बिगबहादुर

लेखक

अम्बिका प्रसाद दुलाल

व्यक्ति परिचय: – बिगबहादुर गुरुङ, दक्षिण भूटानका जीवीत इतिहास
उमेर – ८८ वर्ष, ठेगाना – बेलडाँगी १, स्वास्थ्य- धेरै अस्वस्थ।

सानो उमेर बाँडामा बित्यो|एकचोटि मकै असाध्य फल्यो । यति बिघ्न फल्यो कि खोल्मामा अटेन, चाङ भरीयो, ३/४ वटा थाङ्रा बनाएर राख्दा पनि सिकुवामा, आँगनमा, जताभावि मकैको बिस्कुन सम्हाल्नै नसकिने   भयो । अर्को साल मानिसले खेती लाएनन् । पोहोरकै मकै छँदैथ्यो, किन लाउने र खेती, ढुक्कले बसे । तेश्रो साल अत्यन्तै खडेरी लाग्यो केहि उम्रेन । व्यापक अनिकाल लाग्यो । मानिसहरु मागि खान निस्के नजिकैको भारतीय बस्तीहरु तोदे-ताङ्ता तिर । एउटा उक्ति फैलियो- ‘बाँडा-बिन्दु खानेकुरा मिन्दु, तोदे-ताङ्ता भीख मांग्ता’। यो उक्ति उनका बुबालाई सह्य भएन । १३ वर्षका बिगबहादुर बुबासितै हान्निए पूर्वतर्फ पुगे चिराङ । बस्ती धमाधम खुल्दै थियो, काटे बडेमानका रुखहरू, बिराए बारी, उब्जाए अन्न, सुधारे जिन्दगि लामीडाँडामा । अँ.. हँ.. त्यहाँ मन अडिएन सरे बसैँ दागापेला । खेती गरे, बोट बिरुवा लाए, घरजम बसाए, गरे उन्नति, कमाए इज्जत मृदुभाषी बिगबहादुरले दागानाको इमिरेमा ।

भूटान स्टेट कांग्रेसको आन्दोलनमा सरिक भए ‘जय गोर्खा’ नारा लाए, पक्राउ परे, थुनिए दागाजोंग जेलमा ।  ठूलो रुखको आडमा छलिएर चर्पी बस्दा छलिदिए ड्युटीको आँखा पनि, कुलेलाम ठोके जङ्गलै जङ्गल हातकडी सँगै। ओडारमा दिउँसो सुते, रातभर घस्रिँदै हिँडे । अम्लिसोको टुसा खाए, जंगली बोट बिरुवाका मुना खाए अनि पानी पिएर प्राण बचाउँदै ५ दिनमा कुल्कुले भारत पुगे । त्यँहि लोहारलाई हातकडि काटिमागे र हानिए पश्चिमतिर त्यसरी नै रातारात जङ्गलकै बाटो । एक महिनापछि आँखाभित्र भासिएका, जिंग्रिंङ कपाल, फाटेर च्याङ्लो भएका मैला न मैला शरीरका कपडा, बोली हराएर साउती मात्रै गर्ने, कालो धसिंगरे कम्जोरी अनुहारका भएर गान्टोक सिक्किम पुगे सालीको घरमा अँध्यारोमै । चिनिनन् सालीले, टुकीको उज्यालो अनुहारको नजिकै पुर्याएर हेरिन्, खिसिक्क हाँसे उनी। “हाँस्दा त कता कता भेनानै जस्तो देखिन्छ”, भनिन् सालीले । पछि स्टेट कांग्रेसका वरीष्ठ नेता श्री डि.बी.गुरुङ र भूटान सरकारबीच भारतीय पदाधिकारीहरुको संयोजकत्वमा, भूटानमा अथवा भारतमा बसेर पार्टीगत राजनीति गर्न नपाउने र पलायन भएका भूटानीहरुले फिर्ता आएर बसोबास गर्न पाउने भन्ने विषयमा सम्झौता भयो । त्यसपछि उनी फर्किए भूटान । इमिरे ब्लकको मण्डल चुनिए, इमान्दारीपूर्वक देश र मानिसका भलाइको काम गरे । सन् १९९०को आन्दोलनपछि उनको भूटान बसाइलाई सरकारी निगाहले मन पराएन । पलायन भए अनि शिविरको अनियन्त्रित चिसो-तातो, धूलो-धुवाँ, वर्षा-हुरी सहँदै यापन गरिरहेछन् शरणार्थी जीवन बेलडाँगी-१ शिविरमा ।

