुरुक्क उठ्यो । एक गिलास पानी घुटघुट पियो र ओछ्यानमा आएर बस्यो ।
अनि त्यसपछि के भयो ? भाइ, भनेर कमलले जान्ने उत्सुकता प्रकट गर्‍यो । बैठकले एक अपरिचित मानिसलाई ४ हजार रुपियाँ र एउटा गाइको बाछो दिएर चन्द्राको पेट मेरो हो भन्न लगायो अरे। तिम्री प्रेमिका व्याइते थिइन् कि कुमारी भाइ भनेर कमलले फेरि सोध्यो । लामो सास तान्दै उसले भन्यो, ‘दाजु, १२ वर्षअघि नै उनको विवाह भएको अरे । तर केटाकेटी नमिलेर उनी माइत आएर बसेकी थिइन् । शंकरको यस ठाडो उत्तरले कमल झस्कियो पनि । कमलले सशंकित हुँदै भन्यो, ‘अनि त्यस बाहुन केटाले पनि अर्को बिहे गर्‍यो रे ? ए दाजु, त्यही त दुईजनाको झगडा भएपछि चन्द्रा माइततिर लागिन् । त्यो बाहुन केट्यो पनि इण्डियातिर गएर वानारसमा पो पढ्दै छ रे भनेर चन्द्राले नै मलाई सुनाएकी थिइन् ।’ एकपछि अर्को गर्दै उसका उत्तरहरू कमलका जीवनका घटनाक्रमसँग मेल खाँदै जाँदै थिए । कमल अझ सशंकित र त्रसित हुँदैथ्यो ! तर यस्ता घटना अरूका पनि त हुन सक्छन् भन्ने लाग्यो उसलाई ! र पनि डराउँदै डराउँदै कमलले भन्यो, ‘भाइ, त्यो केटो चाहिँ कुन ठाउँको परेछ ? उसले’ ‘लप्सिबोटे दाइ‘ भन्नेसाथ कमल त्रसित भयो र उसको मन ढुकढुक गर्नपनि थाल्यो । कमलले लप्सिबोटे छोडेको १२ वर्ष भइसकेको । म जस्तै अर्को पनि हुनसक्छ भन्ने लाग्यो उसलाई । मनलाई दरो पार्दै कमलले पक्कै भन्यो, ‘भाइ त्यो केटो के थरको रहेछ ?’  ‘दाइ, थर चाहिँ थाहा भएन । शर्मा हो अरे ।’

० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०० ० ० ० ० ० ० ०

कमलको रिसले चटचट पसिना आए ! उसलाई आकाशले थिचे जस्तो भयो । सुतेको ओछ्यान पनि भुईँभित्र भासिँदै गए जस्तो भयो । रिसले आँखै देखेन ! ‘जसलाई एक नोकरले जस्तो भात पकाएर खुवाएँ, आत्मीय साथी ठानेर एकमहिनासम्म ओछ्यानमा सुताएँ । तर त्यो त मेरो स्वास्नीको अस्तित्व लुट्ने जार पो रहेछ !’ जारलाई कि काट्नु पर्छ, कि मार्नु पर्छ भन्ने सामाजिक चलनलाई उसले सम्झ्यो ! उसभित्रको पुरूषत्व र अहङ्कार एकसाथ जागृत भएर उठ्यो । श्रीमतीको अस्मिता लुट्नेलाई अब सिद्ध्याइ दिन्छु भनेर उसैको हम्मर उठायो । तर, हान्न सकेन । एक हप्ता अघि मात्र कमल जेलबाट ३ महिनाको कठोर सजाय भोगेर घर आएको थियो । फेरि यसलाई सिध्याएँ भने २० वर्ष जेलमा सडिइनुपर्ने सम्भावित खतराहरूलाई पनि सम्झ्यो ! २ वर्षकी छोरी र भरखर २२ वर्ष मात्र टेकेकी श्रीमतीको सिङ्गो जीवन र उनी माथि आउने भावी सङ्कटहरूलाई पनि उसले सम्झ्यो । र हातमा उठाएको हम्मर बिस्तारोसित पहिलाकै स्थानमा राख्यो र धुसा ओढेर ओछ्यानमा सुत्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *