फेरि अर्को नोस्टाल्जिया ——-
बिएम, डी
भुरखोलाको पानी टेकेर चुवाबारीको डिल उक्लिदा जीउ सिरिङ्ग भयो, ढक्क हिउँ जमेसरि जमेको हो कि जस्तो अनुभूत। त्यो पानी मेरो देशको पहाडबाट ननिस्केको भए यस्तो हुने थिएन होला। मैले हज्जारौं यस्ता खोला तरेको छु, कति बगर हिँडेको छु र ती खोलाको पानीमा खुट्टा चोबलेर अतीत बोलाएको छु। तर त्यस दिन म जीवनमा पहिलो चोटि भेटेका आफन्तसँग उनीहरूको घरमा पाहुना लाग्न जाँदै थिएँ अनि त्यो भूमिमा पहिलो चोटि टेकेको थिएँ।
बुम्पा ट्राभल्सको मिनिबसमा गेलेफु पुग्दा, साँचै रोमान्चित भएँ म। यात्रा विशेष थियो माहिली बहिनीसँगको, र ठाउँ पनि विशेष। खास भन्नु पर्दा आसामको सन्थेबाड़ीबाट उत्तर दादघारीसम्मको बाटो मेरोलागि पूर्णतः नयाँ थियो- जीवनको यो यात्रा खण्डमा मैले आँखा खोलेर, मन उघारेर बाटो वर परको दृश्य स्मृतिभरि अटाउने कोसिस गरेँ। माहिली मलाई ठाउँ ठाउँको परिचय दिइरहेकी थिई।
यो झन्डै चौबिस वर्षपछि मिलेको आकस्मिक अवसरमा बाटोभरि देखिएका, सुनिएका र भेटिएका अनेक दृश्य, शब्द र प्राकृतिक सृजनालाई सुन्ने, देख्ने र बुझ्ने कोसिस गरिरहेँ ।
अतीत किन प्यारो लाग्दो रहेछ मान्छेलाई, चाहे त्यो वर्तमान भन्दा दुखी र निम्छरो किन नहोस्। मेरो अतीत ब्युँझ्यो यहाँ – ढुङ्गा जोडेर बनाएको घर, अगेनोमा दाउरा बालेको आगो, बारीमा फलेका सिमी कोसा, सजिनाको बोटैबाट टिपेको कोसाको तरकारी| यो मेरो गाऊँ थिएन, तर मेरो उन्नाइस वर्षको गाउँले जीवनको झल्को दिन मनग्गे । म गाऊँ पुगेँ सुटुक्क, उन्नाइस वर्षसम्म मैले भोगेको सुख-दुखको जीवनको पाटोलाई पर्लक्क फर्काइदिने ठाउँ भेटेँ फेरि ।
म परदेशी छु त्यस मानेमा कि मलाई त्यहाँ बस्ने अधिकार अब छैन तर मन परदेशी छैन, पटक्कै बिरानो भएन । सबै चीजमा आफ्नोपनको छाया, देखे जति प्रकृतिमा हृदयको माया । आँखाभरि राख्न मिल्ने, कतै नबिझाउने ।
जनवरी महिनाको जाडो त्यो समथर जमिन माथि पाखामा ठोक्किने ठाउँसम्म पातलो लाग्यो- धाराको चिसो पानीले नुहाउन सकिने । मलाई त त्यो तिर्थको पवित्र स्नान थियो, त्यसैले पानी तताएर नुहाउने विलासी सोख राखिन ।
पहिलीको चुवाबारी र अहिलेको जिग्मेलिंग एउटा ठाउँको नाम हो, मान्छेको बस्ती हुँदा र नहुँदाको फरक । त्यहाँका सच्चा जमिन धनीहरूको उच्छेदन भएपछि अघिको उन्नतिलो जग्गा अहिले जङ्गल, उराठ लाग्दो ढुङ्गे बाँझो भएको रहेछ। त्यो बाँझो जमिनका धनी आज संसारका कुन कुनामा पुगे होलान्, मैले अनुमान सम्म गर्न सकिन त्यहाँ उभिएर । धनी अहिले अरू नै भएछन् – खेती गरेर उन्नति नगर्ने खालका जाति।
केही घर-परिवार त्यहीँ आफ्नो झिनो पहिचान खोजिरहेका थिए, साना घरका परिधिभित्र । त्यही पुर्ख्यौली माटो जोतिरहेका थिए, जङ्गली जनावरहरूसँग कुस्ती खेलिरहेका थिए । जलश्रोतको धनी देश भूटानले ७५ % भूमि जङ्गल राखेर जलश्रोत बेच्ने नीति राखेको छ – अथवा सफा ऊर्जाको खानी बन्ने लक्ष राखेको छ।
चुवाबरीमा भर्खरै एउटा विद्युत् वितरण केन्द्र घर बनेको रहेछ र एक मन्त्रीको भ्रमण परेको रहेछ त्यो दिन । त्यस विद्युत् केन्द्रबाट बङ्गलादेशसम्म विद्युत् वितरण गरिने रे भन्ने सुने मैले।
विश्वको ठुलो र विकसित मुलुकको दृष्टिकोणबाट त्यो प्राकृतिक जीवन शैलीलाई हेर्दा एउटा सिङ्गै युगको वारि पारि बिच फड्को मारेको जस्तो हुँदो रहेछ। वारिपट्टिको अत्याधुनिक इन्टरनेट सञ्जालले बनाइदिएको कृत्रिम दुनियाँमा जिउने शैली र पारिपट्टिको प्रकृतिको काखमा जिउने यथार्थ जीवनशैली यस युगका दुई ध्रुव जस्तै लाग्यो। यता उत्पादन र उपभोगतावादले मात्तिएको बजारमुखी जीवन, उता बस्तुहरूको अति मित्यवयी प्रयोग र प्रकृति संरक्षणमा जोड दिने जीवन यापन।
उतै बस्नेहरुकामा लेउ लागेको देखेँ, म भने एउटा परिवेशबाट अर्को परिवेशमा हाम्फाल्दै हिँडिरहेको छु। स्थिरता कहीँ छैन।
गएको नोभेम्बरमा त्यही ठाउँबाट एउटा भिडियो आयो मेसेन्जरमा – हात्तीको बथान हिँडेको । गेलेफु बजारमा एउटा हात्ती ब्याएको समाचार पनि आयो। यी जङ्गली जनावरहरू दक्षिण भुटानका पातलो मानव बस्तीतिर पसेर आतङ्क मच्चाएको त्यो सरकारलाई आनन्द लाग्दो रहेछ कि ! साना किसानले विद्युतको छेकारो लगाएर आफ्नो बाली जोगाउने प्रयास यी हात्तीका बथानलाई गिज्याएको जस्तो मात्रै हुँदो हो।
गेलेफुको पुरानो नाम हात्तीसार थियो रे, त्यहीँका पुराना बुढापाकाहरुको भनाइमा। साँचै इतिहास दोहोरिएछ। कति निडर र साहसी छन् ती गाउँलेहरू।
एक महिनाको बसाइमा फ़ुञ्चोलिङ् र जयगाउँका सडकहरूमा बरालियो, माथि गुम्बा र खरबन्दीको इन्जिनियरिङ कलेजका भवन, सडक, माने, राजाहरूका तस्बिर, प्रयोगशाला आदिको अवलोकन भ्रमण गर्न पाइयो भाइ भवानीका साथमा। धामडाँडामा मेरो गाउँका पूर्व हेडमास्टरको घरमा पाहुना लाग्न पुगियो, नचिताएको अवसर मिलेर । अचानक अर्को एउटा सन्जोग मिल्यो – साम्चीका एक बन्धुका घरमा रातको बास बस्ने। बहिनी पूर्णिमाको चिनजानका ती बन्धुको घर पनि धामडाँडा नै रहेछ। परिवारको आत्मीय र आदर भाव सहितको भोजन मिल्यो – खाट्टी नेपाली पाराको।
मेरो विदेश अनुभवका बारे निकै चाख लिएर सोधे उनीहरूले; मलाई पनि मेरो भोगाइको अनुभव बाँड्ने मौका पाएकोमा खूब आनन्द लाग्यो। दिग्गज भलाकुसारी भयो; साइनो लगाएर बोल्न पाइयो, पहिलो चोटि भेट हुँदा हुने अप्ठ्यारो नै भएन।
अघि हाइस्कूल पढ्दा फुन्चोलिङ्गमा बास बस्नु पर्थ्यो – होटेल कोठा बन्दोबस्त गरेर घुम्न निस्कँदा हावामा एक प्रकारको दुर्गन्ध मिसिएको हुन्थ्यो, कतै मादक पदार्थ त कतै ढलको ह्वास्स गन्धको सम्मिश्रण। अहिले त्यो केही पनि भेटिनँ; अशोक होटेलमा खाजा नास्ता खान जाँदा त्यहाँ न कुनै गन्ध थियो न झिँगाको झटारो आक्रमण।
फ़ुञ्चोलिङ् सहर निकै सफा र व्यवस्थित देखियो सँगै जोडिएको भारतको जयगाउँ सहर भन्दा। तर जयगाउँले भूटानीहरुलाई चाहिने सबै उपभोग्य वस्तु केही सस्तो भाउमा बेच्ने रहेछ। त्यसैले जयगाउँ भिडभाड, फोहोरी र निकै प्रदूषित रहेछ।
भारत भूटानको त्यस क्षेत्रमा अघि विद्यार्थी कालमा हिँडडुल गर्दा ठुलै सहर घुमेको भान हुन्थ्यो। सबै कुराहरू शहरिया लाग्थे। रमझमको दुनियाँ देखिन्थ्यो। अहिले त्यो खास केही लागेन। धेरै आफन्तहरू भेट्ने सुर थियो तर सबैसँग अवसर मिलेन। भेटेर गर्ने कुरा धेरै थियो, उनीहरूको गनासो सुन्ने मन थियो तर उनीहरू भन्न तयार थिएनन्। मलाई त्यो वातावरण एक हिसाबले पराया लाग्यो।
पढाई सिद्ध्याएर काममा लाग्न तयार केही कलेज उत्तीर्णहरूलाई राजाले नागरिक प्रमाण पत्र दिलाउने काम हुदैथियो। धेरै वर्षसम्म अनागरिक भएका बाबु आमाका छोरा छोरीलाई पनि पुन: नागरिक बनाइदिने राजाको यो कदम उचित लाग्यो। यसै मेसोमा म पाहुना लागेको एक घरका छोरा पनि परेका थिए। निकै पर्खाइ पछि पाएको यो नागरिक हुने अवसरमा खुसी थिए उनीहरू। तर मैले भेटेका एक ट्याक्सी चालक भने नागरिकता नपाएकोमा बाल बच्चाको भविष्य बारे चिन्तित थिए।
म कथा सुन्दै हिँडे, आँखाले भ्याएसम्म पढ्दै हिँडे। संस्मरणमा धेरै अघि चित्रित केही ठाउँहरूको ताजगी फोटो खिचियो। यहाँ भनिएका कथा थिए, नलेखिएका कथा थुप्रै थिए। म निर्जीव वस्तुमा पनि कथा खोजिरहेको थिएँ। कुनै वस्तुमा भेटेँ, कुनैमा पढ्ने फुर्सद मिलेन। जयगाउँबाट पानीट्यांकीसम्म चल्ने साना जिप गाडी अनि पानीट्यांकी नाका देखि नेपालको काकरभिट्टासम्म मान्छेले तान्ने रिक्सामा उही प्रवृत्ति बाँकी रहेछ।
त्यो प्रवृत्तिको कथा र कथाका पात्रहरूसँग म यात्रा गरिरहेको थिएँ, मानसपटलमा तिनको शब्द चित्र भरेर। अझ पश्चिम बङ्गालको रानिगंज भन्सार र नेपालको काँकडभिट्टा भन्सारमा कर्मचारीहरूले गर्ने आस वा बोल्ने शैली मैले जान्नु जरुरी थियो – त्यो पाटोमा केही लेख्न बाँकी छ।
म लेखक मन र पत्रकार आँखा लिएर शरणार्थी शिविरका केही दृश्यहरू कैद गर्न पुगेँ – छोडिएको कहानीलाई त्यो ठाउँका पूर्व बासिन्दासँग जोड्ने हेतुले। केही हदसम्म मैले त्यो लेख्न सकेँ। तर बग्रेल्ती अरू पीडाका कथा बाँकी रहेका छाप्रामा छोडिए। आशाको अवसान भएको ठाउँ मात्र भो त्यो अब।
चुवाबारीको उजाड रित्तो बस्ती र खुदुनाबारी शिविरको अवशेष, कालखण्डले छुट्ट्याएको तर एकै नियतिका दुई मानचित्र रहेछन् भन्ने बुझेँ मैले। एउटा जातिले आफ्नो पुर्खाको थलो छोडेर भौँतारिइदा कति हण्डर बेहोर्नु पर्छ र कति लाठी मुङ्ग्रि सहनु पर्छ भन्ने जिउँदो उदाहरण यी उजाडिएका बस्ती अवशेषबाट थाहा पाइन्छ।
कथा कहाँबाट सुरु गरौँ र यात्रामा भेटिएका कति पात्र र प्रवृत्तिलाई यो कथामा जोडौँ अनि यसको टुङ्गो कहाँ लगाऊँ, म निकै अन्योलमा छु। कथामा म कसैलाई अन्याय गर्न सक्तिन। तर सबैलाई न्याय दिलाउने क्षमता पनि मसँग छैन। विगतमा हाम्रा पुर्खाले आफ्नो थात थलो छोडेर अर्को मुलुकलाई आफ्नो घर बनाएकोमा हामी तिनलाई गाली गर्न सक्तैनौ। ती पुर्खाले जे गरे आँट गरेर गरे, पराक्रमी भएर गरे, अनि वीर जातिको परिचय दिए। तिनलाई अब लेखिने कथामा अतीतका दुश्चरित्र भन्नु घोर अन्याय हुन्छ- मेरो कथाको सिद्धान्त बमोजिम।
चुवाबारी बाँझो हुनुमा दोष हाम्रो पनि छ; गोशी जुनिअर हाइस्कूल बन्द भएकाले त्यहाँका विद्यार्थी गोठालो हुनुमा हामी पनि केही अंश जिम्मेवार छौँ। सत्य अट्ठाइस वर्ष पछि जस्ताको तस्तै छ, तर इतिहास नजान्नेलाई जान्नेले गुमराहमा राखेको मैले प्रत्यक्ष देखेँ।
भुरखोलाले चुवाबारीतिर निकै जमिन काटेर लगेको देख्दा, त्यही खोलाबाट उठाएको सानो कुलो सुकेर जीर्ण भएको देख्दा र मान्छे भएर पनि आधा जमिनमा खेती गर्न नसकेको देख्दा, मलाई तिनै पुर्खाको पौरख सम्झन मन लाग्यो।
यता हाम्रा आस लाग्दा सन्तानहरू क्रमशः त्यो भूमिसँग जोडिन वञ्चित भइरहेका र तिनै कर्मठ जिजु बाजेको इतिहास जान्नबाट वञ्चित भएको देख्दा देख्दै निरीह भएर गुमनाम बस्न बाध्य छु म।
सामाजिक सञ्जालको उत्ताउलो रङको छाया मुनि मेरो यो गन्थने लेखको के भाउ होला र, तैपनि लेखिहालेँ।