प्रकृतिमा बाँदर निरीह प्राणी
मचिन्द्र खत्री
तेह्रथुम
अहो!प्यारो साथी अभयसँगले आज यसरी
सुतेको हाँगामा हरितवनमा हेर कसरी?
सबै चिन्ता पीडा परपर सरे,शान्त मन भो
सखे!प्यारो मेरो अवनितलको मित्र वनको।।
कहाँ खाने सुत्ने वतन सकियो जङ्गल कहाँ?
सबै मान्छे कै भो जलजमिनमा हैकम यहाँ।
न बाँच्ने माटो भो वन घरघडेरी छ छिनमा
गुलेली भालाले जनजन मिली खेद्छ दिनमा।।
न पानी धाराको न नल कुपको मिल्छ सहजै
यता नाला जोडी सरसर उता तान्छ सहजै।।
न फल्ने पोथ्रा छन् न त फल कतै पात रसिलो
सधैँ भोको मात्रै अधर हुँन गो छैन कसिलो।।
सबै प्राणीको यो करुणकविता लेख्न मन भो
र हेर्दाहेर्दैमा खलवल भयो भङ्ग वन भो।।
सुसेली मार्नेले कुकुरसँग ली तीर धनुष
कठै!हान्यो ताकी मरण छ सधैँ दुष्ट मनुज।।
न तिम्रो बिर्ता हो बुझ मनुजले हुन्न यसरी
र ढुङ्गा माटो यो प्रकृति सब नै रुन्छ असली।
सबै साझा हो यो जलजमिनमा भोग सुखले
सबै प्राणी आँट्ने असल घर हो भन्छु मुखले।।
शिखरिणी छन्द