मेरो प्रश्न छ
आईती राई-कनेक्टिकट/अमेरिका
(नारीदिवस विशेष)
यो समाज एउटा रेखा कोर्छ र भन्छ-
खबरदार यो सिमाना काट्लिस् !
यो आदर्शको सिमाना काटे,
नियम र कानुनमा आफैंलाई दोषी ठान्नु;
तर, मसित प्रश्न छ;
जसले मलाई बन्धनमा राख्छ
म कसरी त्यसलाई समाज मन्नु ?
नारीलाई तराजुमा राखेर भनियो-
‘तिमीलाई नैतिक मूल्यसित जोखिनेछ !’
धेरै बोले, मुखाले भइन्छ
थोरै बोले, घोसे भइन्छ-
बोल्दै नबोले लाटी भइन्छ !
सके हाँस्तै नहाँस्नु
हाँस्नै परे पनि मुख छोपी हाँस्नू-
बोल्नु नरम अनि
शिर झुकाई लज्जालु बन्नू-
हिड्दा चाल नगरी हिँड्नू,
भाँडा माझ्दा
डाडु-पन्यू बजाउँदै नबजाउनू-
यी सब छोरीकै लागि
तोकिएका सिमाना हुन् !
यदि मैले मेरो चेतनाको कुरा बोलेमा
उनीहरुले ‘असभ्य’, ‘संस्कारहीन’
भनेर मलाई बिल्ला भिराइदिन सक्छन्-
मैले मेरो इच्छा व्यक्त गरेमा
म ‘विद्रोही’ हुनेछु, ‘अटेरी’ बन्नेछु !
मेरो परिभाषा निर्धारण गर्ने अधिकार
म स्वयंबाहेक अरु कोसित छ ?
म सोध्न चाहन्छु –मेरो अनुपस्थितिमा
मेरो विवरण तयार गर्ने
अख्तियार अरु कोसित छ ?
यदि म उनीहरुकै छोरी वा बहिनी भए
संसारले सुन्ने गरी भन्नेछन् उनीहरुः
मेरी छोरी, मेरी चेली शिक्षित बनोस्
उसका इच्छाहरु पूरा गरोस् !
म स्वतन्त्र, आँटी र
स्वयंको प्रतिरक्षामा अब्बल बनौं;
म यात्रा गरौं, संसार बुझौं !
तर, यही काम मेरा साथीहरुले गरे
उनीहरु यो पचाउनै सक्तैनन् !
मेरो प्रश्न छ-
नारी अस्तित्वको कुरा गर्नेहरु
किन आज पनि छोरीलाई
‘अर्काकै भित्ता टाल्ने जात’ भनिरहन्छन् ?
‘छोटो वस्त्र नलगाउनु;
त्यसले पुरुषलाई लोभ्याउँछ’-
ममाथि कुटिल दृष्टि परे यसरी
मेरो वस्त्रलाई दोष दिन्छन् उनीहरु !
मेरो प्रश्न छ-
के यो पहिरनले नै उनीहरुलाई
मेरो इज्जत लुट्ने अनुमति दिन्छ ?
ठीक छ, म स्वीकार गर्छु;
छोटो वस्त्र बलात्कारकै स्वागत भएछ रे-
अब भन्नुस्, तिनीहरु को हुन्
जो बलात्कारमा लिप्त छन् ?
उनीहरुमा अलिकति आत्मसम्मान छ?
ल- म खराब केटी नै भएँछु;
तर, मेरो वस्त्र छोटो हुँदैमा
मलाई बलात्कार गर्ने तिनीहरु
सज्जन हुन् कि दुर्जन ?
अश्लील उत्तेजनामा स्वयंलाई
नियन्त्रण गर्ने उनीहरुको कुनै चेतना छ?
नारीको अधीनमा पर्न नचाहने पुरुषहरु-
लौ भन-मेरो छोटो लुगा हेरेर
ममाथि जाइ लाग्छौ भने;
तिमी कसको अधीन पऱ्यौ?
नारीको अधीन नरहने तिम्रो आदर्श
त्योबेला कहाँ गयो-
जतिबेला तिमी बलात्कारी बनिरहन्छौ ?
म सोधिरहेकी छु प्रश्न-
के मलाई बलात्कार गरेरै तिमी
आफ्नो पुरुषत्वको दाबी गरिरहन्छौ ?
मेरा पुरुष मित्रहरु भन्छन् –
हाम्रा चेलीहरु, हाम्रा आमाहरुलाई
म पुरुषको दोषी नजरबाट सुरक्षित राख्छु;
मेरा चेलीहरुप्रतिको दुर्व्यवहार म सहन्न-
उनीहरु भन्छन्-
बहिनी तिमी होशियार बन,
पुरुष भनेको खराब हो, रद्दी हो-
तर, यो सोचेर म अचम्भित हुन्छु;
के यो भन्दै गर्दा उनीहरुले
तिनै खराब पुरुषहरुको हाँचमा
आफू स्वयंलाई पनि समावेश गर्दैछन् ?
कि उनीहरु अरु छोडेर
पारिवारिक नाताका नारीहरुको मात्र
सुरक्षाको कुरा गर्दैछन् ?
पुरुषले पुरुषलाई ‘खराब’ भन्ने शब्द
आफ्नै चेली र आमाविरुद्ध
भएको दुर्व्यवहारमा मात्र प्रयो गर्छन्-
के यो कुरो उनीहरुलाई स्वीकार्य छ ?
केटाहरु आफ्नो समूह बाँधेर
केटीहरुकै कुरा गर्छन् रे;
‘खराब केटी’का
नग्न तस्वीरहरु लेनदेन गर्छन् रे-
जब म सोध्छु-
पुरुषहरु किन त्यसो गर्छन् ?
खराब केटी भनेको को हो?
एउटी केटीलाई खराब कसले बनाउँछ?
त्यसबेला उत्तर आउँछ-
‘तिमी अञ्जान छौ, केटा भनेको केटा हो !’
यस्तो उत्तर सुनेर लाग्छ-
पुरुषले जे गरे पनि सामान्य हो;
मेरो प्रश्न त केवल
संसारको सत्यप्रति अनभिज्ञताको संकेत हो !
यस्तो उत्तरले के भन्छ भने-
पुरुषका सबै हर्कतलाई मैले
अति सामान्य रुपमा लिनुपर्छ ,
चुपचाप बस्नुपर्छ, म बोल्न हुन्न !
यस्तो उत्तरले भन्छ-
पुरुषसे मप्रति जे चाहन्छ
त्यो व्यवहार गरोस्-म बोल्न हुन्न,
म अन्तरमुखी बन्नुपर्छ, लाटी हुनुपर्छ,
तर, विरुद्धमा बोलें यदि भने
म संसारभरिकै घमण्डी बन्नेछु !
जब म यस्ता कुराहरु सुन्छु
मेरो मनमा खुल्दुली हुन्छ-
आफ्ना चेलीहरुको सुरक्षा गर्ने
ती तमाम दाजु-भाइहरुले
संसारका खराब पुरुषबाट
आफैंलाई कसरी अलग राख्छन् ?
‘रद्दी’ पुरुष भनेको को हुनसक्छ?
खराब र सज्जन पुरुषहरुलाई
कहाँनेर रेखा कोरेर छुट्याउन सकिन्छ?
म समाजका नियम-कानूनहरु,
खास गरी समाज बनाउने मानिसहरुले
तयार गरेका आदेश र हुकूमहरु-
चुपचाप पालना गर्दै थाकिसकें;
त्यसैले, आज म प्रश्न सोधिरहेछु-
समाजको सभ्यता कायम गर्न,
समाजलाई उन्नत र सुसंस्कृत बनाउन
यदि विधानहरु बनेका हुन् भने-
नारीका लागिमात्र नियमहरू छन् ?
तिनै नियमहरू पुरुषले पालना गर्नुपर्छ कि पर्दैन ?
किन ? किन नारीले मात्र होशियारपूर्वक
हिँड्नु पर्ने? लज्जालु हुनुपर्ने, नरम बोल्नुपर्ने?
सोही अभ्यास पुरुषले किन नगर्ने?
यस्तो नियम समाजका प्रत्येक
व्यक्तिले पालन गर्ने चलन बनाए-
के हाम्रो संस्कृतिको विनाश हुन्छ र ?
यदि लात हान्नु नारीको लागि गलत हो भने,
यो पुरुषको लागि पनि गलत हुनुपर्छ होइन र?
लात हान्नु, घृणा दर्शाउनु, उत्ताउलिनु यदि
नारीले मात्र गर्न नहुने भन्छौ भने
भो पर्दैन मलाई कुनै अर्ती नगर्नु-
यदि मैले तिमीलाई सुन्नुपर्छ भने
गलत सबैको लागि गलत हो,
छोरा र छोरीमा गल्तीको विभेद छैन- भन्देऊ !
मेरो पुर्खाले साँचेको संस्कृतिलाई
म पनि खूब माया गर्छु-
तर, अन्याय म कदापी सहन्न,
असमानतामा म रमाउन सक्तिनँ-
त्यसैले म मेरा
माइती र बाबालाई भन्न चाहन्छु;
म तपाईंकी छोरी वा चेलीको मात्र
उन्नति, प्रगति र सफलताको लागि होइन,
म जस्तै मेरा साथी-संगी
गाउँका छोरीहरुको पनि
विकास, उन्नति सोचिदिनुस्-
छोरीलाई मात्र प्रश्न नगरी
छोरालाई पनि शिक्षित बनाउनुहोस् !
होइन भने, मेरो प्रश्न छ-
हाम्रो संस्कृति छोरा र छोरीबीच
विभेद राख्ने कठोर परम्परा हो?
न्याय र समानताको विरोध गर्ने
थोत्रो सामाजिक आधारशीला मात्र हो ?
(कविताको संरचनामा सहयोग संयोजनःभक्त घिमिरे)