दृष्टि

बल दङ्गाल
मिचिगन, अमेरिका

म दिउँसो तारा देख्छु
तिमीले साँझ र रातमा मात्र
यही त छ हाम्रो अलमल
तारा जहिल्यै दिनरात जहींको तह रहन्छन्
म दिनमा तिमी रातमा देख्ने हाम्रो दृष्टि फरक।

तिमी भारी मुढो भिरालोमा बोकेर थाक्छौ
म त्यसलाई अघि पल्टाउँदै पछि पछि लाग्छु
तिमी पनि उही गन्तव्य पुग्छौ, म पनि त्यही
फरक यति नै छ
तिमी गल्यौ म उस्ताको उस्तै।

कालिदासले शिर तीर बसेर पुछर काटे त के भयो
उ तल झरेनन्, बरु सफलताको टुप्पो चुमे
यही त छ फरक फेरी हामीमा, तिमी सुल्टोलाई उल्टो देख्छौ
म सुल्टोलाई सुल्टो, उल्टो उल्टो देख्छु।

जुनमा ग्रहण लाग्दा “छोड्दे जमरे” भनेर थाल पट्याई रहँदा तिमीले
मैले कालो जसमा लगाएर जुन हेर्दै थिएँ।
यहाँ को गलत र को सही छुट्ट्याउन चाहन्न म
यो हाम्रो फरक फरक समयको आ-आफ्नो खुड्किलाको दृष्टि हो।
जुन बखत तिमीले कहिले मन्दिरमा बसेर कीर्तन गर्दै गर्दा
म ग्रहण किन लाग्छ भनेर म एकोहोरो सोच्दै थिएँ।
फरक यही छ हाम्रो पुनः
तिमी त्यो समयको लागि सही साबित भयौ
म यो वर्तमानको(आधुनिक)।

इति।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *