पारपाचुके
अबि बाबु अधिकारी
पेन्सिल्भिन्या, अमेरिका
सँगै जिउने सँगै मर्ने वाचा कसम तोडियो !
अनि हाम्रो जिन्दगीको पाटो छुट्टियो !!
तिमीले तिम्रो गन्तव्य रोज्यौ,
र म पनि मेरो गन्तव्य खोज्न तिर लागेँ!
अनि,
बिचैमा अलपत्र परे ती हाम्रा सन्तानहरू !!तिमीले अर्को मन मिल्ने जोडी भेट्यौ !
ठूलो रुखमुनि बलियो गुँड बनायौ !
मपनि एक्लै बस्न सकिनँ,
मैलेपनि अर्की खोजेँ र सानु गुँड बनाएँ !
अनि हामी आफू खुसी रमायौँ, मन लागि रमायौँ,
अनि दिन रात रमायौँ !!
तर टुहुरा भए ती हाम्रो सन्तानहरू !!
अनि……..
दिनसँगै रात बित्यो, प्रकृतिले हात फैलायो !
उनी पहिलो आमा बनिन, म दोस्रो बाबु बनेँ,
तिमी दोस्री आमा बनेऊ, ऊ पहिलो बाबु बन्यो !
हामी आ-आफ्ना बचेरा कोरल्न थाल्यौं ,
त्यसैमा निमग्न भयौँ, अनि आनन्द मनायौं ! तर
भोकै तिर्खै नाङ्गै भए ती हाम्रा सन्तानहरू!!
अनि………
कतै तिमी चुक्यौ , कतै मपनि चुकेँ होला ?
बिर्सिएर जिन्दगीको यात्रा यस्तै हो भन्ने !
नियति माथि सबै दोष थोपर्दै,
त्यो सेतो कागजमा ल्याप्चे लगाई, मसी पुछे पछि,
खुले तिम्रा र मेरा जिन्दगीका अनगिन्ती ढोकाहरू !
तर सदा सदाका लागि रोकिएछन्,
ती हाम्रा सन्तानहरूका अनन्त प्रगतिका पाइलाहरू !!
अनि…..
मैले मेरो लडाई मेरै पक्षमा जिते,
तिमीले पनि आफ्नै पक्षमा अवश्य जित्यौ !
अनि फुके तिम्रा र मेरा सबै बन्धन र अफ्ठ्याराहरु !
तर बन्द भएछन् निर्दोषीहरूका इच्छा चाहानाहरू !
अनि निमोठोए छन् ती कलकलाँउदा मुनाहरू!!
र सदा सदाका लागि भाँची झरे, हत्या र
बलात्कृत भए ती हाम्रा कलिला सन्तानका
मन-मस्तिष्कहरू !