भूटान-नेपाल सम्बन्धका केही झलकहरू
भक्त घिमिरे-अमेरिका
नेपालसँग बिग्रिएको सम्बन्ध पुनः सन्तुलित गराउने प्रयत्नस्वरूप भूटानका ४१ औं देवराजा जाम्तुल जामयाङ तेञ्जिनले नेपाली मूलका तीनजना भूटानीहरू निनीराम सिंह, ध्वरिया र हरि सिंह सम्मिलित एउटा कार्यदल दिल्ली र काठमाडौंका लागि पठाएका थिए । सो अभियानमुखी कार्यदलले नेपालको तत्कालीन सरकारसमक्ष भूटानले नेपालविरुद्ध भोटलाई सहयोग नगरेको, नेपाल भ्रममा परेको रहेछ भनेर यकिन गराउने प्रयत्न गरेको थियो ।
भूटान र नेपाल राष्ट्रहरु कसरी, कहिले बने भन्ने धेरै पुराना कुरा भए, ती सन्दर्भहरु अलग छन् । यी देशहरु बन्ने क्रममा एकले अर्कोमाथि भरोसा गरेको, आपसी सहयोग गरेको र कहिले भरोसा तोडेको, विश्वासको भत्किएपछि फेरि युद्ध गरेको जस्ता अनेकन प्रसंगहरु इतिहासमा आउँछन् नै, हरेक पाठकहरुलाई यो कुराको ज्ञान हुनुपर्दछ । हामी यहाँनेर आधुनिक समयका भूटान र नेपालबीच पहिले बनेको सुमधुर सम्बन्ध एकपटक कसरी तोडियो भन्ने प्रसंगमा मात्र केन्द्रित हुँदैछौं ।
इतिहासका विभिन्न तथ्यगत प्रसंग अनुसार सन् १८५५ मा तिब्बत (भोट) र नेपालबीच भीषण युद्ध भएको थियो । नेपाल र तिब्बतबीचमा यो तेस्रो युद्ध थियो । यसअघि दुइवटा युद्धहरु भइसकेका थिए । सो युद्धमा भोट सैन्यको नेतृत्व सेथिया काजीले गरेका थिए भने नेपाली फौजको नेतृत्व स्वयं जंगबहादुर राणा र उनका भाइखलक बमबहादुर, धीरशमशेर, कृष्णध्वज र पृथ्वीध्वजले अलग अलग गौंडा र नाकामा रहेर गरेका थिए ।
तत्कालीन नेपालको राजनीतिले जंगबहादुर राणा (जंगे) को उदयपछि स्थायित्व पाइरहेको अवस्था थियो । जंगबहादुर आफू शक्तिमा आउनेबित्तिकै सेनाको सशक्तिकरणमा लागे किनकि उनी मानसिक रूपमा तिब्बतसँग लडाइँका लागि तयारीमा थिए । जंगेको यो हुट्हुटि किन थियो भने दोस्रो युद्धमा भोटसँग नेपाल हारेपछिको सम्पन्न बेत्रावती सन्धीले नेपाललाई अपमानित गराएको थियो । त्यो सन्धी नेपालका लागि अतिशयोक्ति अहितकर थियो । जंगे नेपालीको गौरव फर्काउन चाहन्थे । जंगे आफैंले पुरानो सैन्यसंख्यामा थपिने गरी १४ हजार नयाँ भर्ती गरेर भोटविरुद्ध युद्धको घोषणा गरे ।
यसरी थालिएको तेस्रो नेपाल-भोट युद्धमा नेपालीपक्षले जित्यो र थापाथली दरबारमा नयाँ सन्धी गरेर युद्धको अन्त्य घोषणा गरियो ।
यो नेपाल र तिब्बतको युद्धप्रसंगमा भूटान कसरी जोडियो त ? सबैको मनमा जिज्ञासा जाग्नसक्छ ।
अब लागौं भूटानतर्फको चर्चामा । नेपाल-भोटको त्यही युद्धमा भूटानले नेपालविरुद्ध भोटलाई सघाएको सन्देह राणाहरुले लिएका थिए । यसै कारण नेपालले भूटानसँगको पुरानो सम्बन्धलाई तत्काल तोडेको थियो । यो मित्रता तोडिएको सन्दर्भ राम राहुल भन्ने भारतीय लेखकले सन् १९७१ मा प्रकाशित आफ्नो कृति ‘मोडर्न भूटान-Modern Bhutan’ (आधुनिक भूटान) मा विस्तारपूर्वक उल्लेख गरेका छन् । सोही प्रसंग अर्का लेखक नगेन्द्र सिंहले पनि सन् १९७८ मा प्रकाशित आफ्नो पुस्तक ‘भूटानः हिमाली क्षेत्रमा अवस्थित एउटा राज्यः भूगोल, त्यसका प्रजा र उनीहरुको सरकार’ मा उल्लेख गरेका छन् ।
नेपालले भूटानप्रति किन त्यस्तो सन्देह गऱ्यो भन्ने सन्दर्भमा दुइ अलग अवधारणाहरु छन् । एउटा अवधारणामा नेपालले युद्धको क्रममा कब्जा गरेका युद्धबन्दीहरुमध्ये एकजना भूटानको नागरिक पनि पाइएको कारण भूटानले भोटलाई सैनिक सहायता गरेको नेपालपक्षको ठम्याइ थियो । अर्को अवधारणा अनुसार तत्कालीन तिब्बती शासक, ११ औं दलाई लामा खेद्रुप ग्यात्सोले भूटानका धेरै मानिसहरुलाई विभिन्न प्रलोभन देखाएर सेनामा सामेल गराएका थिए । सन्देहको कारण जेसुकै भए पनि त्यसको परिणाममा भूटान र नेपालबीच शताब्दि अघिदेखि स्थापित धार्मिक तथा परम्परागत सम्बन्ध एक झट्कामा तोडिएको थियो ।
सो युद्धमा नेपालविरुद्ध भूटान सामेल भएको सन्देहमा मुस्ताङ्गको इलाका छोडेर नेपालभित्र भूटानले पहिले उपभोग गर्दै आएका सम्पूर्ण धार्मिकक्षेत्र , अन्य सांस्कृतिक तथा आर्थिक गतिविधिमा रोक लाग्यो । मुस्ताङ्ग क्षेत्रमा चाहिं भूटानीहरुको वैवाहिक नातासम्बन्ध र रगतको साइनोसमेत स्थापित रहेका कारण भूटानविरुद्ध कदम चाल्दा मुस्ताङ्गसमेतले विद्रोह गर्ला भनेर नेपालले प्रतिबन्ध नलगाई छोडिदिएको थियो । अर्थात् मुस्ताङ्ग भनेको नेपालभित्रको एउटा भूटान थियो जुन राजनीतिक अधिकारबाहेक अन्य विषयमा अहिलेसम्म पनि सोही स्थिति कायम छ ।
यसरी सन् १८५५ मा नेपाल-भोट युद्धका कारण यी देशहरुबीचको सम्बन्धमा ठूलै आघात पुगेको थियो । भूटान भने युद्धपछिका छ वर्षसम्मको यस्तो तनावपूर्ण स्थिति हटाएर पुरानो सम्बन्ध पुनर्स्थापित गराउने प्रयत्नमा लागेको थियो । त्यसताका भूटानमा योन्तेन ग्याल्छेन जेखेन्पो (धार्मिक प्रमुख) थिए भने जाम्तुल जामयाङ तेञ्जिन ४१ औं देवाराजा [देशी] (राजनीतिक/प्रशासनिक प्रमुख) थिए ।
नेपालसँग बिग्रिएको सम्बन्ध पुनः सन्तुलित गराउने प्रयत्नस्वरूप राजा जाम्तुल जामयाङ तेञ्जिनले नेपाली मूलका तीनजना भूटानीहरू निनीराम सिंह, ध्वरिया र हरि सिंह सम्मिलित एउटा कार्यदल दिल्ली र काठमाडौंका लागि पठाएका थिए । सो अभियानमुखी कार्यदलले नेपालको तत्कालीन सरकारसमक्ष भूटानले नेपालविरुद्ध भोटलाई सहयोग नगरेको, नेपाल भ्रममा परेको भनेर यकिन गराउने प्रयत्न गरेको थियो ।
देशी तेञ्जिनले सो कार्यदलमार्फत दुइदेशबीचको आपसी सम्बन्ध पुनः पहिलेझैं कायम राखियोस् भन्ने आशयको अर्जीपत्रसमेत नेपाललाई पठाएका थिए । थिम्पूस्थित नेशनल लाइब्रेरीमा हालसम्म मौजुद, छ्योकी भाषामा लेखिएको सो पत्रको एकप्रति जसमा देवराजाको लाहछाप लालमोहर पनि लागेको बताइन्छ !
