नयाँ वर्षको शुभकानमा !

डा० लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका

भन्छन् आयो नयाँ वर्ष, गयो पुरानो वर्ष
आउँछ जान्छ,फेरि आउँछ अनि फेरि जान्छ
यो नयाँ वर्ष यहाँ, वहाँ अनि सबैतिर
सधैँ नयाँ, आइरहने अनि गइरहने !
यी हाम्रा कल्पनाहरू, यी हाम्रा भ्रमहरू
अनि यी हामीलाई बाँड्ने महाजालहरू
मात्र तपाईँ हामीका कपोल कल्पनाहरू
आयो नयाँ वर्ष, गयो नयाँ वर्ष I
के नयाँ के पुरानो ?
कुन आज कुन भोलि ?
निरन्तर चल्ने चक्रलाई
शक्तिशाली यो महाकाललाई
कसले सक्छ छुट्ट्याउन !
कसले सक्छ र उच्छिट्याउँन !
भन्छौँ आयो अनि गयो
नयाँ वर्ष फेरि आयो अनि फेरि गयो I
कताबाट आयो ? कता गयो ?
म भन्छु न आयो न गयो
यदि गयो भने फेरि कहाँ आयो ?
उ त गएको गएकै…..छ,
आज गयो, भोलि जान्छ अनि सधैँ…. जान्छ,
गइरहन्छ,उ भागी…. रहन्छ !
नपत्याए छाम त आफ्ना हिजोका दुधे गालामा
दाह्री पलाएका छन् अनि भोलि चाउरी पर्नेछन्
कसरी आयो ?  गएको गएकै छ वर्ष
कति नयाँ कति पुरानो ? I
न जसको थालनी छ, न जसको अन्त छ
न जसको मध्य छ, न त उसको शिर पुच्छर नै छ,
न सानो छ, न ठुलो छ, न गोरो छ न कालो नै छ
उ त निरन्तर चलायमान निराकार छ I
भन्छौँ मेरो नयाँ वर्ष फलानो
उसको नयाँ वर्ष फलानो
न मेरो हो ऊ, न तिम्रो हो ऊ !
कसैको होइन ऊ, तर सबैको हो ऊ I
भन्छौँ नयाँ वर्ष फलदायक हुनेछ
गत वर्षले केही दिएन मलाई
दोष लगाउने अरू केही भएन
नाच्न न जान्दा आँगन टेढो
अर्काका आङमा जुम्रै जुम्रा
आफ्ना शिरको भैँसी कहाँ देखिन्छ ?
राम्रो जति सबै मेरो
बिग्रिएको सबै तेरो
पानीमाथि बसेर सधैँ ओभानो
पुरानो वर्षले साथ दिएन
नयाँ वर्षले देओस् ?
नयाँ वर्षको शुभकामना !
मात्र बोलीमा बचेको
मञ्च र फूलमालामा सजेको
खोक्रो स्वाँगको ढाकर भिरेर
जटा मुण्डा र जय जयकारमा रक्ताम्मे
घायल हत्यारो झैँ भएर
न आओस् यो नयाँ वर्ष
न आओस् दुई दाँते हात्ती बनेर
आउँछ भने आओस्
ठुलो छाती फुकाएर
सत्य र अहिंसालाई बोकेर
नयाँवर्ष सधैँको भन्दा भिन्न भएर !

एक अर्कालाई भुल्याउने
अबोध शिशुलाई फुल्याउने
प्रेमिकालाई झुक्याउने
न जान्नेलाई छक्याउने
भत्किनेलाई भत्काउने
डराउनेलाई धम्क्याउने
अल्छीलाई सुताउने
सत्यलाई लुकाउने
असत्यलाई उठाउने
यी सबै हटेर यी सधैँ भागेर
आओस् नयाँ वर्ष हाम्रो
नयाँ निर्माणलाई बोकेर !

जाँगर, उत्साह र उमङ्ग भरेर
प्रेम, दया र ममता घोलेर
जाँगर, परोपकार र समता बोकेर
अनि आओस् नयाँ वर्ष –
भाषा, संस्कृति जडेर
भोकाको पेट भर्दै
नाङ्गाको अङ्ग छोप्दै
अनि अर्काको उन्नतिमा रमाएर
आफ्नो प्रशंसा त्यागेर
आओस् नयाँ वर्ष मिलेर !
ईर्ष्या र राग नलिइकन
दम र घमण्ड बिर्सेर
छल कपटलाई त्यागेर
सबैले सबैलाई अट्टाएर
सकारात्मक ढोल ठट्टाएर
अनि म र मेरो त्यागेर
हामी र हाम्रो सँगालेर
आओस् नयाँबर्ष उर्लिएर
आओस् नयाँ वर्ष फुलेर !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *