दुष्ट मुसाहरु

-शिवलाल दाहाल
खुदुनाबारी

थाहा भएन
कसरी पस्यो
कहाँबाट पस्यो
एउटा मुसो कोठाभित्र सुटुक्क छिरेछ
अभाव र गरिवीसित जुधेर किनेका सबै लुगा सिध्याएछ
जंगी चल्यो
अनेक जुक्तिवुद्घि लगाएर
त्यसलाई मारेँ
ढुक्क लाग्यो ।

धेरै दिनपछि
एक विहान अचानक अर्को मुसो कोठामा फेला प-यो
लुगा काट्यो होला भन्ने आशंकाले संत्रस्त भएँ
पट्याएर राखेका लुगा खोलेर हेर्छु
सबै प्वालै–प्वाल
अपसोच !
मुसाहरु पस्न कुनै ठाउँ चाहिँदैन
मुसाहरु बस्न पनि कुनै ठाउँ चाहिँदैन
मुसाहरु जहाँबाट पनि पस्न सक्छन्
मुसाहरु जहाँ पनि बस्न सक्छन्

एउटा–एउटा मुसा बाहिर निस्किन्छन्,मार्न सकिन्छ
तर धेरै मुसाहरु जीवनमा थाहै नपाई घुस्तारहेछन्
राम्रा र सुकिलो पारेर राखेका लुगा मात्रै होइन
जीवनका अनमोल क्षणहरु प्वाल पारेर दुष्ट मुसाहरु भाग्दा रहेछन्

One Reply to “दुष्ट मुसाहरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *