प्रथम वार्षिकोत्सवमा ‘दियालो’को विमोचन

द लिटररी सोसाइटी अफ भूटानले प्रथम वार्षिकोत्सव कार्यक्रममा सोही संस्थाको वार्षिक साहित्यिक पत्रिका ‘दियालो’को विमोचन गरेको छ ।

मे महिनाको २ तारिख भएको उक्त कार्यक्रममा द लिटररी सोसाइटी अफ भूटानका अध्यक्ष तिलक राईले साहित्य निष्पक्ष नहुने बताउनु भएको छ । झापास्थित भूटानी शरणार्थी शिविरमा द लिटररी सोसाइटी अफ भूटानले प्रथम वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा राईले उक्त तर्क गर्नु भएको हो ।

साहित्य निष्पक्ष हुन्छ भनिए पनि असलमा त्यस्तो नहुने अध्यक्ष राईको जिकिर गर्नु भयो । उहाँले भन्नू भयो – ‘समाज वर्गीय छ । वर्गीय समाजमा साहित्य पनि वर्गीय नै हुन्छ ।’ राईले अगाडि थप्नु भयो- वर्गीय समाजमा साहित्य कुनै न कुनै वर्गको पक्षमा हुन्छ । यसर्थ यो निष्पक्ष हुँदैन ।’

तस्विर: एक्जायल्ड भूट्निज

कार्यक्रममा राईले साहित्य माटोसँग जोडिने पनि बताउनु भयो । ‘भूटानको हकमा झन् साहित्य अभिन्न रूपमा माटोसँग जोडिन्छ र जोड्नु पर्छ’ राईले भन्नू भयो । उक्त कार्यक्रमको अध्यक्ष तथा द लिटररी सोसाइटी अफ भुटानका सचिव दिल भूटानीले देश र साहित्यको अन्तरसम्बन्ध खुट्याउन नसक्दा भूटानी साहित्य उत्पीडितहरूको आवाज बन्न नसकेको बताउनु भएको छ । उहाँले साहित्य मानव मुक्तिसँग जोडिने हुनाले यसलाई समग्र मानव मुक्तिसँग जोड्नु लेखकको कर्तव्य भएको औँल्याउनु भयो ।

अर्को प्रसङ्गमा सचिव भूटानीले सर्जकहरूमा अध्ययन र निरन्तर अभ्यासको आवश्यकता रहेको बताउँदै आउँदो दिनमा साहित्यको विभिन्न विधाबारे जानकारी दिन र नव सर्जकहरूलाई लेखनमा प्रशिक्षित गर्न द लिटररी सोसाइटी अफ भूटानले प्रशिक्षणको आयोजना गर्ने पनि बताउनु भएको छ ।

दियालो नामक उक्त पत्रिकामा कथा, कविता, गजल र संस्मरण गरी २५ वटा जति लेखहरू प्रकाशित छन् । २० जना शरणार्थी सर्जकहरूको उपस्थिति रहेको उक्त कार्यक्रम कवि थिरु घिमिरे ‘विकल्प’ सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा केही सर्जकले दियालोमा छापिएका रचनाहरू वाचन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *