प्रेम

हरि घिमिरे
मेरिल्यान्ड, अमेरिका

पुराण वेदले भन्छन्-ज्ञान उत्तम हो सबै
ज्ञानको बल हो नित्य दिने निर्भयता सँधै
मनमा प्रभुको वास निस्सन्देह बनाउँछ
सबैमा भगवान् देख्ने सौर्यशक्ति दिलाउँछ।१।

अरूमा प्रेम जन्मिन्छ मान्छेका रूपमा जब
सारा सृष्टि नयाँ बन्दै फल्छ फुल्दछ वैभव
आस्था जीवनको शक्ति बाँच्ने उत्तम मार्ग हो
सृष्टि सौन्दर्यका लागि अमोघ हतियार हो।२।

नास्तिक्य तर्कले बाँच्ला ज्ञानले डर मान्दछ
मस्तिष्क मुटुको नाता अटुट भर ठान्दछ।
कोरा जिज्ञासुका बाटा प्रेममय भए सबै
तब सृष्टि स्वयम् हाँस्छ प्रेमका रुपमा सँधै।३।

समर्पण सदा हुन्छ माग्न जान्दैन प्रेमले
सहन्छ कष्ट ऊ नित्य लढ्न जान्दैन प्रेमले।
प्रतिशोध नसाँधेर हाँस्तै हिड्ने नि प्रेम हो
प्रतिरोधविना बग्ने गङ्गा जस्तै नि प्रेम हो।४।

भावना प्रेम होस् नित्य बग्दै जाओस् निरन्तर
सबै मान्छे ठुलो सानो नदेखोस् भेद-अन्तर
अन्धकार नहोस् मान्छे अर्थ, ज्ञान र मानमा
विजय प्रेमले गर्छ मान्छेको इतिहासमा।५

अनुष्टुप छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *