बरबाद् भयो
दुर्गा प्रसाद गुरागाईं
भिक्टोरिया अष्ट्रेलिया
धन मान जहान र सम्पतिको
तन वस्त्र भुजा वनिता पतिको ।
कति मोह छ यो निज सन्ततिको
तर भुल्छ सधैँ नर यो गतिको ।।१
जति लाभ भयो उति लोभ् गरियो
कति हत्पत छट् पटमा परियो
नत पेट सदा दिनलाइ भरियो।
किन जन्म यसै बरबाद् गरियो ।।२
हरि शम्भु रमा नत राम् जपियो
दिन दिन् यसरी भवमा फसियो ।
रस स्वादनले मुख पेट् भरियो
नर जन्म यसै बरबाद् गरियो।।३
रिस राग कतै छलछाम् गरियो
झुट पाप कपट् दिलमा भरियो ।
हरि चिन्तनमा नत चित्त गयो
तन मानव भूधर भार भयो ।।४
घर पुत्र सुता सुख हुन् भनियो
मन जञ्जिर बन्धनले कसियो ।
जनछन् सखि छन् भर हुन् भँनियो
अझ दल्दलमा तल गइ फँसियो।। ५
जति भर्न गएँ उति नै चुहियो
सपना विपना सब थ्यो तुहियो ।
सुख साधनमा मुख राल् चुहियो
नर जन्म यसै किन हो भुलियो।।६
नत सन्त र सज्जन साथ् हिँडियो
नत सुन्दर जीवन यो चिनियो।
लत भोग र वासनमा परि गो
नर जन्म यसै बरबाद् गरियो ।।७
नत कृष्ण कथा मनमा गुनियो
झुट अल्मलका बकवाद् सुनियो ।
अब अन्ध हटोस् नबनोस् गतिरोध्
सुभ कर्मपटी अब बुद्धि फिरोस् ।।८
ममता भरमा जनजाल् बुनियो
सुख आश गरी भडखाल् खनियो ।
हरि दैव दया गरि ज्ञान मिलोस्
सुभ कर्मपटी अब बुद्धि फिरोस् ।।९
नत चाह पुरा मनका गरियो
जति टाल्छु सधैँ उति प्वाल परि गो
मत दिक्क भएँ हरि दृष्टि दिनोस्
शुभ कर्मपटी अब बुद्धि फिरोस्।।१०
मन चन्चल भो मद मोह परी
तन झन् ढिकि झैँ अनिकाल सरी।
दिल चिन्तन यी मति मन्द भयो
नर जन्म यसै भर आयु गयो ।।११
गरि मार्ग सफा अब त्यो पछिको
नर राख सधैँ भय दुर्गतिको ।
दिन दिन् बुढिने नर देह छ यो
डर राख मनुज् अब आयु गयो ।।१२
छन्द – तोटक