टोपीको कुरै नगर न

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलाईना, अमेरिका

धेरै वर्ष अघिको कुरा हो ।

असाध्यै मिल्ने साथी कर्णे र धने एउटै गाउँमा बसोबास गर्दथे । त्यतीमात्र कहाँ हो र, दैनिक जीवनका उपभोग्य कर्म, मेलापात, घाँस-दाउरा, गाई-बाख्रा चराउने र खानपिन जस्ता आदि कुराहरू एकसाथ गर्दै बाल्यकालदेखि बाइसौं वसन्त बिताई सकेका थिए । धनेको भने बाल्यकालदेखि नै राम्रो, चट्टक परेको ढाकाको नेपाली टोपी सिलाएर लगाउने मनको ठुलो धोको थियो । केही समय पछि धनेले मनको इच्छा पुरा ग–यो । टोपी लगाउनु भन्दा पनि धनेले आफूले पूजा गर्ने कोठामा सजाएर राख्ने गर्दथ्यो ।
अब त तेईसौं वसन्तको पनि आगमन भैसकेको थियो । कर्णेको जीवनमा नयाँ सन्देश देखा पर्‍यो । कर्णेको खुसीको आयु रेखाहरू मस्तिकमा सलबलाउन थालेको देखिन्थ्यो । वसन्तको आगमन भएर होला कर्णेको अङ्गप्रत्यङ्ग चिउला-काइना, टुसा-मुना, जाई-जुही, चम्पा-चमेली, लालीगुराँस फूलमा कोपिला टिका बसेको भान हुन्थ्यो । किनकि भोलि कर्णेको जीवन साथी मगनी गर्न जाने बारेमा सबैको घर सल्ला भैसकेको थियो ।
भोलि पल्ट गाउँका एक दुई जना मुख्य व्यक्ति अनि आमा बाबा र कर्णे, कर्णेको दुलही मगनीको लागि बाटो लागे । दुलहीको घर पुगे । दुलहीको आफन्तसँग भेट घाट भयो । कर्णेको बुबाले नमस्कार भने ।
दुलहीको बुबाले, “मैले ठम्याउन सकिनँ हजुर” भन्दै जम्ला हात गरे ।
“हामी डम्फु, चिराङ्ग जिल्ला, सेम्जुङ्ग बल्क, भालु खोप गाउँबाट आएका हौँ हजुर ।”
दुलहीका बुबाले – “ए कति कामले पाल्नु भएको थियो कोनि आउनु होस न बसौँ,” भने ।
कर्णेका बुबाले भने- ” हजुरको फूलबारीमा एउटी मधु मालती नाम भएकी, फूलको बिरुवा छ रे र हजुरको फूलबारीको त्यो बिरुवाको कलम हाम्रो बगैँचामा कलम सारी झप्पक फुलाएर लटरम्म फलाउन सकिने थियो की भने आशाले त्यो फूलको कलम माग्न आएका थिऊँ हजुर। ”
दुलहीका बुबाले भने – “कलम लाने जिम्मेवारी ब्याक्ति चाहिँ को पर्नु भयो होला ?” र कर्णेको बुबाले कर्णेलाई देखाए ।
दुलहीका बुबाले मधुलाई सोधे – “छोरी मधु यता आऊ त ।” मधु बुबाको छेउमा आइन । बुबाले मधुलाई सोधे – “उहाहरु तिम्रो मगनीमा आउनु भएको रहेछ। तिमी के भन्छौ नानी ?”
“हजुर बुबा मुमाको बिचार नै मेरो बिचार हो “, भन्दै मधु घर भित्र गइन् ।
“हुन्छ हजुर मेरो यती बिन्ती छ । हाम्रो फूलबारीको कलम हजुरहरूको बगैँचामा त्यसै सुकेर नमरेस् है ।”
कर्णेका बुबाले भने- ” हजुरको फूलबारी नै हाम्रो फूलबारी हो । हजुरले अन्यथा नलिए हुन्छ।”
कर्णे र मधुको विवाह सम्पन्न भयो ।