सो पत्रको ब्योहोरा केही भारतीय लेखकका पुस्तकहरूसहित त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल र एशियाली अनुसन्धान केन्द्रद्वारा प्रकाशित, अनुसन्धाता सुशिला मानन्धर (फिशर) को प्रतिवेदनात्मक कृति ‘नेपाल-भूटान सम्बन्धः एक ऐतिहासिक विवरण’ मा पनि समेटिएको छ ।
पत्रको मूलप्रति छ्योकी भाषामा रहेको हुनाले त्यसको अनुवादमा केही तलमाथि भएको हुनसक्छ । यद्यपि, त्यसको मूल आशयमा भूटान पक्षले नेपाल-भोट युद्धमा आफ्नो संलग्नता नभएको पुष्टि गर्ने प्रयत्न गरेको भन्ने अर्थमा फरक परेको छैन । सो पत्रात्मक आशयको एक अंश संक्षेपमा यहाँ राख्न चाहन्छु ।
“नेपाल भोटको युद्धमा भूटानले भोटलाई सघायो भन्ने नेपालपक्षको सन्देह सर्वथा असत्य हो । हामी शदियौंदेखिको मित्रवत सम्बन्धलाई यसरी अपर्झट अन्त गर्न चाहँदैनौं ! खास कुरा के थियो भने युद्धबन्दी बनेका भूटानी नागरिक तिब्बतस्थित कालोन शेद्रा विद्यालयमा बौद्धधर्मको शिक्षा लिन अध्ययनरत सोनाम डेन्ड्रूप थिए । उनी भोटको सैनिकलाई सहयोग गर्न नभएर विद्यार्जन गर्न त्यहाँ रहेका थिए । भोटको अमन-चैन भनेको उसैको मात्र निजी चाहना हो । तर, हाम्रो खुशी भनेको गोर्खाका राजा र रैतीको खुशीसँग पनि सम्बन्धित छ । तपाइँहरुको तर्फबाट पठाइएको राजाज्ञ तपाइँका प्रतिनिधिबाट हामीले पायौं । सो आज्ञापत्रको सन्देशबाट म र मेरा प्रजा दुःखी छौं । हामीले भोटको पक्ष कहिल्यै लिएका छैनौं । कालोन शेद्रामा अध्ययनरत एक विद्यार्थी युद्धबन्दी बनेको कारण यो मिथ्याबोध भएर हाम्राबीचमा यो भ्रम सृजना भएकोमात्र हो । जे भए पनि पुरानो मित्रता यथावत राख्ने अभिप्रायले विद्यमान तनावको स्थिति हटाउन एकै अभिभावकका सन्तानझैं रहेका नेपाली मूलका यी रैतीहरूमार्फत यो स्पष्टोक्ति पत्र पठाउँदैछु !”
सो पत्र लिएर भूटानबाट हिँडेका निनीराम सिंह र उनको टोली अनेकौं बाधाहरु सामना गर्दै दिल्ली पुगेर कम्पनी सरकार र नेपालको नियोगमा निर्दिष्ट सन्देश बुझाएका थिए ।
भूटानको तर्फबाट यस्तो अर्जी आए पनि नेपालपक्षले तत्कालै प्रतिबन्ध फुकुवा गरेन भन्ने संकेत अर्को तथ्यबाट खुलेको छ । अर्को तथ्य के भने भूटानको तर्फबाट फेरि पनि नेपालका तत्कालीन कमाण्डर इन्-चीफ् कृष्णबहादुर राणालाई पत्रात्मक निवेदन लेखेर ‘परम्परागत धार्मिक सम्बन्ध अनुसार नेपालभित्र भूटानले पाउँदै आएको विभिन्न जग्गा स्वामित्वको अधिकार र अन्य सुविधामा प्रतिबन्ध फुकुवा गरीपाउँ’ भनेर अर्जी चढाइएको थियो । प्राध्यापक तथा इतिहासविद् रमेश ढुंगेलको ‘द किङ्डम अफ् ह्लो (मुस्ताङ्ग), अ हिस्टोरिकल स्टडी’ नामक कृतिले संकेत गरे अनुसार मुस्ताङ्गसहित परम्परागत रूपमा भूटानले नेपालभित्र हक लिएका जग्गाहरुमा नकथली, सिम्बू, हाकु, कल्यारी, किमाडोल पर्दथे ।
♦♦♦
ईतीहासीक लेख धेरै राम्रे छ। प्रयास का लागी लेखक लाई हार्दिक बधाई। एक ठाउमा 1855 को सट्टा 1955 भएछ। सच्याउन जरुरी छ। यध्धपि यो टाईपींड मिस्टेक मात्र हो।
नेपाल- भुटान पौरानीक सम्बन्ध देखी आदुनिक युग सम्म आई पुग्दै गर्दा धेरै उत्तर चडाब भएको पाईन्छ। तर अध्धयनका लागी सोर्सहरु तेती भेटीन्दैनन्। हाम्रे ईतिहास र आईडेनटीटी का लागी पनि ती तथ्यहरु खोजेर क्लीयर हुनु जरुरी छ। आगामी दिनहरुमा यस बिशय प्रति सबैके धयान जाओस॥