पठन-१
मनोज बोगटी,
दार्जीलिङ
फिनिक्सको कथा पुराण जस्तै सुनाउँछ
र मलाई बॉंच भन्छ
अक्षर ।
बॉंच्न अघि म त्यो कठोर यातना सम्झन्छु
जसलाई भोग्दा
क्षयरोगी भए आवाज।
पीड़ा सम्झन्छु त्यो
जसको वितरणकक्ष सम्हालेर बसेका छन्
पान चबाएर रातो थुक्ने लाल साहेबहरू
उनीहरू रा…तो हुँदा
हाम्रो रङ् हराउँछ ।
रोबर्ट ब्रुस डोरीबाट झर्छन् र पानी हाल्छन्
जरा काटिएको स्वाभिमानको बोटमा ।
खुइलिएको इतिहासलाई झोलाजस्तो बोकेर
हामीले हिँड़ेको
नदी किनारको बालुवामा अब त कुनै डाम समेत छैन ।
किनारको पाइलासम्मै उर्लिएर आउँछ
रणनीति ।
मेरो उपस्थिति पखालेर भाग्छ ।
तर्न नसकेको त्यो नदी
झन गहिरो-झन गहिरो बन्दै गइरहेको छ ।
दैलो खोल्ने बित्तिकै घाममा टल्केका
केही अक्षर पस्छन्-
पढ्छु म-किनाराका आवाजहरू ।
मनप्रसाद सुब्बा र रेमिका थापा आउँछन् र देखाउँछन्
भुइँ टेकेर बॉंच्नेहरू-को सबर्ल्टनको शीर !!!