त्यहाँ के हुँदैन

-गंगा अधिकारी (लामिटारे)-ओहायो

 

त्यहाँ के हुँदैन ?

बन्दूक पड्केपछि रमाउछ शान्ति

उग्रराष्ट्रवादको आगो ओकलेपछि

बग्छ, राष्ट्रियखुशियालीको हुन्डरी

चाबुक हानेपछि

लुरू लुरू हिँड्छ वायु पनि !

 

ब्यारेकमा बुट्बजे पछि

गाउँमा चर्किन्छ, कोलाहाल,

हाहाकार र चित्कार ,

 

त्यहाँ के हुँदैन ?

चावासुमको पुल्ठो झोसेपछि

मौनतामा डुब्छ मानवता

सयपत्रीमाथि निर्दयी बुट बजारेपछि

जल्छन,संस्कृति र स्वाभिमानहरू

 

त्यहाँ के हुँदैन ?

सत्ताले क्रूरता उगेलेपछि

त्यहाँ मचिन्छ,हिंसाको ज्वरभाटा

शान्तिको टाउकोमा बम बर्षाएपछि

रक्ताम्य बग्छन्, नदीनालाहरू

जनताको रगतमा होली खेलेपछि

निर्जन बन्छन्,गाउँ, बस्ती र शहरहरू!

 

वासनाका ओठवाट विषालु ह्राल झरेपछि

लुटिन्छन्,दिनदाहडै निर्माया र लछीहरू

जताततै सुनिन्छ,बलात्कारका चित्कारहरू !

निर्भय डुल्छन्,मानवताका भक्षकहरू !!

 

त्यहाँ के हुँदैन ?

सिंहासनको गर्जन सुनेपछि

हुन्छ, दानवताको महोत्सव

हुन्छ,मानवताको चिरहरण

हुन्छ, चिच्याहट,हत्या र हिंसाहरू ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *