बाउन्डरी सर्भे पछि बलास्टिन पड्काएँ
अम्बिका प्रसाद दुलाल
एड्लेड अस्ट्रलिया
परिचय: – आर.बी.मगर अर्थात रनबहादुर मगर तर जन्तरे मेम्बर को नामले प्रख्यात।
जन्म थलो चिरागंको लब्सिबोटे उमेर ८२ वर्ष (सन् २००५ मा)।
उनि थिए हँसिलो मिजासका, सारै रौसे। अलि होचो कदका, फुर्तिला तर हक्की। सानै उमेर देखि तात्कालीन अफिसरका प्यारो भए, चपरासी पद पाए अनि घोडा खेपे। गान्टोक सिक्किममा ब्लास्टिन पडकाउने तालिम पाए, मन लाएर सिके। उनि गर्व गर्थे भूटानको पहिलो ब्लास्टिन पडकाउने व्यक्ति भएकोमा। धेरै मानिसका प्यारा थिए; राष्ट्रिय सभा सदस्यमा मनोनित भए; जिल्लाका मानिसहरुको दु:ख पीडा सभामा बिसाए। ठेक्का पट्टा गरे। सरभाङ चिराङको बाटो खन्दा सबैभन्दा अफ्ठ्यारो भीरको ठेक्का लिए, पार गराए। त्यो भीरको नाम बस्यो ‘जन्तरे भीर’। सरकारी आँखाको तारो भए, बनिए शरणार्थी। नेपाल पुगे, शनिस्चरे क्याम्पमा बसे। प्यारालाइजले थलिए सारै सिकिस्त भए। केहि वर्ष पछि लौरोको सहाराले अलि अलि हिँड्न सक्ने भए, रयाल चुहिरहने लटपटिएको बोली केहि नबुझिने। अनि जिन्दगिको अन्तिम श्वास पनि त्यहि क्याम्पमा लिए।
द्रष्टव्य: – यो लेख अगस्ट/सेप्टेम्बर २००५ मा प्रश्न राख्दै सान्दर्भिक उत्तर टिपोट गर्दै तयार पारिएको हो। यो संस्मरण उनैले लेखे जस्तो गरी तयार पारिएको छ। सान्दर्भिक कुरा थाल्नु अघि उनले यो शर्त राखे, “मेरो फोटो सहितको कथा पत्र पत्रिकामा छापिदिने भनेर राजा, मन्त्री, ठूल्ठूला अफिसर अनि विदेशका राजनेताहरु सँग खिचेका फोटोहरु, धेरै जनाले लगे। मेरो कुरा छापिदिनु त कता हो कता ती फोटोहरु सामेत गायब गरिदिए। बडो मेहेनतले कमाएको मेरो गर्वको निशानी सबै निमिट्यान्न पारिदिए। तिमीले मेरो कुरा छाप्छौ भन्ने विश्वास त छैन तर पनि फोटो नखिच्ने अनि नमाग्ने हो भने जे सोध्छौ मैले भोगेका कुरा बताइदिन सक्छु” भने। मैले स्विकार गरेँ। पछि प्रकाशित प्रति उँहाको हातमा थमाउँदा, ‘तिमी त मान्छे पक्का रहेछौ नी हौ, के गर्नु र मैले फोटो दिँइन,’ भनेर चुक चुक गरे। अरु वृद्धहरुको संस्मरण सङकलन् गर्दा पनि उहाँको त्यो शर्तलाई मान्यता दिँए। फोटो कसैबाट पनि लिइन। अहिले मलाई थक थक लागेको छ। उहाँकी कान्छी बुहारी श्रीमति गङ्गा पुलामीलाई जन्तरेज्यूबाट प्रष्ट नभएका कुराहरु अर्थ्याइदिएर यो लेख लेख्न भरपूर सहयोग गर्नु भएकोमा विशेष धन्यवाद सहित। – -प्रस्तोता।
शान्ती संघर्ष वर्ष १ अङ्क ६ अक्टोबर २००५ बाट साभार तथा परिमार्जित।
रेन्जर गम्फू दोर्जीले चपरासी पदमा नियुक्ति दिए सन् १९३६ मा। म त्यसबेला जुँगाको रेखी पनि नबसेको १३ वर्षको कलिलो ठिटो थिँए। गम्फू बाउ घोडामा सवार भैरहन्थ्यो चिराङ देखि सरभाङ सम्म। मैले उनको घोडा डोरयाउनु पर्थ्यो; घाँस दाना दिनु पर्थ्यो र उनीसँगै हिड्नु पर्थ्यो। उनी कालेबुङ गएको अवधिमा र चिराङ – सर्भाङ बाहेक अन्यत्र ठाँउको भ्रमणमा भएका बेला उनको घोडा मैले आफ्नै घरमा राखेर देखरेख गर्नु पर्थ्यो। एवं रीतले उनीसित ५ वर्ष बित्यो तलब मासिक रु.५/- मा। त्यसपछि उनी आफ्नै ठाउँ कालेबुङतिरै फर्किए।
मेरो नोकरी टुटेन। बाउन्डरी सर्भे अफिसर डुबा बाउले मलाइ लिए पुरानै तलबमा। इन्डो–भुटान सर्भेयर टोलीमा मैले उनीसँगै हिँडनु पर्यो। भुटान–भारतको पहिले लगाइएको सिमाना ठिक छ वा छैन भनी जाँच गर्नु पर्ने सरकारी आदेश थियो। त्यसलाई “दोहोरो सर्भे” नाम दिइएको थियो। यो कुरा सन् १९४२/४३ तिरको हो।
भारतको तर्फबाट अलिपुरद्वारका एकजना बाउन्डरी सर्भे अफिसर तथा अन्य धेरै जना कर्मचारीहरु थिए। पहिले पश्चिमको अन्तिम सिमाना जाँच गर्यौँ जलढका नदिको किनारमा। त्यसपछि पूर्वतर्फका सिमाना खुट्टिहरु एक पछि अर्को जाँच गर्दै पूर्वको अन्तिम सिमाना धनसिरी नदि सम्म पुर्यायौँ।
सिमानाका रुपमा सिमेन्टका खुट्टिहरु थिए, दुइ फिट गहिरो गाडिएका र पाँच फिट जति अग्ला। बाउन्डरी लाइनमा पुरै झोड्नी गर्नु पर्यो। बाउन्डरी पोइन्ट कम्पास र स्केल मिलाएर जाँच गरीन्थ्यो। हरेक बाउन्डरी खुट्टी नक्सा अनुसार ठिक जाँचपछि दुवै देशका अफिसरद्वारा कागजमा हस्ताक्षर सम्पन्न हुन्थ्यो। हामीलाई त्यो जाँच कार्य सिध्याउन दुई वर्ष लाग्यो।
हालको यो बाउन्डरी रेखा कहिले लाइएको थियो मैले थाहा पाउनु सकिन। त्यो दोहोरो सर्भेको क्रममा बास बसेका बेला पहिलेको सिमाना बारे चर्चा चल्ने गर्थ्यो। त्यो बातचितको शिलशीलामा पहिले भुटानको पश्चिम सिमाना शिलगढि रहेछ भन्ने थाहा पाएँ। त्यसदेखि पूर्वतर्फ जलपाइगढि, मैनागढि हुँदै अलिपुरद्वार पनि रहेछ पहिलेको भुटान। त्यसपछि अझ पूर्वमा धुब्री, ग्वालपाडा, बरपेटा, मथङगढि, रङ्ग्या अनि ताङ्ला हुँदै पूर्वको अन्तिम सिमाना ओदालगढि रहेछ।
ती ठाउँहरुमध्ये कुनै कुनै ठाउँमा साना साना घरहरु थिए जसका भित्तामा भुटान हाउस भनी लेखिएका थिए। अझ ती घरका बाहिरी भित्तामा धेरै टाडाबाट देखिने गरी काँडको चित्र कोरिएका जसमा पूर्वदेखि पश्चिम दिशा देखाइएका थिए। ती भुटान हाउस नाम गरिएका घरदेखि उत्तरको भूभाग भुटान अनि दक्षिण तर्फको भूभाग भारत हो भनी स्पष्टसँग दर्शाइएका थिए भन्ने कुराहरु प्रसंगवश हाम्रा गफमा निस्किरहन्थे।
हाम्रो यति ठूलो देश कसरी साँघुरियो होला ! भन्ने तर्क मेरो मनमा खेलिरहान्थ्यो। पछि सन् १९५८ मा राष्ट्रिय सभा सदस्यको हैसियतबाट सभामा एकपल्ट मैले यो विषयबारे जान्ने उत्सुकता जाहेर गरेको थिएँ। आफूभन्दा पहिलेका राजाहरुबाट त्यो भूभाग सन्धि सम्झैता गरी ब्रिटिसद्वारा शासन गरिएको भारत सरकारलाई जिम्मा दिइएको हुँदा त्यो बारे हामीले खोजी निधि गर्नु उचित नहुने बेहोरा मौसुफ सरकार जिग्मे दोर्जी वाङचुकबाट जानकारि गराइ बक्सेको थियो। मेरो मनको खुल्दुली त्यहीँ मेटियो।
विक्रम सम्बत २०००मा डुबा बाउसित म फेरि भुटान – सिक्किम बाउन्डरी जाँचमा गएँ। त्यसबेला म २० वर्ष उमेरको थिएँ। सिक्किमका सर्भे अफिसर बाबु तिलकसिँह सँगै थिए। वैसाख महिना लागेको थियो। १५ जनाको टोलि भएर दशवटा खच्चर लिएर थिम्पूबाट यात्रा शुरु गर्यौँ। पारो र हाको बाटो हुँदै पहिले हामी भुटान – सिक्किम बोर्डर छारीथाङ पुग्यौँ। त्यहाँ हामी क्याम्प हालेर १५ दिन जति बस्यौँ। सिक्किमको पूर्व र भुटानको पश्चिमका हिम चुचुराहरु औँल्याएर सिमाना रेखङ्कित गर्ने काम भयो। दूर्वीनले हेर्दै साथमा लिएर गएको नक्शा अनुसारका चुचुराहरुको नाम पहिचान गरीयो। पुन: नक्शा उतार्ने काम भयो। दुवै तर्फका टोली प्रमुखहरु भौगोलिक चुचुरा अनुसार नक्शामा उतारिएको रेखाहरुमा स्पष्टसँग सहमति भएपछि क्याम्प सार्ने काम हुन्थ्यो।
अर्को क्याम्प यातुङमा हाल्यौँ। दुई महिना बस्यौँ। तुर्सा खोलाको धापमा अवस्थित दुवैपटिको किनारको गाउँलाई यातुङ भनिन्थ्यो। त्यसपछि हामी छुम्बिथाङ भएर नाथुला गयौँ। १५ फिट जति हिँउले पुरिएको ठाउँ थियो त्यो। बाह्रैमास हिउँ नबिलाउने ठाउँ। नाथुला टपमा एउटा गेस्ट हाउस थियो, दुई दिन त्यहीँ बस्यौँ र सिमाना हेर्ने अनि स्केच गर्ने काम गर्यौँ। नाथुला टपलाई छेरेप्थाङ पनि भनिन्थ्यो। त्यहाँबाट हामी गान्टोकतर्फ लाग्यौँ- छङ्गु पोखरीको बाटो भएर। नाथुला हिमालकै उत्तर पटिको पाटोमा अवस्थित छङ्गु पोखरी सम्पूर्ण हिउँले ढाकिएको थियो, पानी देखिँदैनथ्यो। रम्फू खोलाको मुहान त्यहि पोखरी रहेछ।
६ महिनाको त्यो सर्भे यात्रापछि हामी गान्टोक निस्कियौँ। त्यहाँ ६ महिना अघि ससुराले लेखेको चिट्ठी पाएँ। जेठो छोरो पूर्णबहादुर जन्मेको सन्देश रहेछ। डेढ महिनाको छुट्टि लिएर घर गएँ। अरु सबैलाई त्यहीँबाट बिदा दिइयो तर मलाई छुट्टि पछि फेरि गान्टोकमै हाजिर हुनुपर्ने आदेश भयो डुबा बाउबाट। फर्केर गान्टोक पुगेको ६ दिन पछि कालेबुङबाट कुमार साहेब जिग्मी पाल्देन दोर्जी आइपुग्नु भयो। उहाँले मलाइ सिक्किमका सिनियर इन्जिनीयर जाली साहेबबाट ब्लास्टिन बनाउने पडकाउने तालीम लिनु भन्नु भयो। मेरो मासिक तलब त्यसै दिन देखि रु.५/- बाट एकैचोटि रु.६०/- बनाइदिनु भयो। त्यसबेला रु.१/- मा १२ सेर चामल पाइन्थ्यो। मैले त्यहिँ बसेर ६ महिनामा ब्लास्टिनको तालीम सिध्याएँ।
यो तालीमको चमत्कार मैले ताला भुटानको भारतीय सीमा बक्साद्वार देखि चिमाकोठी सम्म पुर्याउने बाटोमा देखाउनु पर्ने भयो। त्यहाँ घोडे बाटो खन्ने निश्चय भएको रहेछ। आदेश अनुसार मैले २४ भारी ब्लास्टिन लिएर गान्टोक देखि गेल सम्म ल्याएँ। त्यसबेला जलपाइगढि देखि टिस्टा छेउ गेल खोला सम्म सानो रेल चल्थ्यो। सामान रेल्वे स्टेशनमा राखेर म कुमार साहेबलाई भेट्न कालेबुङ गएँ। सामान रेलबाटै लानु भन्ने आदेश भयो। गेल फर्केर स्टेशन मास्टरलाई अनुरोध गरेँ। उनले सामान बुक गर्नु मानेनन्। के सामान हो? कहाँबाट ल्याको; कहाँ लाने? आदि प्रश्नहरु सोधे। सामान भुटान एजेन्टको हो, सिक्किमबाट ल्याको, बक्साद्वार लाने तर यी बक्सा भित्र के सामान छ त्यो चैँ मलाइ थाहा छैन भनेँ। तापनि उनले रेलबाट लाने अनुमति दिएनन्।
म फेरि कालेबुङ गएँ। कुमार साहेबले लोरीबाट लानु भनेर आदेश दिनु भयो। (त्यसबेला ट्रक, बस आदि गाडीलाई लोरी भनिन्थ्यो – प्रस्तोता।) कुचबिहार सम्मको लागि रु.१५०/-मा लोरी बन्दोबस्त गरेँ। सामान काठका बाकसभित्र प्याक थिए। प्रत्येक बाकस ३० किलो ओजनका थिए। पहिलो दिन लोरी जलपाइगढि सम्म मात्र पुग्न सक्यो। त्यहिँ बास बसेँ। त्यसबेला टिस्टामा सुबुकको बाघ पुल बनिएको थिएन। टिस्टा शहर छेउको बडा पुल मात्र थियो।
भोलिपल्ट कुचबिहारमा सामान उतारेँ। त्यहाँबाट उँभो जाने गाडीको बाटो थिएन। अर्को दिन दुईवटा गोरुगाडा बन्दोबस्त गरेर राजाभातखावा देखि अलिक माथि गोरुगाडाको बाटो भए सम्म अठाइस भन्ने ठाउँमा पुर्याएँ सामान। त्यहाँ एकजना परिचित दीदीका घरमा सामान थन्क्याएर म ताला गएँ। तालामा आले मण्डल थिए, २८ जना मान्छे लिएर सामान लिन अठाइसमा उनि पनि आए। एकोहोरो पैदल दुई दिनको बाटो।
विक्रम सम्बत २००० अन्त हुनै लागेको थियो र सन् १९४४को कुरो हो यो। ताला ब्लकको भारतसित सीमा जोडिएको ठाउँदेखि घोडे बाटो खन्ने काम शुरु भैसकेको थियो। यो कामका लागि बेगारमा छुका, चाप्चा र ताला ब्लकका मानिसहरु खटिएका थिए। तालामा क्याम्प बसाइएको थियो। नाक्तु बाउ, दो छिरिङ बाउ र डुबा छिरिङ बाउहरु त्यहिँ थिए। हप्ता दिन पछि कुमार साहेब पनि त्यहिँ पुग्नु भयो। मैले उहाँसित त्यहिँ बस्नु पर्यो।
त्यो घोडे बाटो ६ फीट चौडाको खनिएको थियो। सिध्याउन तीन वर्ष लाग्यो। त्यो नसिद्धिउन्जेल सम्म बेगारीहरुबाट चट्टान खोपेर होल पारिए पछि ब्लास्टिनको ढिँडो भर्ने काम म गरिदिन्थेँ। केप मिलाई ब्लास्टिन सल्काएर पड्काउने काम पनि मेरै थियो॥