न्यायको जन युद्ध

कुबेर कुईकेल भुवानेटारे
अमेरिका

अत्याचार कुकर्म भेद सबको अन्याय साथी भयो
माथिल्लो तहको प्रकोप बलले आनन्द कैदी भयो
होली रङ्क निचोर्न रक्त रण भो पासो गलामा कसी
उर्दी राष्ट्र बिरोधमा रगतको सन्देह तुच्छो कसी

माटोमा अभिमान वंश गतिको रैती बिरोधी मति
आमाको कर काखमा महलले सन्तान मास्ने कति
अत्याचार छ भारदार ननिको रैती रए लौ कता
अन्धो त्यो दरवारमा दमनको फन्दा भयो दासता

निर्दा कुण्ठित जातिभेद भयमा रैती दबाए पनि
भाषा धर्म विभेद भर्न जनता नाका कटाए अनि
ताल्चा छन् मुख त्रासदी शहरमा फुस्रो प्रजातन्त्रमा
आजादी अधिकार छैन जनको खोक्रो खुसी विश्वमा

आफ्नो हात लगाम देश भरिको सत्ता मदारी भए
हात्ती दन्त प्रदर्शनी गजवको आनन्द आफैँ लिए
तानाशाह खिलाफ त्यो प्रहरमा आवाज चर्को भयो
नेतामा गुण दोष ज्ञान कमिले निर्दोष दोषी भयो

इच्छाधीन गुलाम आश्रित ऋणी तल्लीन रैती हुँदा
हाँस्दै छन् नृप दासता मजबुती बन्दै छ आफै सदा
उल्टो नाटक रङ्गमञ्च सजियो स्वाधीनता शब्दको
के ! मात्रै मतदान गर्नु जनको स्वाधीनता पुर्ण हो ?

ईमान्दार प्रजा थुना सरह त्यो आजाद कस्तो अहो
बोली बन्धनमा निरङ्कुश ठुलो प्रासादको हात भो
चौतर्फी हमला भयो दश दिशा भाषा र आस्था प्रति
के लत्ताकपडा र ज्ञान गतिमा आँखा लगाए पछि

रक्षा दक्षिणको सिमा गरिरए पुर्खा अदृष्यै थए
छोरा नाति ल दत्तचित्त मनले माटो सिपाही भए
बाटोमा पसिना र रक्त मसिले त्यो देश सिच्दा भए
तुर्सा मानसका जलाधिपहरू आस्था निचोर्दा गए

अन्यायी अपराधका प्रिय तिमी अक्षम्य तिम्रो भुल
गोली वीरहरू ससक्त दृढता संकल्प गर्दै मिल
आगो युद्ध मदान्द लक्षित हुँदै जल्दै छ दोस्रो घरि
नब्बेको जन युद्धका सहिदमा श्रद्धाञ्जली लौ गरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *