प्रेमको मिठास

मञ्जु खड्का / एनएच, अमेरिका

कति मीठो यो प्रेमको सुवाश !
कति रमाइला ती क्यानभासभित्र
कोरिएका प्रितका कविताहरु !
अति नै हृदयस्पर्शी छन्
तिमीले गरेका मायालु कुराहरु
साह्रै गहकिलो छ त्यो,
तिमीले कोरेको प्रेमको हरफ |

साँच्चै नै रसिलो हुँदोरहेछ माया
अति नै स्वादिलो हुँदोरहेछ प्रेम
उही मायाको हरेक विशेषताले होला
जलिरहेछ यो मन
मसंग कुनै शब्द छैन
त्यो बिजुलीको खम्बामा
बसेर चिच्याइरहेको पंछीको
पुकारको बयान गर्ने
हर्षले हो या वियोगले
त्यो पनि बुझ्न सकिन
लाग्छ त्यो पनि आफ्नो जोडीको पर्खाइमा छ
आफ्नो बिछोडिएको प्रेमको छटपटाइमा छ
आत्तिइरा’छ
आफ्नो जीवनको खोजीमा
मैंले यति बुझें-
यो पल पनि मायाको मिठास हो |

ओहो ! यो मन पनि
न कुनै प्रेमको ज्ञान छ
न परिभाषा वा विशेषता
बिना दिवाल घर बानाउने योजनामा
अनगिन्ती अदृश्य प्रेमका सपनाहरु !
गन्तव्यहीन दिशामा दगुर्दोरहेछ |

पलपल अनुभव गरेको
मेरो मायाको क्षण
अल्प आयुको प्रेमगीत
आफ्नै संगीत र भाषामा
गाउन बाध्य भए पनि
क्षण क्षण आफ्ना इच्छाहरुलाई मरेर
जीवन जिउनु पर्ने अप्ठ्यारो समय भए पनि
कुनै कुराको खुसी र सुखको
आभाष छ ममा
यो पनि मैंले गरेको
मायाको परिणाम हो
मेरो मायाको तालमा
निक्लिएको नृत्य हो
म यही कुरामा खुसी छु
बिना दिवालको घर बनाउने
योजना भए पनि
मेरो मीठो प्रेमको छुट्टै मिठास छ |

One Reply to “प्रेमको मिठास”

Leave a Reply

Your email address will not be published. Required fields are marked *