भाइको पत्र
प्रकाश खोरिया
ओहायो, अमेरिका
“नमस्कार ! हजुर !!”
नमस्कार महोदय !!
“हजुरको नाम प्रवीण हो ? “
हो त हजुर , के थियो कि ?
फेरि मलाई कसरी चिन्नु भो ?
“म यो गाउँको नयाँ हुलाकी “
झोलाबाट एउटा पत्र झिकेर
मेरो हातमा थमाउँदै
“हजुरको पत्र आएको छ,
यो लिनुहोस् न
हस् त नमस्कार म बिदा पाउँ
हजुरको शुभ समय रहोस् ।”
ऊ सरासर आफ्नो बाटो लाग्यो
म भने अलमल्लमा परेँ
पत्रमा यसो हेरेँ ….
पत्र विदेशी लिफामा थियो
मलाई पत्र त्यही खोलेर हेर्न मन थियो
तर समय स्थान परिस्थिति प्रतिकूल थियो
जेबमा पत्र लगाउँदै म पनि
आफ्नो बाटो लागेँ ।
म मेरो डेरा पुग्ने बित्तिकै
पत्र खोलेँ –
पत्रको बाहिरी लिफामा
स्पष्ट लेखिएको थियो …
ती अक्षर मैले राम्ररी नियाल्नु परेन
त्यो पत्र कहाँबाट कसले पठाएको थियो भनेर
त्यहाँका प्रत्येक शब्द र अक्षरहरू
मेरा लागि चिरपरिचित नै थिए।
अनायासै एक पटक त म झस्किएँ पनि
लगभग मैले घर छोडेको डेढ दशक पछि
मैले मेरो परिवारले पठाएको एउटा चपेटो पाएँ
हर्षबिभोर भएँ, निकै प्रफुल्ल भएँ।
अनि अलि आतुर हुँदै पत्र सर्सर्ती पढेँ ,
पत्रमा मलाई “आदरणीय दाइ ! “ भनी सम्बोधन
गरेको रहेछ, म अझ कोमल बने
आफैलाई गर्भित भएको महसुस गरेँ ।
पत्रमा भाइका सुमधुर शब्दहरू
यसरी अघि बढ्दै थिए….
“दाइ तपाईँ र तपाईँको परिवारको
अनुपस्थितिले सारा गाउँलेहरू निराश भएका छन्
हाम्रो घर आँगन पनि सुनसान भएको छ।
घर माथिको पिपल बोटको चौतारो पनि
जीर्णोद्धारको प्रतीक्षामा कुरिरहेको छ
एकादेशको कथा सुने झैँ
गाउँलेहरू तपाईँको कुरा गरिरहन्छन्।
हाम्रो गोठको ठुलो माउ गाई कराइरहन्छ
पाडा बाछा भोगाई रहन्छन् ।
यता घरमा रोगले ग्रस्त हाम्री आमा
ओछ्यान पर्नु भएको पनि धेरै भयो
अनि सधैँ तपाईँको नाम लिइरहनुहुन्छ
“तेरो दाजु आएन …..? “ भनेर “
मेरो गला अवरुद्ध भयो
म यही रोकिएँ …
मेरो श्वास प्रश्वास रोकिए झैँ भयो
हात काँप्न थाले , शरीर शिथिल भयो ।
आँखाबाट दुई थोपा आँसु तप्प पत्रमा झर्यो
मेरा अन्तर हृदयका भावनाहरू
एकाएक जुर्मुरिन थाले ।
आँखा रसाए पनि गला रोकिए पनि
मेरा मस्तिष्कले पत्रका शब्दहरू नियाल्दै थिए।
पत्रमा अगाडी लेखिएको थियो –
“दाइ अब तपाईँ आफ्नो परिवार लिएर
चाँडै घर फर्कनु होस्,
स्वागत छ स्वदेशमा तपाईँहरूलाई
ठुलदाइले पनि तपाईँको सहानुभूति
प्रकट गर्नु भएको छ ,दाइ !
विगतका कुराले उहाँलाई पश्चात्ताप भएको छ
त्यसैले तपाईँ फजीर घर आउनुहोस् दाइ
विगतमा जे भयो अब त्यस्तो हुन्न होला
परिस्थिति सधैँभरि एकैनास हुन्न होला ।”
गलबन्दीको पछ्यौराले आँसु पुछ्दै
म आफू आफैलाई सम्हालिने कोसिस गरेँ
अनि मन मनै दृढ योजना गरेँ
म आफै र मेरै प्रयासले घर फर्कनु पर्छ
भोलि आज वा अहिले नै
मैले मेरो दायित्व निर्वाह गर्नु पर्छ ।
बस्