प्रेम

कवि
कवि

प्रतिमान सिवा
अमेरिका

फोस्रा सपनाहरुका
तिता आभाषहरु
अनि
खस्रा अतितहरुका
मीठा यादहरु सम्झदै
पुच्की आमैले ….
खुट्टाका बुडी औँठाहरु
छ्याप्पै  भिजाएकी थिन,
शुन्य ती आँखाहरुबाट
उम्केका अनमोल
मोतिका दानाहरुले ।
“यो दाई त कस्तो छ हौ ?
गङ्गाटा जस्तो,
अघि पनी बड्ने,
पछी पनि हट्ने ?” भन्दा
अदन-बदन सबै रगताम्मे देखिन्थे
सामिप्यको उत्तेजनाले हो कि…
समर्पणको आवेगले हो ?
युग बित्यो,
समयले जित्यो,
बैंस  उत्कर्समा पुगेर
बुड्यौलिमा स्खलन भयो ।
माईलाबा,
हिजै मात्र त हो,
कम्पित धोद्रो स्वरमा
पुष्टि गरिरा’थे,
“मैले त, झलमल्ल सुनाखरिलाई
टपक्क टिपेर शिरमा
सिउरिनु भन्दा,
रुखमै रुझाओस भनेको थिएँ,”
खै, हिँजै मात्र त हो
आफु खच्किएको,
मर्दाङ्गी लच्किएको
पुष्टि गरिरा’थे
मलाई साक्षी  राखेर ।
आज बिहानै फेसबुकभरि
श्रद्धान्जलीको बाडी थियो,
माईलाबाको शवलाई बगाउँन ।
स्तब्ध मेरो मन,
जन्म र मृत्यु बिचको
औसत दुरी कति होला..?
अड्कल गर्न खोजिरा’थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *