बहस पहिचानको

स्तम्भकार

परदेशी कान्छा,
एट्लान्टा

गताङ्कको बाँकी अंश ………………

सन् २०१०, मार्च ८ तारिक, सोमबार, नारायण कट्टेलको नामले अर्को चिठ्ठी परदेशीको कम्प्युटरमा देखियो । लेखिएको थियो—
“हाइ भूटानी साथीहरु, ………….. जनगणना सम्बन्धि छलफल गत बेलुकी आयोजना गरेकामा धन्यवाद दिन चाहन्छु । चार घण्टा जति हामी बसे पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । बहुमतले अमेरिकी जनगणनाको प्रश्न ९ मा भूटानी लेख्न चाहे, थोरैले नेपालीमात्र लेख्न कर गरेका थिए । यही सन्दर्भमा मैले एउटा ई–मेल (सायद तपाईंहरुले पनि पाउनु भएको होला) अमेरिकास्थित नेपाली युवा संगठनले नेपाली मात्र लेख्न अनुरोध गर्दै पठाएको छ । मलाई विश्वास छ यस्तो जनचेतना, हाम्रो अमेरिकास्थित भूटानी जनसंख्यालाई पाच्य हुने छैन । यस्ता अभियानले हाम्रा जनताहरुमा अझ अन्यौल ल्याउँछ । विशेष गरी भर्खरै अमेरिकामा पूनर्वास भएका भूटानी शरणार्थी र जो नेपालीमूलका छन् उनीहरुलाई प्रश्न ९ ले अझ समस्या दिनेछ । संयुक्तराज्य जनगणनाको कार्यालयलको आशय विपरीत जातियताको गलत अर्थ लगाउने प्रयास अमेरिकास्थित नेपाली संगठनले गर्दै पो छ कि लागेको छ ।……….त्यसकारण कृपया प्रश्न ९ मा “भूटानी” अथवा “भूटानी—नेपाली” लेख्नु होला ।

यसरी नै देव शर्मा, नरेश राई, मनोज प्रधान, कमल दाहाल, संजय दाहाल, सरमान समाल, आदिका नामबाट क्रमशः परदेशीको कम्प्युटरमा चिठ्ठीहरु आइरहे । यसरी जनगणना सम्बन्धि आएका चिठ्ठीहरुमध्ये देव शर्मामा चिठ्ठीहरु अधिकांश थिए । उनका कुराहरु विवादस्पद देखिए । कुनै चिठ्ठीमा उनी भूटानी नेपाली देखिए त कुनैमा पूर्णरुपमा नेपाली भेटिए । यसरी कम्प्युटरमा आएका सम्पूर्ण चिठ्ठीहरु भविष्यमा गजबका दस्तावेज बन्ने ठह-याएर परदेशीले सुरक्षितरुपमा राखेको छ ।

वास्तवमा भूटानी नेपालीको पहिचान नै संकटग्रस्त छ । भूटानमा भूटानी नेपालीलाई “ल्होछम्पा” भनियो । यसको अर्थ भूटानको राष्ट्रिय भाषा जोङ्खामा “दक्षिणमा बस्ने मानिसहरु” भन्ने बुझिन्छ । भूटानी नेपाली भन्ने बुझिएन । भूटानमा कहिल्यै पनि “नेपाली” शब्द प्रयोग भएन । नेपालमा तिनै मानिसहरुलाई “भोटाङे” वा “भूटाने” भनियो । नेपाली विद्वान तथा बुद्धिजीविहरुले लिखितरुपमा पनि हामीलाई “भूटानी” नमानेर “भुटानी” माने । नेपाल सरकारले त झन् केही नभएको कङ्गाल “शरणार्थी” मान्यो । के मधेस, कुन पहाड? सबतिर पुगेर भूटानीहरुले नेपालमा अंग्रेजी शिक्षाको मियो गाडे । देशको इज्जत बढाइदिए । तर पनि ती शिक्षकहरुले आफ्नो पहिचान नेपालीसरह पाएनन् । हेय हुने त्रासले तनमा नेपाली आवरण ओढाए पनि सँधै भन्न लागिपरिरहे कि हामी “भूटानी नेपाली” हौं । पहिले हामी “भूटानी” हौं । जन्मनाताले । अनि हामी “भूटानी नेपाली” हौं । जातियताले । हामीलाई “भूटानी” अथवा “भूटानी नेपाली” दुवै शब्द पाच्य हुन्छन् ।

तेस्रो देशमा पुनर्वास गराउने संस्थाहरु र राज्यहरुलाई यो राम्ररी थाहा छ कि हामी नेपाली भाषी भूटानी हौं भनेर । त्यसकारण हामी “भूटानी” हुनाले पनि बिझ्दैनौं र “भूटानी नेपाली”हुनाले पनि घाटामा पर्दैनौं ।

“भूटानी” हुनमा हामी बिझ्दैनौं । किन भने हाम्रो जन्मनाता भूटानसँग छ । वर्तमान् सरकारले वर्तमानमा पुनर्वासमा आएका जनतालाई “भूटानी” नमाने पनि अझै यी जनताको वास्तविक पहिचान “भूटानी” नै हो । हाम्रा कतिपयः प्रमाणपत्रहरुमा पनि यो “भूटानी” शब्द अझै गाँसिएर जाने छ । हाम्रा तेस्रो मुलुकमा जन्मिएका सन्ततिहरुको पनि नाता भूटानसँग अवश्यै गाँसिने छ । हामीलाई यो शब्द नबिझ्नुको कारण “जननी जम्मभूमिश्च स्वर्गाऽदपि गरियसी” को नाता पनि हो । सरकारले हामीलाई अनाखो देखे पनि माटोले देखेको होइन र त्यो हुन पनि सक्तैन ।

“भूटानी नेपाली” हुनाले पनि हामी घाटामा पर्दैनौं । हामीले हामीलाई पूर्ण पहिचानको नेपाली नमाने पनि नेपाली भाषी हौं । नेपाली संस्कार चलाउँछौं । हाम्रो भेषभूषा पनि नेपालीकै छ । हामीमा नेपालबाट भूटान गएका पूर्खाको रगत बग्दै आएको छ । हाम्रा अंग्रेजी नबोल्ने अग्रजहरुलाई सार्वजनिक सुविधा लिन नेपाली दोभाषे नै चाहिन्छ । हाम्रो समाजबाट अपेक्षा गरेको संस्कृतिमा पनि हामी नेपालीसरह नै पस्किन्छौं । त्यसैले हामी भूटानी मात्र नभएर नेपाली पनि हौं ।

तेस्रो देशमा पनि अमेरिकाजस्तो विशाल देशमा “भूटानी” मात्र भएर पनि अलग्गिन सङ्कीर्ण विचार हुन जाला । किन भने हामीले बोल्ने, लेख्ने र मनाउने साँस्कृतिक्तामा उही नेपालीपन झल्किन्छ, जुन नेपालबाट आएका नेपालीले झल्काउने गर्दछन् । केही समयभित्रैमा हाम्रा नानीहरुले पढ्ने विद्यालयहरुमा दोस्रो भाषा स्पेनिस, फ्रेन्च, आदि पढाउनुको सट्टा नेपालका नेपालीहरुसँगको तारतम्यतामा नेपाली भाषा पढाउन सहज हुन सक्तछ । यसो हुनाले हाम्रो भाषाको संरक्षण, हाम्रा जनताले विद्यालयमा रोजगारी पाउनेदेखि लिएर संस्कृतिको वचाउमा केही हद टेवा पुग्न सक्तछ । सामूदायिक पनमा नेपालका नेपाली र भूटानी नेपाली बीच जे जस्तो विभिन्नता रहे पनि भाषिक, सांस्कृतिक र भेषभूषाले भने हामी अलग हुन सक्तैनौं । हाम्रो समूदायले यी दुवै शब्द “भूटानी” र “भूटानी नेपाली” लाई पर्यायकारुपमा चलाउनु पर्दछ भन्ने परदेशीको व्यक्तिगत ठहर छ ।

One Reply to “बहस पहिचानको”

  1. loknath Adhikari

    when i went the bhutanese literature it feels that i m still in my own country.i appreciate the dedication of bhutanese friends who worked hard to take our hearts back to our motherland.

Leave a Reply

Your email address will not be published. Required fields are marked *