मलाई दया लाग्यो
नारद आचार्य “सुदामा”
पेन्सिल्भिनिया, अमेरिका
कुरो केही दिन अगाडीको हो। म एकादशीको कथा सुन्न एउटा मन्दिरमा गएको थिए। मन्दिरमा भक्तको ठुलो घुइँचो थियो। एकादशीको कथा चल्दै थियो। एकजाना युवा भक्तले उठेर स्वामीज्यूलाई प्रश्न गरे। “स्वामीज्यू ! भगवान् कहाँ बस्नु हुन्छ ?” स्वामीले प्रसन्न मुद्रामा भक्तको प्रश्नको जवाफ रमाइलो तरिकाले दिनुभयो । “भक्त भागवत, भगवान् भक्तको दिलमा निवास गर्नुहुन्छ। भगवान् जीवजन्तु, वृक्ष वन्सपति, पृथ्वी, जल, आकाश, वायु, अग्नि आदि सबैमा समाहित हुनुहुन्छ । कहिले महापुरुष बनेर त कहिले भिक्षु बनेर अर्थात् रूप धारण गरेर भक्तजनलाई दर्शन दिनुहुन्छ ।”
धेरै सज्जनवृन्दहरू मध्ये मेरो छेउमा एकजना अपरिचित सन्त बस्नु भएको थियो । गेरु वस्त्रधारी मलाई हेर्दै बेला-बेला हाँस्नु हुन्थ्यो । सन्त निकै रोचक हुनुहुँदो रहेछ मनमनै भन्ठाने । मेरो ध्यान धेरै पल्ट भङ्ग गर्न खोजे तर सफल भने भएनन् । कथाको बिच बिचमा राम, कृष्ण, विष्णु, सरस्वती, शिव-पार्वती आदि भगवानका भजन मण्डलीबाट मनमोहक भजन प्रस्तुत साथै नृत्य समूहबाट पनि उत्कृष्ट नृत्यद्वारा मनोरञ्जन लिइरहेका थियौं। सत्सङ्ग भवनमा मेरा परिचित धेरै गुरूजन देखि मित्रहरूको उपस्थित देखेर हर्ष लाग्यो। केही अपरिचित मित्रहरूसँग परिचय पनि भयो भने गुरूजनहरूको सामीप्य मिल्यो। यतिकैमा कथा समाप्त भएको सङ्केत भयो। तीर्थ प्रसाद ग्रहणपछि भगवान् अनि स्वामीज्यूको आशीर्वाद लिएर हिँड्न के लागेको थिएँ अघिका सन्तले आग्रह गरे निजलाई निजको निवाससम्म छोड्न, मैले सन्तको आग्रहलाई नकार्न सकिनँ।
मैले मेरो सवारीमा बस्न आग्रह गरेँ ती सन्तलाई र बाटो लाग्यौँ । जाँदा जाँदै बाटोमा रेडलाइटले रोक्यो। एकजाना भिक्षु थरथर काँप्दै म प्रति हात बढाए। यति खेर मलाई स्वामीज्यूको कथाले च्वास घोच्यो; मनमनै दण्डवत गरेँ अनि केही द्रब्य थमाई दिएँ । उसले ‘गड ब्लेस् यु’ भने, लाग्छ केही दिन देखि भोकैथिए ती अपरिचित भिक्षु तर सन्तले टुटे फुटे अङ्ग्रेजीमा नराम्रो गरी गाली गरे। म बोलिनँ, सन्तको मुहारमा हेरेर हाँसिरहेँ । सन्तको रक्तचाप निकै बढेको अनुमान गर्न सकिन्थ्यो। दुबैमा मौनता छायो । अलिक पर पुगे पछि गाडी रोक्ने सङ्केत गरे सन्तले, मैले सन्तको आग्रह स्वीकार गरेँ । सन्त गाडीबाट निस्केर सरासर आफ्नू गृहको आँगनमा पुगे, बिदा भए पनि भन्न सकेनन् या मन गरेनन् । एक पटक पनि पछाडि नहेरी मूल द्वार हुँदै गृह प्रवेश गरे। म अलमल्ल परे । तर मलाई सन्तप्रति दया जाग्यो !!!