मूल्यहीन छन् भूटानीका आँसुहरू

मणिराम धिमाल ‘दिपित’/ टेक्सास, अमेरिका

अझै…..
मेरा सन्तानहरू
सुस्केराको ज्वारभाटा ओकलिरहेछन्
झुपड़ीमा खुइ तान्दै,
निदारका पसिना पुच्छन्,
उही पुरानो जीवनको कथा र
भोगाइ सम्झेर ।
अझै बिनामूल्यको महँगो जीवन घिसार्छन्
रोग भोक र शोक पोल्टोमा बाँधेर
मूल्यहीन आँसुहरू बगाउँदै ।
खै किन हो ? त्यसै बिलीन छन् सृष्टिका फूलहरू,
आज मेरा सन्तानहरू जूनको वैंशालु अनुहारभित्र
वेदनाका प्रतिविम्ब र बादलहरू बोकेर
उदास छन् बर्सौंवर्षदेखि नै
अविरल आँसुका फोहोराहरू,
यत्रतत्र छरिएका छन्
छाति र चौबन्दीका तुनाहरूबीच
अझै आँसुका खाटा र टाटाहरू छन्
तैपनि म पस्किरहेको छु
भूटानीका अनमोल आँसुहरू ।

अझै भूटानी बगैंचामा
भविष्यका सुन्दर बिरुवाहरू
मालीको बिना रेखदेख
लत्ता र घारीबीच मर्न नसकेर
ठिंग उभिएका छन् निर्जीव प्राणीझैं
घाट न घरको भएर ।

त्यसै….
म सधैं,
मेरा सन्तानहरूको कथा सुन्ने गर्छु
आँसुहरूको मूल्य खोज्ने गर्छु
मानव दर्द र पीड़ालाई छोड़ाएर
विश्वमाझ पुर्‍याउने गर्छु
म सधैं बीच बजारमा
एक तमासाले असह्य वेदनाको
नारा लगाउने गर्छु ।

तर…खै ???
सुन्नेले पनि अझै नाराहरू
नसुने झैं गरी कान फर्काउँछन्,
देख्नेले पनि अझै मेरा आँसुहरू
नदेखे झैं गरी आँखा तर्काउँछन्,
बोल्नेले पनि अझै के के बोलेर
व्यथामा नून-चुक थपिदिन्छन्
अनि, म र मेरा सन्तानहरूका
छातिका घाउमा झन् किरा सल्बलाउँछन्
र, शीथिल हुन्छु,
मेरा सन्तानहरूको भविष्य
तुहिएको देखेर !
(सौजन्यः ‘‘अविरल आँसु’’ कवितासंग्रह)

Leave a Reply

Your email address will not be published. Required fields are marked *