प्राप्ति मात्र प्रेम होइन
प्रतिमान सिवा
ओहायो, अमेरिका
रोशन, म्याक्डोनल्ड रेस्टुराँको एक कुनाको टेबल छेउको कुर्सी तानेर बसेको आधा घण्टा जति भैसकेको थियो । आफ्नो हातको मोबाइलमा तिखो नजर गाडेर एक तमासले हेरिरहेको थियो र बुढी औँलाले स्कृनलाई तल-माथि सारी रहेको थियो तर कुनै कुरामा उसको मन भने पटक्कै अडिएको थिएन । आम प्रयोगकर्ताले झैँ उसले पनि फेसबुकको कैयौँ स्ट्याटस र पोस्टहरूमा नपढिकनै लाइक ठोकिरहेको थियो, धमाधम । बेलाबेला टाउको उठाएर ढोकातिर र सिसाबाट बाहिरतिर नजर डुलाउँथ्यो । उसलाई छट्पटिले भित्रैदेखि काउकुती लगाइरहेको थियो ।
हुन त प्राय: सबैजसोलाई पर्खिनु या कुनै कुराको इन्तजार गर्नु जस्तो गाह्रो अरू केही लाग्दैन। एक एक पल घण्टौँ जस्तो पट्यार लाग्दो र कहिले नटुङ्गिने सिङ्गो युग जस्तो अनुभव हुन्छ जब कसैको वा केही कुराको पर्खाइमा समय काट्नु पर्ने अवस्था आउँछ । रोशनलाई पनि यो आधा घण्टा बिताउन बहुत कठिन भैसकेको थियो । एउटा सिङ्गो लम्पट र अनुत्पादक युग बिताएको थियो यो आधा घण्टामा रोशनले । दुई पटक जति त्यहाँका एयाट्यान्डेन्टले ऊ सामु आएर क्षणिक नै भए पनि मीठो र शङ्कास्पद मुस्कान छर्दै जिज्ञासा राखेका थिए,
‘हजुरलाई म केही सहयोग गर्न सक्छु?’
सुरुमा त उसले, ‘नो, आई एम फाईन’ भनेर टारेको थियो तर दोस्रो चोटि उसलाई एक किसिमको अप्ठ्यारो महसुस हुन थालेको थियो । त्यसैले ऊ जुरुक्क उठ्यो अनि चारैतिर एकसरो नजर घुमाएपछि बिस्तारै कदम बढायो- बाहिर ढोकातिर । पर्खाइको छटपटीले कायल बनिसकेको रोशन वास्तविक्ताबाट या यथार्थबाट हराई सकेको थियो र उसको मन अन्तै कतै उडी रहेको थियो, एउटा आफ्नै वेगमा, आफ्नै तरङ्गमा- कसैलाई खोज्दै, कसैलाई सोच्दै । बाहिर निस्कँदै गर्दा ढोकामा झन्डै ठोकिएको थियो एकजना गोरी अर्धबैंसे नारीसँग ।
‘माई ब्याड । आई एम सारी म्या’म’ भन्दै सरमले रातो भएर बाहिरिएको थियो ।
अमेरिकी सभ्यतामा यस्ता कुरालाई खुब ख्याल गरिन्छ । असभ्य भएको ठानिन्छ । त्यसैले होसियारी र सतर्क हुन अत्यन्तै जरुरी हुन्छ यदि कुनै आगन्तुकले यस समाजमा आफूलाई घुलमिल गराउन चाहन्छ भने । रोशन यस्ता कुरामा अभ्यस्त भइसके पनि आज चुकेको थियो जसको कारण बनिन् अबोध रीना । अनुहार निक्कै हिस्सी परेको र गोरी हुँदाहुँदै पनि एसियाली चेहरा बोकेकी ती स्त्री आकर्षक त थिइन नै तर किन हो किन उसलाई देखिरहे जस्तो भान भयो रोशनलाई ।
‘आई एम फाईन’ भन्दै भित्र पस्दै फर्केर छड्के नजरले रोशनलाई हेरी, मानव गल्ती सबैमा हुन्छ भन्ने भावनाले । तर रोशनको ध्यान अन्यत्रै केदृत भएकाले ती स्त्रीको अनुहारलाई नियाल्ने खासै प्रयास गरेन र जरुरी पनि ठानेन किनभने ऊसँग फिक्री गर्नु पर्ने विषय अहिले छुट्टै छ ।
आफ्नो लापरबाही र अभद्र व्यवहारबाट सर्मिन्दा बन्नु परेपनि माफी पाएकोमा आफैलाई सौभाज्ञमानी ठान्दै एकछिन आफ्नो विषयवस्तुमा तरङ्गिएपछि पुन: तिनै स्त्रीलाई बिचार्न थाल्यो । मनमा कुरा खेल्न थाल्यो । शङ्का उपशङ्काहरू उत्पन्न हुन थाले । कतै यिनै रीना होइनन् ? अनुहार त एसियाली नै छ । पन्ध्रवर्ष अघिको धिमा यादहरुको टुक्रा टुक्रीहरु जोडेर एउटा तस्बिर तयार पार्ने प्रयास गर्यो । फेरि अर्को मनले भन्यो, ‘हैट, रीनालाई नचिन्नु मेरा लागि ठूलो सरमको कुरो हो । हाम्रो सम्बन्धको अपमान हो । मैले रीनालाई नचिन्नु ?’ फेरि सोच्यो, पन्ध्रवर्ष अघिको कुरा हो । यती लामो समयमा के के हुन्छ हुन्छ नि ? मानिस जन्मिएर, हुर्किएर मर्न पनि सक्छ । फेरि, छोरी मान्छेमा छिटो परिवर्तन आउँछ भन्छन् । यस्तै अन्तर्द्वन्दहरुले उसको मन हुँडल्न थाल्यो । झ्वास्स उसलाई याद आयो, हिजो टेक्स्ट म्यासेजमा म अलिक ढिला हुन्छु होला भन्ने लेखेकी थिई रीनाले ।
रोशनभित्र एक किसिमको बिधुतीय तरङ्ग शिरदेखि पाउसम्म फैलिएर गयो, सम्पूर्ण शरीरलाई नै चिसो बनाएर । हतारहतार उसले टेक्स्ट म्यासेज माथि सार्यो, माथि… माथि….., केही विशेष कुराको उत्खनन गरेझैँ खोतली रहेको थियो । निक्कै बेरपछि स्क्रीनमा उसको औँला टक्क अडियो । निकै बेर घोरियो र आफ्नो हत्केलाले अनुहारलाई पुछ्यो ।
मे महिनाको बेला, सिन्सिन्नटीमा लगभग लोभ लाग्दो मौसम हुन्छ । पचास भन्दा माथिकै तापक्रम भएपनि शीतल बतासको प्रवाहले मन त्यसै फुरुङ्ग पार्ने वातावरणमा प्राय सबै नेपाली मूलका बासिन्दाहरू आ-आफ्नो करेसाबारीमा (ब्याक-यार्डमा) वर्ष भरिका लागि साग-सब्जी (विशेष गरेर खोर्सानी, टमाटर, रायोसाग, पालङ्गे, लौका र फर्सी, इत्यादि) रोप्न व्यस्त हुने समय हो यो मौसम । तरैपनि रोशनको अनुहार भरि चिटचिट पसिना निस्केका थिए । कुनै कुराले उसको आँतमा आगो जलाएको थियो । गर्मी बढाएको थियो र बेचैनी उत्पन्न गराएको थियो ।
फर्केर ढोकामा हेर्यो, तिनै स्त्रीलाई खोज्दै उसको नजरले ढोकादेखि लिएर पर परसम्म स्क्यान गर्यो । कतै नदेखेपछि कालो सिसालाई चिरेर क्याफे भित्र डुलायो उसको तिखो नजर । एउटा टेबल छेउमा बसेर यताउता नजर घुमाउँदै मोबाइलमा औँला कुदाई रहेकी थिई । लाग्थ्यो, ऊ पनि कसैको पर्खाइमा बेचैईन थिई । हतारहतार ऊ भित्र पस्यो। टेबल छेउ पुज्ञो अनि उसको अगाडि मूर्ती झैँ ठिङ्ग उभियो, दोधारको मुस्कान अधर भरी टाँसेर ।
अपरिचित पुरुष आफ्नो अगाडी आएर यसरी ठिङ्ग उभिएको देखेर जुरुक्क उठी र अनुहारमा नियाली उत्सुक्ताको दृष्टि रोशनको सामुन्ने तेर्स्याउँदै । नहिच्किचाईकन सम्पूर्ण साहस बटुलेर सिधै सोध्यो रोशनले ।
“तिमी रीना होइन ?”
टाउको हल्लाउँदै स्वीकृति जनाई अनि उसको पालो सोधी –
“अनि तिमी रोशन होइन त ? कस्तो परिवर्तन भएछौ, मैले त चिन्नै सकिनँ । वा……उ, यु लुक सो ह्यान्ड्सम ।”
“मलाई त भन्न पनि सरम लागिरा’छ, मैले पनि ठम्याउनै सकिन । पन्ध्रवर्षमा तिमी पनि कोहिनूर जत्तिकै भएछौ ।”
संसारका सबै कुराहरूलाई भुलेर बेपर्वाह मुस्कुरायो रोशन अनि फैलायो उसको दुवै हातहरू मानौँ, युगौँ पहिले हराएका खुसीहरू समेट्नलाई तयार छ ऊ आज ।
अमेरिकी शैलीको अभिवादनमा समेटिए दुवैजना एक अङ्गालोमा धेरै बेर । बडो आनन्द महसुस भएको थियो दुवै जनालाई एक अर्काको अङ्गालोमा कसिन पाउँदा यतिका वर्षपछि ।
रीना यतै सिन्सिनाटीमै आइपुगेकी छ भन्ने खबर रोशनलाई उसको मिल्ने साथी चन्द्रले केही दिन अघि वालमार्टमा भेट्दा सुनाएको थियो र रीनाको फोन नम्बर पनि हाता लगाइदिएको थियो । चन्द्रलाई राम्ररी थाहा थियो कि रोशनले आफ्नो जीवन भरको समय खर्चिएर भएपनि खोजेरै छोड्ने थियो । त्यहाँ देखि यता रोशनको मन त्यसै एकदम हलुङ्गो, भुवा जस्तो फुरुङ्ग भएर भावनामा माथि माथि कल्पनाका तरङ्गहरूलाई हातेमालो गर्दै उडिरहन्थ्यो । बिनासित्ती मुस्कुराउँथ्यो अनि कहिले कहीँ त्यसै झसङ्ग भई झस्किन्थ्यो ।
फोनमा सामान्य कुराकानी भएपनि दुवैजनाले एक अर्कालाई विगतका १५ वर्षमा देखेका थिएनन् । लम्बा-चौडा कुराहरू गरिरहनु भन्दा बरु उनीहरूले चाँडो भन्दा चाँडो भेटेर सुख दु:खका र विगत-वर्तमानका कुरा गर्ने सङ्कल्प गरेका थिए जस कारण आज एउटै अङ्गालोमा बाँधिएका थिए । रीनाले रोशनको हृदयको सङ्गितबद्ध धड्कनमा आफ्नो हृदयको धड्कन पनि मिसाई दिएकी थिई भने रीनाको बढ्दो चापको फ्वाँफ्वाँ स्वस-प्रस्वास प्रक्रियाले रोशनलाई त्यसै आँखा चिम्लिन प्रेरित गरेको थियो ।
० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०
करिब पन्ध्र वर्ष अघिको कुरो हो ।
रोशन र रीना दुवैजना बैँसले उन्मत्त भएका अल्लारे ठिटा-ठिटी थिए । तर शालीन स्वभावका थिए । उत्ताउलोपन र कामुक्तालाई सजिलै संयमले लक्ष्मण रेखाभित्रै कायम राख्दथे ।
एक बेलुकी, रतुवा बगरको डिलमा छलिएर तलतिर र मास्तिर गरेर दुवैजना ढुङ्गामा बसेका थिए । भावुक देखिन्थे । कुनै साझे समस्याले गाँजेको हुनुपर्छ । रोशनले धेरै बेर कलकल बगेको पानीमा ढुङ्गा छप्ल्याङ्ग छप्ल्याङ्ग हान्दै घोरिएपछि बल्ल बोल्यो ।
“अब कसो गर्ने रिनु ?”
“कसो गर्ने र अब। कहीँ नभाको हुतिहारा ! मर्नु नि बरु, डाडुमा पानी उमालेर ।” जस्तो खस्रो बोली त्यस्तै अनुहार बनाएर ठूलठूला आँखा पर्लक्क पल्टाउँदै हेरी रोशनलाई । आँखामा रिस थियो, आवेग थियो र त्यही ज्वालाभित्र अथाह मायाको प्रलय पनि थियो । जसरी ऊ रिसको ज्वाला उगेल्दै थिई त्यसको ठिक विपरीत रोशन शान्त थियो । मानौँ उसले केही सुनेन वा सुनेर पनि त्यसले केही असर गरेन ।
“दुई दुई वर्ष भइसक्यो लठारिएर हिँडेको, जाबो यती आँट गर्न सक्दैन ।” फेरि उस्तै कड्किई ।
हो । जब माईधारबाट सबै शिविर सात शिविरहरूमा बाँडिए, त्यही समय देखि उनीहरूको परिचय भएको थियो। बेल्डाँगी एकको सेक्टर एफमा नयाँ भिट्टा वितरण हुँदै गर्दा ठट्यौलीमै चिनापर्ची भएको थियो । त्यो चिनापर्चीले ग्रीनभेल एकेडेमीको दुई वर्षको अध्यान अवधि भरीमा युगल जोडी बनाइदिएको थियो यी दुवैजनालाई । अहिले आएर छुट्टिन नसक्ने भैसकेका थिए । एक अर्कालाई खुब माया गर्थे । रीनालाई मन पराउने अरू केटाहरूले नानाथरीका हल्ला फिँजाईदिन्थे तर पनि उनीहरू वास्ता गर्दैन थिए ।
“म हुतिहारा होइन । तर भोलि के हुन्छ त्यो पनि सोच्नु पर्यो नि ।” रोशनले शान्त तर निक्कै गम्भीर भएर बोल्यो ।
“जे हुन्छ देखै जाला ! भोलिको किन सोच्नु पर्यो? आजको सोच्नु नि । ” – बडो अठोटले बोल्दै अलिकति मुस्कुराई ।
“सबै कुरा आफूले सोचे जस्तै हुनु हो भने सबै राजा भइहाल्थे नि ।”
“सबै कुरा आफूले सोचे जस्तै हुनु हो भने सबै राजा भइहाल्थे नि । तिमीले सोचे जस्तो सजिलो कहाँ होला र ?” कहिले कहीँ दार्शनिक झैँ बोल्थ्यो रोशन र यही कुरा रीनालाई साह्रै मन पर्थ्यो ।
“तिम्रो घरपरिवारले स्विकार्नु पनि पर्यो नि । उनीहरूलाई समाजमा कति गाह्रो हुन्छ ?”
“मेरो घरपरिवारले स्विकार्छन् र बिहे गरौँला भनेर बसेऊ भने तिम्रै आँखाको अगाडी अर्कैले सिन्दूर हाल्छ अनि बौलाएर हिँड्नु परेको बेला थाहा पाउँछौ ।”
रोशन मज्जाले झस्क्यो। छाँगाबाट खसेझैँ लाग्यो । यती बोलिसकेपछि मैले के बोलेँ भनेर उसलाई पनि भित्र चस्स घोच्यो । मानौँ, बाण दुईधारे थियो, दुवैजनालाई प्रहार गर्यो ।
जुरुक्क उठी अनि रोशन बसेकै ढुङ्गामा ऊ पनि टाँसिएर बसी र रोशनलाई अङ्कमालमा कसी मज्जाले । रोशनलाई भने मान्छेले देख्लान् भन्ने त्राही थियो । आफूलाई छुटाउने कोसिस गर्यो ।
“यो जात कसले बनायो होला है?” मसिनो तर रुन्चे स्वरमा सोधी ।
“खै ! जातीय भेदभाव घोर अन्याय हो। कलङ्क हो । यो वेद, गीता अथवा कुनै शास्त्रमा वर्णबिभेद गर्नु पर्छ भनिएको छैन । यो एउटा कुप्रथा हो । यसलाई उन्मुलन गर्नुपर्छ भनेर सबैले भाषण त छाँट्छन् तर ब्यवाहारमा कसैले उतारेको देखेको छुइन ।” रोशनले आफ्नो धारणा व्यक्त गर्यो ।
“जब जब म एकान्त पाउँछु, यी तीन कुरामा बहुत रुन्छु । आफैलाई धिक्कर्छु ।” रोशनलाई भक्कानो फुटेझैँ भयो । बोली पनि रुन्चे भयो ।
“के के तीन कुरा ?”
उसले रीनाको अनुहार गहिरिएर धेरै बेर नियाल्यो अनि ऊ पर पर क्षितिजतिर टोलाउँदै एकनासे स्वरमा बोली रह्यो ।
“एक त म सानो जात, अछुत भएर जन्मिनु पर्यो, मेरा बा-आमाले छोएको, पकाएको तिम्रा बा-आमाले खाँदैनन्, मान्छे नै भएपनि बेला बेला पशु भन्दा धेर घृणा गर्छन् ।
अर्को: न देश, न राष्ट्रियता, न पहिचान, न माटो – जीवनभरिको भिखारी ‘शरणार्थी’ हुनु पर्यो ।”
“अनि तेस्रो चैँ ?”
“तेस्रो? गरिब हुनु जस्तो ठूलो पिडा के हुन्थ्यो र ? अनेकौँ इच्छा, आकाङ्क्षा र रहरहरू मारेर जिउनु परेको छ ।”
“गरिबीलाई त भाग्य अथवा नियति मान्नु गलत हो रोशन । तिम्रा-मेरा बाबु-आमा गरिब भए भन्दैमा हामीले वहाँहरूलाई दोष दिने होइन । हामीले आफ्नो मेहनत र पौरखले बदल्न सक्छौँ यो कुरालाई, तर जात?……………………”
“बरु मपनि तिम्रै जातमा जन्मेको भए कति राम्रो हुन्थ्यो है ।” अघि रसाई सकेका आँखा पुछ्दै रोशनको हात च्याप्प समाई ।
“रोशन, मैले अगि के के भने, नरिसाउ है ।”
“म बुझ्छु, त्यो तिम्रो रिस होइन, मप्रतिको माया हो ।” रोशनले उसको निधारमा स्नेहालु चुम्बन गर्यो ।
“भोलि यही भेटौँ ल, साँझ पर्न आँटी सकेछ । मलाई घरमा खोज्न थाले होलान् ।” रीना डरसरीको स्वरमा बोली । बिस्तारै दुवैजना आ-आफ्नो बाटो लागे ।
“अब अर्को हप्तातिर त एसएलसिको रिजल्ट पनि आउँछ होला ।” छुट्टिँदै गर्दा रोशनले चिन्ता जताएको मात्र थियो उता रीना पड्की हाली।
“यता आफ्नो रिजल्टतिर चैँ ध्यान देऊ, एसएलसि त पास भई हालिन्छ नि ।”
साँच्चै, दुवैजना पढ्नमा अब्बल थिए । धेरै युवा युवतीहरू प्रेम जालमा फसेपछि पढाइमा कम्जोर हुन्छन् । उनीहरू भने प्रेममा बाँधिएपछि झन् एकजुट भएर लागि परेका थिए पढाइमा । यही देखेर रीनाका बा-आमाले उनीहरूको सङ्गतलाई शङ्काका दृष्टिले हेरिहालेका थिएनन् । आफ्नो अध्यानमा एक रत्ती पनि कमी आउन दिएका थिएनन् त्यसैले नतिजाको केही फिक्री थिएन ।
गर्मीको मौसम । मान्छेहरू बेलुकीको खाना खाइसकेर प्राय सबैजसो रतुवाको चौँरीमा चिसो हावाको खोजीमा निस्किने गर्थे । फाट्टफुट्ट मान्छे देखा पर्न थालिसकेका थिए त्यसैले दुवैजना हतारहतार आफ्नो बाटो लागे ।
दुवै परिवारमा राम्रै सम्बन्ध थियो । आवतजावत र बोलिचाली पनि उस्तै थियो। हिजोआज दुवै घरका परिवारलाई केही हदसम्म उनीहरूको सम्बन्ध थाहा हुन थालेको थियो । रीनाका बाबु-आमा पढे-लेखेका थिए। कुरो बुझ्थे । रोशन उनीहरूलाई खुब मन पर्थ्यो। सोझो, पढाइमा अब्बल र एकदम व्यवहारिक थियो । फट्याँई गरेर हिँडेको कहिल्यै देखेनन् । त्यसैले यत्तिको केटो हाम्रो छोरीको लागि योग्य छ भन्ने उनीहरूलाई भित्री मनमा लागेता पनि छोरीले जातै चैँ फालेर नगइदिए हुन्थ्यो भन्ने थियो । बाक्लो ठाउँ । हो हल्ला धेरै हुन्छ। समाजमा बेईजती र हटक हुने ठूलो डर थियो । यता रोशनको बाबु आमालाई भने रीनालाई बुहारी बनाउन पाए साह्रै राम्रो हुन्थ्यो भन्ने थियो । समाजको सेखी झार्न पाइन्थ्यो भन्ने घमण्ड भित्र भित्रै हुर्किँदै थियो । रोशनले भनेझैँ सबै आफूले चिताए जस्तो कहाँ हुन्थ्यो र?
उता रीनाका बडी बाले अब छोरीको बिहे गर्नुपर्छ, हुर्की सकी भन्दै घरमा रीनाका बाबु-आमालाई दबाब दिन थालेका थिए । सायद रीनाको तल्लो जातको केटासँग सम्बन्ध भएको र त्यसले निम्त्याउने सामाजिक लान्छाना एक इजोतिलो ब्राह्मण परिवारलाई उपयुक्त होइन भन्ने डर थियो होला । केही दिन त रीनाका बाबु-आमाले छोरी राजी छैन भनेर टारेका थिए । तर एक एक गरेर केटा देखाउन थाले पछि उनीहरू पनि गले । एक मनले सोचे, सामाजिक लान्छाना जस्तो ठूलो सरमको कुरो अरू के नै होला र । केटो छान्ने क्रम चल्न थाल्दै थियो, रीनाले छनक पाइहाली ।
शनिवार बेलुकी झोँक्किएर गई र रोशनलाई पाखुरामा समातेर तिमीसँग कुरा गर्नु छ भन्दै घिस्याउँदै पर सिसौघारी छेउको चौँरीमा लगी । रोशन भने वाल्ल परेर यो के गरेको, मान्छेले देख्छन् भन्दै हात खुस्काउन प्रतिवाद गरिरह्यो । चौँरीमा घाँसका भारी बिसाएर बसेका केही स्त्रीहरू उनीहरूलाई हेर्दै खासखुस गर्दै थिए । रीनाले केही वास्तै गरिन ।
“यदि तिमी साँचो हृदयले मलाई प्रेम गर्छौ भने यो हप्ताभित्र मलाई भगाउन सक्छौ कि सक्दैनौ? भन !” रोशनको नाकमा औँला ठड्याउँदै रीनाले आक्रोश पोखी ।
“हैन, तिमी फेरि किन बौलायौ आज? त्यस्तो के को हतार पर्यो बिहे गर्नलाई ?” रीना कस्तो अप्ठ्यारो स्थितिमा परेकी छ भन्ने उसलाई अनुमानै थिएन ।
“के हुनु र । त्यत्ति पनि थाहा पाउँदैनौ? घरमा मेरो बिहेको कुरो चल्दै छ । पर्सि केटा मलाई हेर्न आउँदैछ । यत्रो दुईवर्ष मैले सच्चा हृदयले तिमीलाई प्रेम गरेँ। एक एक पल तिम्रो मायामा बाँधिएँ । यो दुईवर्षका प्रत्येक दिन प्रत्येक क्षण तिम्रो साथमा रमाएँ । अब अहिले परीक्षाको बेला आएको छ रोशन ।”
“म पनि लाटो हुँइन, कुरा बुझ्छु । तर आवेगमा आएर निर्णय गर्नु उचित छैन । हामी बिहे त गरौँला तर हाम्रो जात मिल्दैन । समाजले हामीलाई र हाम्रो सम्बन्धलाई स्विकार्दैन । हाम्रो पारिवारिक सम्बन्ध टुट्छ । यी सबै कुरा सोचेकी छौ तिमीले?” दुई हातले रीनाको गाला सुम्सुम्याउदै रोशनले बडो भावुक भएर सम्झायो रीनालाई ।
“हाम्रो यो दुई वर्षको प्रेम यात्रामा तिमीले कुनै दिन, कुनै बेला पनि कामवासनाको दृष्टिले मलाई हेरेनौ, छोएनौ । आम युवकहरू झैँ मौकाको नाजायज फाइदा तिमीले लुटेनौ । तिमीले मलाई सम्मानजनक प्रेम गरेऊ । यो नै मेरा लागि सबै भन्दा ठूलो कुरा हो । जात, नाता गोता र सम्बन्ध भन्दा ठूलो हो मेरा लागि, त्यसैले म तिमीलाई गुमाउन चाहन्न । रोशन, प्लिज, प्लिज…….. मेरो कुरा बुझ्ने कोसिस गर ।” धरधरी आँसु झारेर ग्वाँग्वाँ रोई रीना ।
“प्राप्ति मात्र प्रेम होइन रीना। त्यागमा पनि प्रेम हुन्छ । आनन्द हुन्छ । अनुपस्थितिमा प्रेम अझ गाढा बन्छ ।”
“प्राप्ति मात्र प्रेम होइन रीना । त्यागमा पनि प्रेम हुन्छ । आनन्द हुन्छ । अनुपस्थितिमा प्रेम अझ गाढा बन्छ । बस्, सच्चा हृदयले स्विकार्नु पर्छ ।”
“ए! तिमी मलाई त्यागेर रमाउने ? आनन्द लिने ? कहीँ नभाको दार्शनिक । भो, पर्दैन मलाई तिम्रो दर्शन सुन्न । यदि यो हप्ताभित्र मलाई भगाउने आँट आयो भने मलाई लिन आउनु । नत्रभने सायद, यो जुनी भरिको अन्तिम भेट यही हुनेछ । अब तिमीलाई भेट्न पनि बन्देज लगाउन थालेका छन् ।” एकदम आक्रोशित स्वरमा रुँदै यती भनेर ठुँई ठुँई घरतिर लागी । रोशन निकै बेर रुन्चे अनुहार लगाएर उभिई रह्यो । अनि बिस्तारै घरतिर लाग्यो ।
सेक्टर सेक्टरमा कुरो चल्न थाल्यो, रीनाको बिहे अर्कै केटासँग हुने भयो । रोशनका हितैसीहरु सहानुभूति जनाउँथे भने बैरीहरू खुच्चिङ मच्चाउँथे । उता विवाहको तिथि मिति तोकियो । दुलही पक्षमा धूमधाम तयारी हुन थाल्यो तर कसैले पनि रीनालाई देखेको थिएन । घाइँघुइँ कुरा सुन्दा, फेरि रोशनलाई भेट्न जान्छे भनेर बिर्तामोड आफन्तकामा लगेर राक्खेका छन् रे ।
दिनदिनै रोशनको हालत बिग्रँदै गएको थियो । झोक्राइ रहन्थ्यो । खानामा रुचि राख्दैन थियो र प्राय दोहोरो कुरा पनि गर्दैन थियो रे । बेला बेला ‘म हुतिहारा होइन’ भन्दै कराइ रहन्थ्यो रे ।
सुरु सुरुमा त सामान्य प्रेमवियोग हो भन्ठानेर सम्झाई बुझाई गर्थे उसका बा-आमा । तर बिस्तारै धेरै नै असन्तुलित देखिन थालेपछि विराटनगर डा० शेर्चनकाँ जँचाउन सम्म लानु पर्ने अवस्थामा पुगेको थियो रे ।
० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०
रोशनका आँखा रसाइसकेका थिए । अङ्कमालबाट छुट्टिँदै गर्दा नजानिँदो हिसाबले उसले आँखा पुछेको थियो । रीनाको मुहार धेरै खुलेको थियो, उज्यालो चमक थियो । खुसी देखिन्थिई ।
कहाँबाट सुरु गर्ने, के बोल्ने । दुवैजना अलमल्ल परे निकैबेर । केवल एक अर्काको आँखामा आँखा मिसाएर मुस्कुराइ रहे अनि मसिना केटाकेटी जस्तो सर्माइ रहे ।
बल्ल होस आएझैँ गरेर झस्किँदै रोशन बोल्यो,
“जाऊँ, गाडीमै गएर कुरा गरौला”
“अनि तिमीलाई मैले फेसबुकमा, इन्स्टाग्राममा कति खोजेँ, भेटिनँ । के छ तिम्रो आइ० डी० ?”
“यसरी साक्षात् भेट्नु थियो त कहाँ फेसबुकमा भेटिन्छ त ।” रीनाले मीठो मुस्कान छर्दै उत्तर दिएकी थिई ।
“अस्ति फेसबुक आइ०डी० माग्दा किन नदिएकी त?”
“मलाई तिमीलाई साक्षात् हेर्नु थियो, छुनु थियो, तिम्रो आभास पाउनु थियो र पुराना खाटाहरू पुर्नु थियो त्यसैले नदिएकी ।”
“रीना, खोइ के कुरा गर्नु, धेरै छन् भन्नु पर्ने अनि सुन्नु पर्ने।” रोशनले गाडीमा बस्दै भनेको थियो ।
“रोशन, समय एउटा लामो वा सिङ्गो लम्पट होइन । यो पल पल जोडिएर बनेको हो । प्रत्येक पलको आफ्नै अस्तित्व र गुणहरू हुन्छन् । तिमी समयको जुन टुक्राबाट सुरु गर्छौ, म त्यसैलाई नवीन सुरुवात मान्नेछु ।”
तात्पर्य र प्रसङ्ग नबुझेकाले रोशन एकछिन अलमल्ल पर्यो । अनि भन्यो, ” मेरी छोरीहरू, अनु र प्रिया साथै श्रीमती विष्णुले तिमीलाई भेट्ने रहर गरेका छन् । यदि फुर्सद छ भने मेरो घर जाऊँ र उतै गफ गरौँ, हुन्न ?”
“तिमी उनीहरूसँग पनि मेरो कुरा गर्छौ ?” रीनालाई विश्वास लागेन ।
“मैले बिहे गर्ने बेलामा हाम्रो सम्बन्ध बारे विष्णुलाई सबै सुनाएको छु र उनी तथा छोरीहरू तिमीलाई सम्मान गर्छन् । अनि तिम्रो कतिजना बालबच्चा छन् त ?”
“प्राप्ति मात्र प्रेम होइन ? अनुपस्थितिमा प्रेम झन गाढा बन्छ रोशन ।”
“के भन्छौ तिमी रीना ? दार्शनिक झैँ कुरा गर्छौ त ।”
“हो रोशन! तिमी यती काँतर निस्किन्छौ भन्ने मैले सोचेकै थिइनँ त्यतिखेर । तिमीलाई पागल भयो भनेर औषधी खुवाउन थाले । मैले हाम्रो वियोग सम्झनै सकिनँ । अनि तिमीले भनेका वाक्यहरू सम्झँदै त्यो हाम्रो प्रेमलाई अनन्त रूप दिने निर्णय गरेँ र बिहेको अघिल्लो दिन बिर्तामोडबाट भागेँ । यी, तिम्रो अनुपस्थितिमा हाम्रो प्रेमलाई झन् प्रगाढ बनाउँदै अहिलेसम्म साँची राखेको छु र त्यसैको आधारमा बाँचिरहेको छु ।”
“वास्तवमा, सत्य हो रहेछ । प्राप्ति मात्र प्रेम होइन रहेछ । वियोगमा पनि आनन्द हुँदो रहेछ । तिमीले मलाई जीवनको ठूलो पाठ सिकायौ, तिमीलाई म हृदयदेखि सम्मान गर्छु ।” यसो भन्दै रीनाले दुवै आँखाबाट आँसु झारी र प्रेमपूर्वक रोशनलाई न्यानो अङ्गालो हाली, गम्लाङ्ग ।