नवकांक्षा

खोलाघरे साइँला
इलाम, नेपाल

तरल हिम बगाए उत्तरी टाकुराले
वन चहुर सजाए पल्लवी आँकुराले
नव सृजन उघार्दै काख खोलिन् धराले
सबतिर नव खोजे सिर्जना पाखुराले ।

कटुस र सखुवाको पाउलो मग्मगायो
पवन दमन पर्दा बेस्सरी चल्मलायो
गगनतिर भरीलो जूनको ज्योति छायो
घरनजिक निशामा जुन्किरी चम्चमायो

अब धवल तुषारो लेकमा छैन ,पग्ल्यो
हिमशिखर उदाङ्गो काख खोलेर अग्ल्यो
वरिपरि वनपाखा फूल लाखौं फुलेर
रसबस भुँवराका साथ गर्छन् भुलेर।

मधुकर रसलाोभी कानमा फुस्फुसाए
कलिसँग “रस देऊ ” भन्दछन् भृङ्ग भाले
कलि मुसुमुसु हाँस्तै भन्दछन्”नाइँ नाइँ”
अलि पछि त अँगाल्दै छोप्दछन् भृङ्गलाई ।

कलुष,तुष भएको रीति छान्दैन कोही
किनकि ठगिनु मात्रै नित्य मान्दैन कोही
युग नव थिति खोज्दै बढ्छ भै अग्रगामी
युगविपरित चल्नेमाथि बग्छन् सुनामी ।

यस सुखद पलामा हाँस्न पाऔँ सबैले
हृदय-प्रणयमाला गाँस्न पाऔँ सबैले
सबसँग मन मेरो स्नेहका शब्द बोल्छ
सहृदय सबसामू प्रीत-पीयूष घोल्छ ।

मुलुक विविधतामा स्वत्व खोज्दैछ सारा
अधिकतर दिंदैछन् शान्ति सद्भाव नारा
अब सबतिर छाओस् स्नेह ,सद्भाव,हर्ष
युगयुगतकलाई यो बनोस् प्रीतिवर्ष”

मालिनी छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *