बि० बि० पौडेलको “उतै छाडेको मुटु”: सूक्ष्म समीक्षा

समिक्षक
समीक्षक

कृष्ण भण्डारी “काईलो”
ओहाइयो, सिन्सिनेटि

 

नयाँ नम्बर धेरै आए धेरै बोलियो तर त्यस दिन नयाँ नम्बरको रिङ्ग बज्यो, कल उठाएँ, बातचितको क्रममा परिचय भयो गत वर्ष प्रकाशित “मेरो जन्मभूमिको सम्झनामा” नामक साहित्यिक सँगालो पुस्तकका कृतिकार बि० बि० पौडेलसँग बोलेको रहेछु । उहाँले मलाई फोनमा नै भन्नु भयो मैले गजल र हाइकु मिलाएर दुई विधाको एक सङ्ग्रह “उतै छाडेको मुटु” नामक पुस्तक तयार पारेको छु जसलाई बिमोचन गर्ने पनि तयारीमा छु, कृपया पुस्तकको बारेमा केही बोलिदिनु होस न भनी अनुरोध गरेपछि मैले फोनमानै स्वीकारें र भनेँ त्यसो भए पुस्तक उपलब्ध गराई दिनु भयो भने म केही अध्ययन गर्ने थिएँ र तयारी हुने थिएँ भनेँ, त्यस पछि उहाँले हुन्छ म उपलभ्ध गराउने छु भन्नु भयो र केही क्षण कुराकानी गरे पछि, पछि भेट्ने बाचाका साथ फोन वार्ता विश्राम गर्‍यौँ । अर्को दिन कम्पनीको काम गर्न गएकै ठाउँमा पुस्तक हात लाग्यो अब कहिले पढौँ भन्ने कौतुहलता जाग्यो अनि साथ साथै यो पनि सम्झेँ ममा यो कृति हेर्ने अवसर मिल्यो भन्नेमा पनि खुसी लाग्यो र सरसर्ती तुरन्तै बिचबाट एउटा गजल पनि पढी हालेँ ।

कुरा केछ भने खासमा जीवन जिउने रहर छ
सधैँ तिम्रो आस पासमा जीवन जिउने रहर छ ।

तिम्रो हातको इसारामा नाचिहिड्ने चङ्गा जस्तै
खुल्लम खुल्ला बतासमा जीवन जिउने रहर छ ।

सुन्दर गजलले प्रेमको कुरा बोलेको भान हुँदा हुँदै अलि तल झर्दै जाँदा देश प्रतिको माया पनि बोल्दै गरेको पनि भान भयो यस्तैमा झोलामा गजल थन्काएं र काम तिर लागेँ ।

कृतिकार बि बि पौडेल
कृतिकार बि बि पौडेल

घरमा बसेर जब यस सङ्ग्रहलाई पढ्दै गएँ अनि उहाँको परिचयसँगै विषयवस्तुमा प्रवेश गर्दा :- बि० बि० पौडेल (जन्म ८ मार्च,१९७९,भूटान-दागाना, सुन्तले ब्लक, नेपालमा :- शनिश्चरे, मोरङ्ग नेपाल, वर्तमान :- ओहायो, सिन्सिनाटी, अमेरिका रहेको छ भने अन्य परिचय पुस्तकको पछिलतिरको पन्नामा उल्लिखित छ) – बि० बि० पौडेललाई नय़ाँ पिँढीका एक उत्साहित साहित्यकारमा राख्न सकिन्छ । उहाँका यस पटकको कृति भित्र गजलमा भने २१ वटा गजलहरू र हाइकुमा पचासवटा हाइकुहरू एक ठाउँ जम्मा गरी “उतै छाडेको मुटु” नामक गजल-हाइकु सङ्ग्रह पुस्तक हाम्रो अगाडी सिन्सिनाटीको ओहायोमा अगस्त १९/२०१७ का दिन बिमोचन गर्न सफल हुनु भएको छ | गाउँको प्रेम, देश छाड्दाको पिडा, जीवनका उकाली ओरालीको अनुभव, राष्ट्र र राष्टियता प्रति प्रशस्त माया बोकेको र आमाको महिमा र महत्वलाई गजलका शेरहरू र हाइकुका पदहरूद्वारा जन्मभूमीलाई जोड्दै मीठो भावमा वर्णन गरिएको पाइन्छ । हेर्दा सानो कृति तर धेरै कुरा भेटेँ कृति भित्र पस्ता, दुई चार कुरा उठाउन चाहन्छु आजको यस बसाइमा |

यहाँ कृति भित्र लेखकको मनले आफ्नो मातृभूमि प्रति प्रशस्त माया र दसैँमा लागाइने जमरा, देउसी र भैलो जस्ता कुरालाई भुल्न नसकिरहेको अवस्थामा लेखिएको उहाँको पाँच शेरको गजलमा सुरुको र अन्त्यको शेरलाई उठाउन मन लाग्यो |

हुर्केको गाउँ जन्मेको ठाउँ बिर्सिनु कसरी
सोच न आफै चल्लाले माउ बिर्सनु कसरी

समयले थिच्यो यसरी कि उठ्न म सक्दिन
मनले भन्छ फर्केर जाऊँ बिर्सनु कसरी ।

 

 

अनि अर्को गजलबाट एक शेर यस्तो बोल्छ:-

झर्छन् आँसु आँखाबाट सम्झिएर साथी
संसारमा कोही छैन आमा भन्दा माथि

साँच्चै नै यी गजलका शेरहरू र अरू गजल र हाइकुका पदहरूले पनि स्पष्ट पार्दछ कि “उतै छाडेको मुटु” गजल र हाइकु

मिलाएर प्रकाशनमा आएको दुई विधाको यो पस्तकले धेरै नै मिठो र रसिलो कुरा बोकेको महसुस गरेको छु ।

गजलकारको गजलले यस्तो पनि हृदयबाटै बोलेको जस्तो भान हुन्छ कि हर बिहान, हर साँझ बिरानो छ अहिले बस्तै आएको ठाउँ पनि बिरानो बनेको कुरा भन्दै गजल बोल्छ:-

पाउको पाउजु सुनको भएर के गर्नु साथी
आज आफ्नै शिरको ताज बिरानो बन्दै छ ।

कृति "उतै छाडेको मन"को आवरण
कृति “उतै छाडेको मन”को आवरण

यसरी नै अर्को गजलले “उ भूटानी थियो र त यति धेरै ज्ञानी थियो” भन्ने सिलसिलामा भुटानी सहिदहरूलाई सम्झना गर्दै यसरी पनि बोलेको भेटेँ :-

कि मरिन्छ कि गरिन्छ यत्ति भन्थ्यो ऊ
ऊ मरेको छैन सुत्यो मात्र निदाउनका निम्ति ।

यसरी गजलबाट भूटानी सहिदहरूलाई जीवित रहेका छन् भन्ने अनुभूति गजलबाट दिन खोजेको पाइएको छ ।

यसरी नै हेर्ने हो भने उहाँका गजलहरूमा अचम्मको बनेर मुस्कान हराएर एकोहोरो टोलाएर बसिरहने संवेदना भित्र मुटु दु:खाएर सानो आशा भएता पनि अन्ततो गत्वा एउटी नारीको बाध्यता यसरी बोलेको छ एउटा गजलको अन्तिम शेरले :-

अस्ति सम्म मन बहादुर मेरै हो भन्थी
हिजोबाट धनेकि छे हराएको मुस्कान ।

यहाँ गजलको मात्र कुरा गर्नु पर्दा एकाद गजलमा सामान्य काफिया उच्चारण गर्दा एक्कै किसिमले उच्चारण हुन नसकेको पाइयो त्यसै गरी एकाद गजल तीन सेरको मात्र पाइयो भने सामान्य सुधारका कुरा समात्न प्रयत्नरत हुनुहुदो रहेछ भन्ने अड्कल गरेँ | हुन त सानो कृति ठुलो थप्पड पुग्छ होला कसैकसैलाई किन कि अमेरिका अङ्ग्रेजी-मुलुकमा आएर पनि नेपाली भाषाको जगेर्ना गर्दै अनि विगत र वर्तमानका परिस्थितिलाई समेट्दै गजल विधाको माध्यमबाट मिठा र सुन्दर गजलहरू संरचना गर्न सफल बन्नु भएको छ साहित्यकार बि० बि० पौडेल |

यसरीनै हाइकुमा अवलोकन गर्दा हाइकुले बोक्नु पर्ने ५-७-५ को नियमलाई राम्रै गरी बोकेको पाइयो र मिठा अनि अर्थ पूर्ण पनि छन् तर कुनै कुनै हाइकुमा भने छपाइको क्षणको अवस्थाले हो या गन्ति भुलेको अवस्थाले हो ५ अक्षर हुनु पर्ने ठाउँमा ६ अक्षर र ७ अक्षर हुनु पर्ने ठाउँमा ८ अक्षर सम्म हुन पुगेको रहेछ | मैले यस विषयमा भन्नै पर्ने हुन्छ उहाँलाई सफलताको शिखरमा पु~याउनका निम्ति किनकि यो भनाइले कृतिकारलाई आगामी कृति प्रकाशन गर्नु पर्दा ध्यान पु~याउनु पर्छ भन्ने जानकारी मात्र हो ।

मलाई यहाँ एक दुई वटा हाइकु उठाउन मन लागेको पनि हो उहाँकै कृतिबाट :-

१)

भूटानी हावा
आफ्नै मुटुको पाटो
सेताम्य केश ।

२)

अबोध आँखा
छ निश्चल हेराई
चिन्छ आफन्त ।

मलाई सारै मन परेको कुरा यो कृतिलाई समर्पणका शब्दमा यसो लेखिएको रहेछ कि “नेपाली भाषामा कलम चलाउन सिकाउने मेरा मावली हजुरआमा र हजुरबुबा प्रति” भनेर अनि केही विद्वान् साहित्यकारहरूले कृतिकार बि० बि० पौडेललाई शुभकामना दिने क्रममा मिठा र भावपूर्ण बिचारमा आशिषका बचनसँगै लेखन क्षेत्रलाई अगाडि बढाउने मनोबलका कुरा लेखिदिनु भएको पनि रहेछ आनन्द लाग्यो ।

अब यहाँ मेरो अनुभवमा कृति प्रकाशन गर्नु भनेको चानचुने कुरा होइन धेरै थोकको व्यवस्था र बन्दवस्त हुनुपर्दछ साथै वातावरण पनि हुनु उत्तिकै आवश्यकता हुन्छ । महत्त्वपूर्ण कुरो उहाँको अहिले सम्मको जीवनमा दुईवटा कृति बजारमा आईसकेका छन् । उहाँलाई धेरै धन्यवाद नेपाली लिई साहित्य पर्खालमा इटा थप्दै लानु भएकोमा । यस्ता लेखनका कामहरू लगातार बनिरहोस मेरो पनि उत्तरोतर प्रगतिको शुभकामना।

अन्तिममा भन्नु पर्दा

साहित्य समाजको दर्पण हो भने साहित्यले प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गबाट समाजमा भएका कुरालाई कलमी यात्रामा हिड्नेहरुले देखेर लेख्ने गर्छन् । त्यही देखेर लेख्ने क्रममा नेपाली साहित्यमा प्रचलित थुप्रै विधाहरू मध्ये हामी बिच देखिँदै गर्नु भएका बी० बी० पौडेलले गजल र हाइकु विधालाई छानेर हाम्रो माझमा ल्याउनु भएको छ । गजल र हाइकु कविता जस्तै देखिन्छन् तर यसको संरचना आफ्नै प्रकारको छ । गजल एक गेय विधा हो र यो गाइनुपर्छ तर अहिले आएर यस विधालाई पाठ्य या श्रव्य ( पढ्ने र सुन्ने )का रूपमा लोकप्रियता कमाएको भएकाले वाचन मात्र गरिन्छ र त्यसको रसबाट आनन्द लिइन्छ । खास गरेर गजल विधामा काफिया गज को मुटु हो र दुईमा रदीफ त्यसलाई मिठास थपिदिने विधि हो र गजलमा दुई दुई पङ्क्तिलाई एक शेर भनिन्छ भने सुरुको शेरलाई मतला र अन्तिम शेरलाई मकता भनिन्छ।

त्यसरीनै हाइकुको संरचना पनि एक अनौठो छ जो तीन पङ्क्तिमा ५-७-५ अक्षरमा बाँधिएर लेखिनु पर्ने हुन्छ जसले एउटा कथा वा सिङ्गो विषय बोकेको हुन्छ । यिनै विषयलाई पौडेलजीले पुरा गर्नु भएको छ । हुन त बामे सर्दा सर्दै हिँड्न थाल्नु भएको छ जब हिँड्न सुरु गरिन्छ त हिँड्ने नै लड्छ, अब हिँड्न थाल्नु भएको छ बि० बि० पौडेल हिँड्न न छाड्नु होला । हामी सबैको शुभकामना छ यहाँको लेखाई प्रति।

“तपाईँको जीवन उज्वल छ अनि भविष्य राम्रो छ

लेखाइमा बढ्दै बढ्दै जानु होस् शुभकामना हाम्रो छ”

अन्तमा उहाँको यस कृतिबाट एउटा गजल:-

झर्छन् आँसु आँखाबाट सम्झिएर साथी
संसारमा कोही छैन आमा भन्दा माथि।

चुक्ता गर्न सकिँदैन दश धारा दूधको
जतिसुकै चढाएनि सुनकै फूलपाती।

स्वर्ग पनि बिर्साउने अमृत पलाउने
कोही हुन्न जिन्दगीमा आमा जस्तो जाति।

ईश्वर खोज्न मन्दिर चैत्य जानु पर्दैन है
चिम्लिएर हेर आँखा बाल मनको वाती।

Leave a Reply

Your email address will not be published. Required fields are marked *