आज पनि वसन्त-ऋतु नै थियो । एक दुई दिन बिते पनि कर्णेको मनमा धेरै वर्ष बितिसकेको भान हुन्थ्यो ।
“धनेसँग भेट नभएको पनि धेरै भयो ।अब त उसले पनि के –के सम्झिसको होला। आज त भेट्न जानु प–यो ।” यस्तो सोच्दै कर्णे धनेको घर तर्फ लाग्यो । धने पाडा बाच्छाको भकारो सफा गर्दै थियो । धनेलाई बितेका हरेक पलहरूले झस्काइरहेको थियो । अचानक कर्णेसँग जम्का भेट भयो । दुवै तरङ्ग तर्सिए ।
धनेले भन्यो- “कस्तो नबोली आएको यार ?”
“म पनि त तर्सिएँ नि यार। तिमी यहाँ छौ भन्ने मलाई के थाहा ? “, कर्णेले भन्यो।
“भैगो त्यो कुरा छाडिदेऊ । कति कामले आएको थियौ?”
“धेरै दिन भयो भेट नभएको पनि । के कस्तो छ? के गर्दै छौ भनेर आएको थिएँ । अनि तिमीसँग एउटा सहयोग माग्नु पर्‍यो भनी ठुलो आशा बोकेर आएको ।”
“म के गर्न सक्छु र यार?”
“त्यसो नभन न यार। तिमी जे पनि गर्न सक्छौ ।”
“कुरा नघुमाई भनन के हो?”
“सोह्र दिने मैतालु फर्काउन पर्ने मसँग जाने कोही पनि साथी भएन। म एक्लै परेँ । यसमा तिमीले साथ दिन्छौ कि भनेर आएको थिएँ ।”
“हुन त हो, तर बाबा आमा बूढाबूढी हुनु भएको छ । उहाँहरूलाई काम लगाउनु पनि अब त पाप लाग्छ । तिमीलाई थाहा छँदै छ नि मेरो घरमा काम गर्ने मान्छे छैन भनेर ।”
“त्यसको लागि तिमी फिक्री नलिए । मैले तिम्रो घरमा काम गर्ने मानिसहरू खटाई सकेको छु ।”
” यो कुरा बुबा मुमालाई पनि भन्नु पर्‍यो नि, उहाँहरूको आदेश बिना कसरी जानु नि?”
” मैले सबै कुरा राखेको छु । उहाँहरूले हुन्छ भनी सक्नु भएको छ।”
“त्यसो भए कहिले हो त दुलहन फर्काउने दिन?”
“भोलि।”
“दुलही फर्काउन जाँदा त टोपी लगाउनु पर्छ रे, अनि तिम्रो टोपी छ के त ?”
“हो र? ला मेरो त टोपी छैन त ।”
“अनि कसरी जान्छौ त टोपी बिना ?”
“साँची तिम्रो टोपी छ हैन?”
” छनी तर त्यो त म आफैले लगाउनु पर्‍यो नि ।”
” त्यसो नभन न यार । तिम्रो त ससुराली होइन नि । बरु दुई दिन लगाएको कति रुपियाँ लिन्छौ म दिउँला । ”
“भैगो बाह्र सत्तरी कुरा नगर, म लाउँदिन नि त, तिमी लगाऊ ।”
भोलि मधुलाई लिएर कर्णे धने दुलन फर्काउन जान्छन् । बेलुकीको गोधुली साँझ लागिसकेको थियो । बास बस्ने चरा चराचुरुङ्गी पनि चिरबिर – चिरबिर कराई रहेका थिए । कर्णे मधु र धने तिनै जना दुलहीको माइती घर पुगे । मधु सरासर घर भित्र पसी । कर्णे र धने बाहिर खाटमा बसे । घरभित्र पसेर मधुले आमालाई ढोग गरी ।
आमाले ” ए यो पनि आई पुगि छे त” भन्दै घर बाहिर निस्किनु भयो ।
कर्णे र धनेले नमस्कार गरे । आमाले पनि नमस्कार भन्दै भन्नुभयो – ” विवाहको दिन हुलमुलमा राम्रोसँग ठिम्याउन पनि सकिएन । दुई भाइ उस्तै देख्छु । हाम्राजुवाई चहि कुन भाइ पर्नु भयो होला ?”
धनेले भन्यो- “तपाईँको जुवाई यिनै हुन तर टोपी चाहिँ मेरो हो ।”
आमा “ए” भन्दै घर भित्र पस्नु भयो ।

कर्णेलाई साह्रै नरमाइलो लागेछ र धनेलाई भन्यो – “तिमी कस्तो मान्छे ? टोपीको चाहिँ कुरै नगर न ।”
धने केही बोलेन । मन–मनै सोच्यो अनि मैले केही गल्ती पो गरेँ की भनी चुप लाग्यो । त्यत्तिकैमा जेठी सासू पानी लिएर आई पुग्नु भयो । दुवै भाइलाई हेर्दै जेठी सासू पानी लिएर घरभित्र पस्नु भयो । घरभित्र देखि बहिनीले दिदीलाई ढोग गरिन् ।
दिदीले “ए यो पनि आई पुगिछे त” भन्दै बाहिर निस्किनु भयो र दुबैलाई ढोग गर्दै- “अस्ति विवाहमा पनि त्यस्तै भयो । दुवै भाइ उस्तै देख्छु । हाम्रा जुवाई चाही कुन भाइ पर्नु भयो होला ?”
धनेले भन्यो- ” तपाईँको जुवाई यिनै हुन । टोपी पनि उनकै हो ।”
कर्णेलाई धनेको यस्तो कुरा सुनेर साह्रो दुःखी हुँदै भन्यो – “तिमीले यस्तो कुरा गर्थेउ भने म तिम्रो टोपी लगाउनु त के हेर्ने पनि थिइन। यो तिम्रो टोपी मेरो जीवनको ठुलो अभिशाप भयो । टोपीको कुरै नगर न ।”
त्यत्तिकैमा ससुरा बा हलो बोकेर ढिकी सारमा आइपुग्नु भयो । ढिकीसारमा हलो राखी दुवै युवकलाई हेर्दै घरभित्र पस्नु भयो ।मधुले बुबालाई ढोग गरिन।
“ए यो पनि आई पुगिछे त” भन्दै बुबा घर बाहिर निस्किनु भयो। कर्णे धने दुवैले नमस्कार भने।
बुबाले पनि हात जोड्दै भने – “अस्ति विवाहमा पनि हुलमुलले गर्दा ठम्याउन सकिनँ, दुवै भाइ उस्तै देख्छु । हाम्रा जुवाई चई कुन भाइ पर्नु भयो होला ?”
धनेले भन्यो- ” तपाईँका जुवाई यिनै हुन । म अहिले टोपीको कुरै गर्दिन।”
बुबा घर भित्र पस्नु भयो । कर्णे रिसले चुर भयो अनि धनेको टोपी शिरबाट निकालेर पर फ्याँक्दै जोडले करायो । यतीकैमा सबै घरका परिवार के भयो भनी घरबाहिर निस्किए । सासू, ससुरा, जेठी सासू सबैलाई टोपीको रहस्य खुलासा भयो । धने त्यत्तिकैमा साथी साह्रो रिसायो भनी उठेर घोडाको तबेलातिर लाग्यो । कर्णेले फ्याँकेको टोपी सगरमाथाको चुचुरामा उडेर अडिएँ झैँ वीर गोरखालीहरूको शीरमा अडिन पुग्यो । सिरुपाते खुकुरीले सजिएको विश्व परिचित यही ढाकाको टोपी आज टोपी दिवसमा सम्मानित छ र हिजो पनि सम्मानित थियो ।आज पनि छ र यूगौ युग सम्म यसरी नै रहिरहने छ । कर्णेले त्यो टोपीको कुरै नगर न भनेर भन्नु भन्दा पनि टोपीको कुरा गर्न भन्नु पर्ने थियो भनेर उसलाई सधैँ पश्चात्ताप लागि रह्यो । सगरमाथामा उडेर रहेको धनेको टोपीलाई उसले हेरी रहेको थियो— हेरी नै रहेको थियो ।
कर्णेलाई धनेको याद आयो । यता उति चारैतिर कर्णेले धनेलाई खोजो तर धने धेरै टाढा गइसकेको थियो । कर्णे र धनेको बाईसौ वसन्तको मित्रता आज सदा सदाको लागी वियोगान्त हुन पुग्यो । वीर गोर्खालीको चिनारी सिरुपाते खुकुरी र ढाकाको टोपी लगाएर धने सबैको गौरव, खुसी र शान्तिको लागी एक दिन आउँनेछन ! निश्चय नै आउने छन् ‼

Leave a Reply

Your email address will not be published. Required fields are marked *