पण्डित जवाहरलाल नेहरुको भ्रमण पारोमा

महाराजाबाट बढा दशैंको टीका-प्रसाद वितरणको श्री गणेश
शान्ती संघर्ष वर्ष १ अङ्क ४ अगष्ट २००५ बाट साभार तथा परिमार्जित।

द्रष्टव्य:   यो लेख जुलाई २००५ मा प्रश्न राख्दै सान्दर्भिक उत्तर टिपोट गर्दै तयार पारिएको हो।

सन् १९५८-को सेप्टेम्बर महिनाको कुरा हो, एउटा सबडिभिजन (हालमा डुंखाग भनिन्छ)  बाट एकजना मण्डलसहित तीनजना कारबारीलाई पारोमा भेला हुनुपर्ने आदेश जारी भएको थियो । हामीलाई त्यो आदेश तत्कालीन दक्षिण भूटानका प्रशासक जिग्मि पाल्देन दोर्जीबाट भएको थियो । उनलाई दक्षिण भूटानीहरुले ‘कुमार साहेब’ को उपनामबाट चिन्दथे । उनी कालेबुङका राजा एस.टी.दोर्जीका जेठा छोरा अनि भूटान महाराजा जिग्मे दोर्जी वाङचुकका जेठान थिए ।

त्यस समय देवान गर्जमान गुरुङको प्रशासकीय क्षेत्र सामची पनि कुमार साहेबको जिम्मामा आएको केही वर्षमात्र भएको थियो । गर्जमान गुरुङको सेखापछि उनका जेठा छोरा हेमराज गुरुङलाई देवान पद दिइएको भए तापनि त्यो पद ग्रहण गरेको एकाध वर्ष भित्रमै उनि विदेशिए । त्यसबेला ‘देवान’ लाई क्षेत्रीय राजास्वरुप   मानिन्थ्यो । त्यसपछि हेमराज गुरुङका भाइ जसराज गुरुङलाई भने डिपुटि कमिश्नर (डी.सी) को पदमात्र दिइएको थियो । गर्जमान गुरुङका सन्तानलाई आज पर्यन्त “काजी” उपनामले चिनिन्छ । दक्षिण भूटानका सबै सबडिभिजन भ्रमण गरेर उनै जसराज गुरुङद्वारा सर्वसाधारण जनतालाई सन् १९५८-को नागरिक ऐन पढेर सुनाइएको थियो र बुँदा-बुँदाको अर्थ समेत खुलाएर बुझाइएको थियो ।

पारोमा जानका लागि हरेक सबडिभिजनबाट ७ देखि १४ जनासम्म रहेका मण्डलहरु मध्येबाट एकजना मात्र छानिएका थिए । सम्बन्धित सबडिभिजनल अफिसर अर्थात एसडीओ (हालमा डुङपा भनिन्छ) द्वारा प्रत्येक मण्डल र तीनका कारबारीहरुलाई अफिसमा बोलाएर छनौट गर्ने काम भएको थियो । म भने सन् १९५० देखि १९५३ सालसम्म एसडीओ अफिसमा बैदार (क्लर्क) को काम गरेकाले केही सुझ-बुझका साथ बोल्नु सक्ने, कुरा बुझ्नु सक्ने अनि पारो हिँडेर जाने बाटोको भेउ पाएको नाताले एकजना कारबारीको सट्टा चुनिएको थिएँ । यसरी छनौट गरिएका सबै दक्षिण भूटानीहरुलाई एकसरो जातीय पहिरन सरकारद्वारा नै सिलाएर दिइएको थियो । जसमा एउटा कालो बिर्के टोपी, कमेज-सुरुवाल र एक जोडी छालाको कालो जुत्ता थिए । भूटानको अन्य भेगका मानिसलाई पनि उनीहरुकै जातीय पोशाक सिलाएर दिइएको कुरा पारो गएपछि थाहा पाएको थिएँ ।

भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु भूटान भ्रमणमा आउनुहुने रहेछ । हामी पारो पुग्दा स्वागतको निम्ति तयारी शुरु भैसकेको थियो । हामी दक्षिण भूटानी मण्डल-कारबारीहरुलाई नेपाली ढाँचामा दुईवटा स्वागत गेट बनाउन लगाइयो । हा-क्षेत्रबाट पारो घाँटीमा छिर्ने सिमानामा तत्कालीन चिराङ एसडीओ आशबहादुर सुब्बाको अगुवाइमा एउटा गेट तयार पार्यौँ । यसैगरी दक्षिण भूटानका अन्य मण्डल-कारबारी साथीहरुले सामची डी.सी. जसराज गुरुङको अगुवाइमा पारो दरवार जाने बाटोको गाँटे भन्ने ठाउँको कुमार साहेबको बङ्गला कोठी अगाडि अर्को स्वागत गेट नेपाली ढाँचामा तयार पारे । यसो त डुक्पा ढाँचामा पनि अरु धेरैवटा स्वागत गेटहरु बनाइएका थिए ।

पं०.जवाहरलाल नेहरु सिक्किमको नाथुला हिमाली घाँटीको बाटो भएर भूटानको हा हुँदै पारो आइपुग्नु   भयो । उहाँका साथमा उहाँकी छोरी इन्दिरा गान्धीसहित भूटान तथा सिक्किम अधिराज्यका लागि भारतीय पोलीटिकल अफिसर नारी रुस्तमजी पनि थिए । उहाँहरु सबैजना खच्चरमाथि चढेर सवार भएका थिए । सिक्किमदेखि हा-सम्म उहाँहरुले चौँरीमाथि चढेर यात्रा तय गर्नु भएको थियो भन्ने कुरा त्यहाँ सुनिएको थियो ।

पं०.नेहरु पारोमा पाँच दिनसम्म बस्नु भएको थियो । उहाँसित महाराज जिग्मे दोर्जी वाङचुकसहित देशका विशेष हाकीमहरुका साथै गाँउ-गाँउबाट बोलाइएका मण्डलहरुबीच पारो दरवारभित्र भूटानलाई विकास गराउने सम्बन्धमा तीन दिनसम्म वैठक बसेको थियो । त्यहाँ उपस्थिति अनिवार्य गराइएका हामी कारबारीहरु र अन्य जनताले भने दरवार बाहिर प्राङ्गणमा आ-आफ्नो जातीय भाका र लयमा गीत गाउँदै पालो गरी गरी नाचगानको सिलसिला अटूट जारी राख्नु परेको थियो । घरिघरि महाराजा बाहिर निस्किएर हात र मुखले यस्तो-यस्तो नाचगान जारी राख्नु भनी इशारा दिएर फिर्नु हुन्थ्यो ।

पारोमा पं०.नेहरुलाई स्वागत जनाउन र विकास वैठकमा भाग लिनका लागि जाने दक्षिण भूटानका मण्डलहरुमा पर्तिमान काफ्ले- चिराङ, डम्बरसिङ गुरुङ- चिराङ, चन्द्रमान लोप्चन- सरभाङ, विष्णुकान्त खतिवडा- दागापेला, मेहेरमान तामाङ- सामची, निमासिङ तामाङ- दोरोखा र सिब्सु सब-डिभिजनबाट बीरुका मण्डल बीरबहादुर गुरुङको उपस्थिति थियो । उनीहरुलाई एकजना भान्से र एकजना भरीया साथमा लान दिइएको थियो ।

दरवारभित्रको वैठक सिद्धिएपछि पं०.नेहरुले बाहिर हावा घरबाट सर्वसाधारणलाई सम्बोधन भाषण दिनु भएको थियो । त्यस भाषणका बेला पं०.नेहरु भूटानी स्वदेशी हातले बुनेको पहिरन बख्खुमा सु-सज्जित हुनु हुन्थ्यो । कम्मरमा लामो पाताङ भिरेका, शिरमा चोयाको चित्रे टोपी र पाउमा दोचा लाउनु भएका अग्लो कद लाम्चो-गोरो अनि हँसिलो मोहोडाका नेहरुजी एक तमासको विछट्टै सुन्दर देखिइनु हुन्थ्यो । उहाँकी छोरी इन्दीरा पनि त्यहाँ भूटानी वस्त्र गो-कीरामा सजिएर टहलिनु भएको थियो।

पं०.नेहरुले हिन्दीमा भाषण दिनु भयो, “तपाईँहरुको यो ठाउँ यति राम्रो हिमालले चारैतिर घेरिएको मनोहर ठाउँ छ । सधैँ आनन्द आउने शीतल ठाउँ छ । यस्तो देख्दा मलाई मनभित्रैबाट शान्ती अनुभव भएको छ, अति नै खुशी लागेको छ।’’ आफ्नो भाषणको थालनीमै उहाँले भन्नु भएका यी कुरा आजसम्म मेरा कानमा गुञ्जिरहेका छन् । उहाँले, “अब यो ठाउँलाई विकास गरेर अझ सुन्दर बनाउनु पर्छ”, भन्नुभयो । तर उहाँले भन्नु भएको यो “विकास” भन्ने शब्द मलाई त्यसबेला नौलो र अनौठो भयो । यसको अर्थ के होला, यस्तो कुरा के हुन्छ भन्ने लागेको थियो । “तपाईँहरु सबैजाना मिलेर काम गर्नुपर्छ, हामी पनि मद्दत गर्छौँ”, समेत भन्नु भएको थियो ।

उहाँले अझ धेरै कुरा धेरै बेरसम्म भन्नु भएको थियो, ती सबै कुरा अहिले मेरो सम्झनामा छैनन् । तर अन्तमा भन्नु भएको एउटा कुरा भने मलाई अझसम्म पनि स्पष्टसँग याद छ । त्यो के हो भने, ”यहाँका नदीहरु बगेर भारत पुगेका छन्, यहाँबाट काठपातहरु बगाएर भारतमा पुर्याउन सकिन्छ, त्यहाँ पुर्याएर बेच्यो भने तपाईँहरुलाई आमदानी हुन्छ”, भन्नु भएको थियो ।

भारतीय प्रधान मन्त्री पं०.जवाहरलाल नेहरु र श्री ५ महाराजधिराज जिग्मे दोर्जी वाङचुकबीच पारोमा सम्पन्न बैठकमा पञ्चवर्षीय योजना थालनी गर्ने, देशभरि स्कूल, अस्पताल खोल्ने, मोटर सडकहरु निर्माण गर्ने आदि कुरामा विस्तृत छलफल भएको थियो भन्ने कुरा मैले केही महिना पछिमात्र थाहा पाएँ ।

त्यतिबेला पं०.नेहरुजीका साथमा सिक्किमका बर्मेक देवान नाम गरेका एकजना विद्वान पनि गएका थिए । उहाँलाई भूटानको विकास कार्य थालनी गराउने उद्देश्यले त्यसैबेलादेखि डिपुटेसनमा नियुक्ति गराइएको थियो । पछि शिक्षा क्षेत्र हेर्नका लागि ए.आर.बोस अनि राजमार्ग निर्माणका लागि माथुर साहबलाई डिपुटेसनिसको रुपमा भूटान झिकाइएको थियो ।

हामी ३३ दिन पारोमा बसेका थियौँ । कुमार साहेब त्यसबेला अमेरिकाबाट किडनिको उपचार गराई भर्खरैमात्र फर्किएका थिए । भूँडीमा काटेर सिलाएको दाग हामीलाई पनि देखाएका थिए । नेहरुजी पारोमा आइपुग्नुभन्दा केहि दिन अगाडिको कुरा हो-उनी दश-एगाह्र बजे राति पनि रवाफका साथ घोडामा चढेर यता र उता दौडन्थे । त्यो देखेर त्यहाँका अन्य ठूला हाकिमहरुले हामीसमक्ष, “प्रधान मन्त्री हुनेवाला छ, यति पनि फुर्ती देखाउन सकेन भने कसरी प्रधान मन्त्री गर्न सक्ला त?” भनेर इर्ष्यालू वाण हान्थे । सायद नेहरुजीको सो भ्रमणपश्चात उनलाई सो पद दिइयो ।

बडा दशैँ मुखमै आइसकेको थियो । पं०. जवाहरलाल नेहरु भारत फिर्ती सवार भएको भोलिपल्टै हामी कारबारीहरुलाई विदा दिइयो । तर दक्षिण भूटानका मण्डलहरुलाई भने मौसुफ सरकार जिग्मे दोर्जी वाङचुकको बाहुलीबाट त्यो सन् १९५८ को बडा दशैँको टीका-प्रसाद प्रदान गरिएपछि मात्र बिदाइ गरिएको थियो । भूटानमा महाराजाले दक्षिणका जनतालाई बडा दशैँको टीको-आशिर्वाद दिने प्रथाको श्रीगणेश त्यही सालबाट भएको हो ।

 

2 Replies to “बिगबहादुर”

  1. Buddha M Dhakal

    यति चाखलाग्दा इतिहासका कुरा खोतलेर लेखिदिनु भएकोमा अम्बिका दुलाल दाइलाई धरै आभार प्रकट गर्न चहान्छु | यस्तो इतिहास मैले टेकनाथ रिजालसंगको सम्पर्क र सान्निध्यमा पनि सुनेको थिईन | र अफसोच आफैलाई, बेलडाँगी १ मा भैकन पनि इतिहासका यी खम्बाहरुलाई मैले चिन्न भुलेछु |

  2. Gopal Gurung,

    श्री अम्बिकाजी बेलडाँगी १ मा दा गापेला ईमिरय ब्लूक मा mondal गर्ने बिक बाहादुर गुरुङ कून सेक्टर मा बस्छन होला? म भेट्न चाहन्छु . कीर्पया बताइदिनु भय आभारी हुने थीय. .

Leave a Reply

Your email address will not be published. Required fields are marked *