बालमत्लब !

रमेश दियाली,
ओहायो, अमेरिका

“बिस्तारै बो..ल , शान्ति मिल्छ । बोल्न त मलाई पनि आउँछ । भनिन्छ नि व्यवहारले चिनिन्छ रे मान्छे।”
उनी आँखीभौँ तन्काउँदै बोलिन्- “बाल मतलब ! मेरो बाउ-आमाको सम्पत्तिमा रजाइँ गरेका छौ।”
निधार अलिकति खुम्च्याउँदै , कानमा सिउरेको कपाल गालासम्म आउँदै गर्दा पुनः टाउको झट्कारेर बोलिन्- “त्यो औँठी, जुन त्यो तिम्रो औँलामा छ नि? त्यो पनि पोहोर सालको दसैँमा बाले दिएको ।”
“तिमीले भन्न खोजेको के? ” सोध्न मन लागेको थियो तर सोधिन । मेरो अनुहारमा निराशाका रङ्गहरू एकाएक पोतिए ।
‘आदर र मर्यादा हुन्छ नि पतिको, विवाह पछि पनि।’ मनमनै यसो भनिरहँदा आँसुहरू बर्वती खसे। संमाहलीन खोजेँ। केही बोल्न र भन्न मन लागेन तर यसको मतलब यो होइन की म मौन छु ।
“म धेरै टाढा गई सकेको हुनेछु।”- आफूलाई रोक्न खोज्दा खोज्दै फुत्त मुखबाट फुत्की हाल्यो। मलाई पुलुक्क हेरिन्।
“अनि तिमीले मेरो महत्त्व बुझ्ने छौ। खुब रुने छौ।”
“मलाई बाल मतलब”- तल्लो ओठ लोपारदै बोलिन्।
कतिन्जेल हो हेरौँ न? अरूको आडमा यस्तो चुरी फुरी?
मैले बुझ्न नसकेको विवाह ! विवाह भनेको त बिजुलीको करेन्ट जस्तै रहेछ, सही तार जोडियो भने उज्यालो हुने र गलत तार जोडियो भने झट्कै झट्का मात्र लाग्ने , पुरै अन्धकार।

“विवाह भनेको त बिजुलीको करेन्ट जस्तै रहेछ, सही तार जोडियो भने उज्यालो हुने र गलत तार जोडियो भने झट्कै झट्का मात्र लाग्ने , पुरै अन्धकार।”

कोही भन्छन् संसार विश्वासले चल्छ त कोही प्रेमले तर हामीहरू बिच यो सबै हुँदा हुँदै पनि घरी घरी परीक्षा हुन्थ्यो। जिन्दगीका हरेक बिहान नयॉ सर्तहरू लिएर काममा जानु पर्ने अनि हरेक साँझ नयाँ पुराना बहानामा झगडा गर्नु पर्ने।
उनी अनि मेरो प्रेम, यस्तरी नै चल्दै आएको थियो अहिलेसम्म ।
एक साँझ घाम डुब्न लागेको थियो। म मस्त धुवाँमा आफूलाई हराई रहेको रहेछु। सिगरेटका टुक्राहरूले गिज्याउँदै थिए। छेउमै एयास्ट्रे, त्यो पनि आफ्नै अपार्ट्मेन्ट अगाडी। “ड्याडी सुत्न जाउँन ?” झसङ्ग झस्केँ ।
सिगरेट चोर औँलाको बिचबाट फ्यात्त भुइँमा खस्यो । सिगरेटको ठुटालाई पैतालाले कुल्चँदै गर्दा छोरीले मेरो हात समातिन्। कलिलो बाल मष्तिक अनि कलिला हात। कति निश्चल र निर्दोष अनुहार। “साना-साना कोपिला हामी…., “। फोनको रिङ्ग बज्यो। छोरी मुसुक्क हाँसिन्। साँच्चै भन्नु पर्दा छोरीको मन पर्ने गीत, साना-साना कोपिला हामी…. फोन उठाएँ । विनोद रहेछ। हामी एउटै कम्पनीमा काम गर्छौँ।
“अ भन्।” हतारिँदै विनोद बोल्यो । “भोलि म तलाई पिकप गर्न आउँदिन है।”
किन भन्नै पाइन, फोन काट्यो। विनोद र मेरो परिवार सँग सँगै जसो अमेरिका आएको। आज विनोद सँग गाडी, ल्यापटप, आईफोन खै के के हो के के छ। दिनौ देखाउँछ तर म सधैँ रित्तो।
बुढा बा , उमेरको हिसाबले ६० नाघेका। हनुमान चालिसा पढिरा’छन् । टि:भीमा तिजको गीत आइरा’छ । छेउमै आमा तरकारी काट्दै गर्दा हात काट्यो । आमा मक्खै तिजको गीतमा, हात काटेको सम्म पत्तै भएनछ। मलाई थाहा थियो भित्र उनी हिन्दी सिरियलमा मस्त छिन्। बा दमको रोगी छन्। जुत्ताको लेस फुकाल्दै गर्दा बाको खबर सोधेँ।
“आज डाक्टर एपोइन्ट्मेन्ट थियो, गयौ बा? ”
आवाज एकदमै भिन्न थियो। हनुमान चालिसा बन्द गर्दै बा बोले। “खै कसले लगिदिने? बुहारीलाई भनेको, खै के काम छ भन्दै कोठाभित्र पसी।”
बा भन्दै थिए , “सपना कहिल्यै राम्रो देख्दिन बाबु?”
छोरीले हाँछीऊ गरिन् , सब्जी डढेछ। पानी हाल्दै आमा बोलिन् – “खै के भएको आजकल ? सुद्धी पनि हराई सकेछ।”
कोठाभित्र स्वाट्ट पसेँ । उनी त च्याट गर्दा गर्दै निदाईछ्न्। फेसबुकको इन्बक्स भरि मेसेजहरू छरपष्ट। गुड नाइटको जवाफ अन्तिम मेसेज कपिल बस्नेतको रहेछ ।
“हजार जुनीसम्म खोजी बसेँ तिमीलाई,
माया मेरो युग युगौँसम्म तिमीलाई दिएँ, तिमीलाई..”
उनको मोबाइलमा मधुरो आवाजमा गीत बजी रहेको थियो। म एक छिन अलमल्ल परेँ । छोरी दगुरेर आइन्। “ममी……….” उनी उठिन्।
हत्त न पत्त  फेसबुकबाट लगआउट गर्दै गर्दा गीत पनि सकियो। कोठा सुनसान भयो। शरीर भरि काँडा उम्रेर आयो।
छोरी उनको काखमा बस्दै गर्दा मैले सोधे- “बाको डाक्टर चेक थियो आज, किन नलगेको?”
सिलिइंग तिर हेर्दै बोलिन् -“बाल मतलब”।
कनसिरी तातेर आयो। सुरु भई हाल्यो झगडा। सुनेको थिएँ, रिसको र रिसाउनेको कुनै ओखती छैन। विनम्र पूर्वक शिर झुकाउँदै गर्दा “मलाई डिभोर्स दे” भनिन्।
म भन्दै थिएँ – “म झुक्न मन पराउँछु। तिमी टुट्न मन पराउँछौ। जब तिमी झिँगाको सङ्गत गर्छौ, उसले तिमीलाई फोहोर तिर लैजान्छ, फूलतिर जाने हो भने माहुरीको सङ्गत गर।”
“बाल मतलब”।

त्यो रात ओल्टे कोल्टे हुँदा हुँदै बिहान खेरि झपक्क निदाएछु। सिमसिम पानी पर्दै गर्दा म सेतो घोडामा चढेर गइरहेको थिएँ । झल्याँस्स बिउँझे, बिहानको ११ बजी सकेछ। सपना पनि कस्तो। जिउ तन्काउँदै गर्दा भित्तामा सजाई राखेको फोटोमा आँखा गयो। छोरी जन्मेको वर्ष खिचेको। उनले मेरो कुममा हात राखेको थिइन् र छोरी मेरो काखमा।
आमा ओछ्यानमै चिया लिएर आइन्। सधैँ भन्दा अलिक भिन्न थियो अनुहार। चियाको चुस्की सँगै “आमा सन्चै छौ?” मैले आमालाई सोधेँ । मैले आमालाई यस्तो सोधीरहदा छोरीलाई सम्झें। खुब सम्झें।
“आमा ! छोरी खै?” मेरो जिज्ञासा राखेँ ।
आमा हिकहिक हिकहिक रुँदै बोलिन्।- “बुहारीले छोरीलाई लिएर बिहानै माइत गई। भन्दै थिई, अब कहिल्यै नआउने रे !”
चिया सर्क्यो ! आँखाबाट कति बेला आँसु चुहिएछ, पत्तै भएन। आमालाई गर्लम्म अँगालो हालेँ । खुब रोएँ । कति प्राय कुराहरू देखेको पनि असत्य हुन्छन्।
आमालाई सम्झाउँदै भनेँ- “बुहारी छोरीलाई लिएर आउछिन्।”
आमा भन्दै थिइन्- “बालाई दम बढेछ।”
इन्हेलर मुखमा लाउँदै गर्दा छाती तल माथि गरेको प्रस्टै देखिन्थ्यो । प्रेसर पनि ह्वात्तै बढेछ। म सिगरेट सल्काएर धुवा फ्याक्तै गर्दा बा अनायास भूईमा लडे।
“लौ न के भो बालाई” भन्दै पानी टाउकोमा हाल्दै गर्दा मैले 911कल गरेँ। स्विडिस मेडिकल सेन्टरको वार्ड न० २१२२ मा राखियो।
“साना साना कोपिला हामी… ” मोबाइलको रिङ्ग बज्यो। छोरीलाई नसम्झी रहन सकिनँ। छिमेकी रिजाल बा रहेछन्।
“तिम्री आमा सिँढीबाट लडिछन्, खै खुट्टा भचिन् की क्या हो” भन्दै थिए।
मेरो त बोली नै बन्द भएछ। केही सोध्नै सकिन, न त सोच्नै सकेँ। मलाई मात्र किन यस्तो ? मन बाहेक को थियो र? मन मनै भनेँ। दगुरेर घर आएँ । रिजाल बाले पानी फुक्दै रहेछन्। आमाको देब्रे पैताला देखि घुँडासम्म डम्म सुन्निएछ । छेउमै गएर खुट्टा माड्दै गर्दा आमाले मेरो गालामा सुम्सुयाईन्।
“अलिक विसेक भो आमा। तिमी चिन्ता नगर, म छु नि”- भन्दै गर्दा आमाले लामो सास फेरिन् ।

बाजा बजाउनै पर्छ र? कति न मैले यिनीहरूलाई जन्तीमा बोलाए झैँ? रगत चुसेर जाओन चुपचाप। गर्मीको मौसम हुँदो हो। ताराहरूको उज्यालोमा अस्पताल बाहिर एक्लै बसी रहेको छु। सिगरेट सल्काउँदै गर्दा देब्रे हातको पन्जाले आफ्नै गालामा जोडले हिर्काएँ। एउटा उडेर गयो अर्को भुइँमा ढल्यो। धत्तेरी !! यी लामखुट्टेहरू पनि कति बेइमानी!!!
डाक्टरी जाँचबुझ अझै सकिएको थिएन। अल्ट्रासाउण्ड अरे? कताको रगत जाँच , दिशा पिसाब, कता के के गर्दा गर्दै दिन फुत्त बित्थ्यो। आज बालाई कोठा सारिएको छ। पहिलाको कोठा भन्दा ठिक एक तला मुनी वाड न: १५२५। २४सै घण्टा एक नर्स बासँगै हुन्थिन् । गोरो अनुहार , छोटो कपाल, अलिक मोटी र बोल्ने भाषा भिन्नै। कहिले काहीँ म लुकेर हेरी दिन्थेँ। बस !! हेरी मात्रा दिन्थेँ। के खान्छन् र यस्ता सेता यी गोरेहरू? यी गोरेहरू कति धेरै धनी हुन्छन् होला हगि ? मनमनै यसो सोची रहँदा मेरो कानमा बाको आवाज आयो।
“आ…ईय…!” मैले आँखा बन्द गरे।
नर्सले सुई लगाउँदै थिइन् बालाई। छोरीलाई सम्झेँ । एक पटक छोरीलाई सुई लगाउँदै गर्दा खुब रोएकी थिइन्। मलाई पनि दुखेछ। साँच्चै भन्नु पर्दा सुई देखि मलाई घृणा थियो। छोरी रुँदा मेरो आँखामा आशुको ठिक्क जमिन्थ्यो । बालाई हेरेँ। झपक्क निदाएछन्। नर्स बाहिरिइन्।
म बुद्धको सन्देश किताब पढ्न थाले। यस्तो किताबहरू म सानै देखी पढ्थे। उपन्यासमा पटक्कै मन थिएन , सकभर पढ्दिन थिएँ। विष के हो? बुद्धले निक्कै सुन्दर जवाफ दिए। चित्त बुझ्यो। हर चिज जुन जीवनमा आवश्यकता भन्दा अधिक हुन्छ त्यो नै विष हो। दोहोर्याएर पढेँ । चाहे त्यो तागत होस्, धन होस, भोक होस, लालच होस, अभिमान होस, प्रेम होस, या त धृणा होस आवश्यकता भन्दा बडी त्यो विष नै हो।

“हर चिज जुन जीवनमा आवश्यकता भन्दा अधिक हुन्छ त्यो नै विष हो। ………..। चाहे त्यो तागत होस्, धन होस, भोक होस, लालच होस, अभिमान होस, प्रेम होस, या त धृणा होस आवश्यकता भन्दा बड़ी त्यो विष नै हो। “

अझ गहिरिएर पढ्न मन लाग्यो। मन छोयो की म पटक पटक एउटै किताब पढ्ने गर्छु। जब म एक्लो हुन्थे बी.पीको “सुम्निमा”, सत्य र असत्यको तराजुमा राखेर जोख्न नमिलेको किताब धेरै भन्दा धेरै पढेको छु। मनमा एउटा चित्र कोरियो। साँच्चै चित्र र चरित्र एकै सिक्काको दुई पाटा हुन की जस्तो लाग्छ। भित्तामा सजाए अमर हुन्छ , बजारमा राखे व्यापार। जिन्दगी सधैँ अनिश्चित यात्रामा हिँड्ने झोलीतुम्बा कसिएको यात्री झैँ लाग्छ, हो पनि। मान्छे जहाँ पनि जावोस, हावामा, हिउँमा आफ्नो समस्याको एक टुक्रा लिएर आगोको राप झैँ भौतारी रहँदो रहेछ। केही उदास, केही भावुक भएछु। जे गरे सही, गरी रा’छु जस्तो लाग्छ। जे छु म आफ्नो लागि ठिक छु।

बालाई पुलुक्क हेरेँ । बा मस्त निदाई रहेका थिए। मलाई पछुतोले घाटीसम्म आएर अवरोध र विरोध गर्‍यो । मलाई पछुतो यस अर्थमा थियो की मैले बा-आमालाई कहिल्यै सुख र शान्ति दिन सकिनँ। मलाई ठ्याक्कै याद त छैन, खै बाले कसरी पढे। मलाई चोर औँला समातेर कालो पाटीमा क, ख सिकाउँथे। सायद दशैको समय हुँदो हो, म घरकै मुन्तिर डिलछेउमा चंगा उठाउँदै खुब मजा लिइरहेको थिए। बा तुलसी मोठमा बसेर हनुमान चालिसा पढ्दै मलाई धरि धरि हेर्दै थिए। चंगा नस्पतीको बोटमा गएर अड्क्यो। बालाई भनेँ, छेउमै गएर। बाले धागो चुँडाई दिए। चंगाले भुइँमा विश्राम लियो। म दुखी भएँ। बाले बुझेछन्। साँच्चै बा मेरो बा मात्र नभएर म सँग खेल्ने साथी पनि थिए। बाले बिस्तारै मेरो गाला सुमसुम्याउँदै अर्को नयाँ चंगा बनाउँदै सम्झाएको आजै जस्तो लाग्छ।
बा भन्दै थिए- “हाम्रो जीवन पनि यो चंगा जस्तै हो। एउटा उचाइमा पुगे पछि हामी धेरैलाई लाग्छ, म अरू भन्दा धेरै माथि छु। तर हामी यो चंगा जस्तै पुनः भुइँमै हुन्छौ। चंगाकै जस्तै हालत हुन्छ। त्यसैले कहिल्यै परिवार  संस्कारबाट टाढा नजाऊ बरु सक्छौ भने मायाका सम्बन्धहरू जोगाई राख।”
मलाई अझै पनि सम्झना छ, म हराएको त्यो रात। बसपर्कमा पानीले खुब चुटेको थियो। मसँग मेरो छाया मात्र थियो, जसलाई म सधैँ मेरो प्रिय मित्र सम्झन्छु। अरू त केवल मतलबीहरू मात्र थिए।

आमाको त्याग र समर्पण थियो म प्रति। आमालाई फोन गरेँ, फोन उठेन, सुती सकेछिन्। समयचक्र सँगै मान्छेको नियति पनि बदलिँदै जाँदो रहेछ। बिहान भो। बालाई हेरेँ। अनुहारमा खुल्ला चमक देखेँ। खुसी लाग्यो।
डाक्टर भन्दै थिए- ” बाको डिस्चार्ज हुन्छ आज, बा! आज हामी घर जाने।” बाले तातो पानी पिउँदै गर्दा हुन्छ भन्दै टाउको हल्लाए। बालाई आज १५ दिन पछि घर लिएर आएँ । “बुहारीलाई फोन गरिस्?” बा भन्दै थिए।
“बा चिन्ता नगर , सबै ठिक छ रे।” झुटो आश्वासन सँगै डाक्टरले भनेको कुरा बालाई भन्दै थिएँ।
“बा तिमीलाई मुटु, लिबर र मिर्गौलाको समस्या छैन रे, डाक्टरले भनेका।” बा मुस्कुराए !
“ल अब यो दवाई खाएर आराम गर।”
म मेरो जीवनको भोगाइलाई सम्झन्छु। म जीवनलाई फूलसँग तुलना गर्छु। जसरी यो कोपिला हुँदै क्रमशः: फ्रकिएर झर्ने अवस्थासम्म पुग्छ। फूल झैँ सधैँ सुवास छरेर मर्न पाऊँ। टि:भीमा दोहोरी भाका सँगै आमा खाना पकाउँदै छिन्। तिज नजिकीदै छ। आमाको खबर सोधे।
“आमा, तिम्रो खुट्टा कस्तो भयो?”
“बिसेक भो बा! पिर नली।” कति निस्स्वार्थ माया आमाको।

पुलिसले अन्धाधुन्ध गोली चलाउँदा दलित बस्तीका काले सुनारको मृत्यु , एक छिमेकीले झ्यालबाट लुकेर आफ्नो मोबाईबाट खिचिएको भिडियो म कम्पिटुरमा हेर्दै छु। समाचार पो रहेछ। समाचार पनि कस्तो? हत्या, हिंसा भन्दा अरू केही नहुने। आमाको आवाज कानैमै आएर रोकियो।
“भात खान आइज बा?”
“तिमी खाऊ आमा, मलाई मन छैन।”
के गरूँ, कसो गरूँ, कता जाऊँ , यो मन अन्योलमा छ। छोरीको याद आयो। पोहोर सालको जन्मदिनमा खिचेको तस्बिरहरू मैले फेसबुक मार्फत सेयर गरेको थिएँ । आज हेर्न मन भो। धेरै पछि फेसबुक खोलेँ । विवाहको सिजन रहेछ। भित्ता भरि विवाहको रंगिन फोटाहरू छरपष्ट देखेँ ।
समीर दाहाल, मेरो बाल्यकालको मित्र। विवाह गर्न भ्याई सकेछ। फोटोमा भिन्नै देखिन्थ्यो, सायद विवाहको भेषमा सजिएकोले होला।
“मित्र ! बधाई तथा शुभकामना” भन्ने कमेन्ट र एउटा लाइक ठोकेँ फोटोमा।
“जिन्दगी खुल्ला किताब न हो, काहि झरीले भिजेको , काहि असिनाले चुटेर धुजा धुजा भएका अपवादमा बाचेका दुईचार पाना बाहेक सबै अर्ध सग्लो भएता पनि देख्दा किताब जस्तै देखिने”। भित्तामा छोरीको फोटो सँगै स्ट्याटस् लेखी हालेँ ।
“बिती सकेको दिनलाई सम्झेर छट्पटिनु राम्रो होइन मित्र !” सागर अमात्यको लाइक र कमेन्ट आई हाल्यो।
“म हारेँ त भन्दिनँ तर जितेँ पनि भन्दिनँ। मैले गुमाएँ त भन्दिनँ तर पाएँ पनि भन्दिनँ। म त केवल उन्मुक्त सपना छर्दै मुस्कुराएको जुन सरह हुँ। सारा अस्तित्व प्रेममय छ।”
मैले पनि जवाफमा फर्काई हालेँ।

मैले उनको नाम सर्च गर्दै गर्दा सिगरेट पिउन मन लाग्यो। जब म सानो थिएँ , मेरो बुद्धि थिएन। रक्सी चुरोट के हो थाहै थिएन। अरूले खाएको गन्धले पनि रिँगटा लाग्थ्यो। कसरी खाएको होला भन्ने लाग्थ्यो। आजकल मेरो साथी भएको छ चुरोट र रक्सी। उनको नाम कतै भेटिएन। सिगरेटको टुक्राले चोर औँलालाई स्पर्श गर्‍यो।
“आ…. थाहा…..!” आवाज बाहिरै आयो।
दुई सर्को मै ठुटो भई सकेछ। फिल्टर मात्र बाँकी । अब के नै रहयो र ? त्यो पनि ह्वात्तै फ्याकीदिएँ । अब म हिँड्ने बाटो यही हो जस्तो लाग्यो। फेरि नाम खोज्नमै ध्यान केन्द्रित गरेँ । जसलाई म यति धेरै माया गर्छु, मुटुको एउटा सानो कुनामा सजाएको छु। धृणा !! त्यो हदसम्म मात्र गर्नु नि….! कंथाकदाचित कुनै दिन फेरि म सँगै भेट भयो भने त्यो धृणा सम्झेर आफैलाई लज्जा बोध नहोस्। ब्लक नै गर्न भ्याई सकेछिन्।
एक छिन हाँसेँ । हाँ ……हाँ ! जब म उनको निम्ति हाँस्थेँ फेरि सबै कुरा सम्झेर आशु आउँथ्यो। तै पनि आशाको दियो निभेन। नयाँ फेसबुक अकाउण्ट बनाएँ। उनको नाम सर्च गरेर साथी जोड्ने रिक्वेस्ट पठाए। एक घण्टा पछि रिक्वेस्ट स्वीकृतिको मेसेज आयो। फोटो राख्न भ्याएको थिइन। अरू कोही होला भनेर स्वीकृत गरेको रहेछिन्।

“…………. हाई,” लेखेँ । उत्तर आएन।
एक छिन पछि, “हेल्लो, आर उ देयर ?” लेखेँ। १५ मिनेट पर्खेँ। अहँ !!! उत्तर पटक्कै आएन।
चुरोट सल्काएँ। मुखबाट फ्याँकेको धुवा सँग सँगै फेरि पनि लेर्खेँ।
“मलाई थाहा छ , तिमीले मलाई हाई पनि लेख्ने छैनौ किन कि तिमी सँग मेरो लागि समय नै कहाँ छ र? यसको मतलब यो होइन कि मैले तिम्रो समयलाई खोसेँ अनि बेमतलबी तरिकाले तिम्रो समयलाई बर्बाद गरेँ । वास्तवमा तिमी मेरी श्रीमती हौ।”
“श्रीमती ,….? कसको?” उत्तर गरिन्। एक छिन म अलमल्ल परेँ ।
“के छ आजकल ?” मनले सोधेँ ।
“मेरो होइन, तिम्रो के छ?” उल्टा उनले प्रश्न गरिन्।
म छक्क परेँ । एक प्याक स्वाट्टै पारेँ ।
“म जन्मँदा ५ वर्ष सम्म बोली थिएन रे? आमाले भनेको। सायद फेरि बन्द हुन्छ कि जस्तो लाग्दै छ। केही नयाँ अनि केही पुराना घटनाहरू सम्झेर बाचेको छु।”
उत्तर आयो -” बालमतलव।”
सोध्न मन लाग्यो, सोधेँ -“छोरीलाई सन्चै छ? मलाई खुब खोज्छीन होला हगी? मैले सोधेको छ भन्देऊ है।”
१५ मिनेट पछि उत्तर आयो “मे बि।”
ढिलै भए पनि उत्तर त आयो। औपचारिक धन्यवाद दिएँ ।
“मिल्छ भने छोरीको आवाज सुन्न मन छ, एक चोटि फोन गर न प्लिज …..।” लेख्दै गर्दा साइन आउट भई छिन।
अफलाइन म्यासेज भए पनि छोडी दिन्छु भन्ने लाग्यो। फेरि अर्को प्याक स्वाट्टै पादै गर्दा म्यासेज पठाइदेँ ।
“आजको दिन सुखद बितोस्।” अन्तिम म्यासेज, फर्म्यालिटी पुरा गरेँ। उनको भित्तामा राखेको फोटोहरू हेर्न मन लाग्यो। फोटोहरू हेर्दै गर्दा बिकिनीमा समुन्द्री तटमा एउटा गोरे केटासँग अँगालोमा बेरिएको फोटो राखेकी रहेछिन्।
“जब तिमी अनि म” ….फोटो सँगै लेखिएको थियो।
हामीहरू बिच घटेका नरमाईला क्षणहरू सम्झे। यो फोटोको केटा को हो भनी सोध्न मन लागेको थियो तर उनी थिइन मसँग। सायद यी पागल त भइन् जस्तो पनि लाग्यो। अर्कैसँग मौजमस्तीमा रमाउँछौ अनि दोष चैँ मलाई लगाउँछौ? बेस्सरी गाली गर्न मन लाग्यो तर सो सब भन्ने मान्छे नै कहाँ छ र मसँग? फेरि फेसबुक इन्बोक्समा एउटा अन्तिम म्यासेज छोड्न मन लाग्यो।
“ठिक छ! तिमी जहाँ छौ खुसीसँग बाच्नु। कहिले काहि याद आयो भने हाम्रो छोरीलाई हेरेर चित्त बुझाउनु। अलविदा……!”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *