तीतो यथार्थ

मधु घिमिरे
मासाचसेट्स,अमेरिका

आफन्त पनि टाढिन्छन् स्वार्थ पूरा भए पछि
चिन्दैन मित्रले मित्र पैसाले पुरिए पछि
चाहिन्न जसरी छाता जल वर्षा भए पछि
तोडिन्छ त्यसरी नाता पेट टन्न भरे पछि

पैसा र शक्तिमा सारा जयकार मनाउँछ
बेविचारी बढी बोल्ने विवेकी कहलाउँछ
स्वार्थी आफन्तको बुद्धि सुध्रिदैन कसै गरे
पक्का आफन्त चाहिन्छ रोगको चक्रमा परे

चम्किदो सूर्यमा छॉंया बन्छ झल्मल झल्मल
विना उद्देश्यको मान्छे सदा पर्दछ अल्मल
व्यायाम तप वा ध्यान स्वस्थका हुन् धरोहर
औषधी खानका लागि मान्छे पर्दछ तत्पर

काटेको दर्दको झट्का घाउमा मात्र पर्दछ
बोलीको चोटको झट्का मस्तिष्क सम्म पुग्दछ
कालो शिशिरको याम पछि वसन्त आउँछ
सत्यको जीत नै हुन्छ पर्खिनु मात्र पर्दछ

छन्द-अनुष्टुप

Leave a Reply

Your email address will not be published. Required fields are marked *