म गलत भएँ रे !
हरि पराजुली,
झापा-नेपाल
म मौनतामा रमेको बेला
शान्ति र सत्चिदानन्दमा चढेको बेला
बुद्धत्वको खोजीमा निस्किएको बेला
गान्धी र आइन्सटाइन उत्प्रेरित भै
जब म स्वस्थ विचार लिएर उभिन्छु सगरमाथा,
शान्ति बनेर बग्छु समुन्द्र,
तटस्थ विचारहरुमा
अडिग लक्षहरुमा,
तब आक्रोशमा उफ्रनछन् मेरा सज्जन मित्रहरु !
साथी,
म एक्लो भएँ रे,
म बेमेल भएँ रे,
मैले सँगै बसेर ताश उठाइनँ रे,
होश गुमाएर गाँजा उडाइनँ रे,
भट्टी आतंक मच्चाइनँ रे,
सूरा-सुन्दरीसँग कम्मर मर्काइनँ रे,
त्यसैले प्रिय मित्र, म गलत भएँ रे !
खै ! के लेखौं र मेरा चमत्कारी नौला खबरहरु ,
भुइँचालोले भात्किएको घर झैं
एक्सिडेन्टमा परेको गाडीको सिसाझैं
मेरो जीवन औल्याउँदै,
उनीहरुले भने :-
म शक्तिहीन बनें रे,
लुलो, कुँजो, अपांग बने रे
किनकि,
वैंसले मात्तिएर खुट्टो उचाल्न सकिनँ,
रंगमा रंगीएर मुन्टो बटार्न सकिनँ,
कपुरी ‘क’, खरायो ‘ख’ पढें
‘ए’ फर एप्पल, ‘बि’ फर बल, पढ्नै सकिनँ
कुटो-कोदालोमै लडें
साथी-भाइसँग लड्दै लडीनँ,
नेतागिरी बन्न कहिल्यै हिँडीन
आवेगले कसैको टाउको गिँडीन-
छिनमै रुप फेर्ने चमत्कारी भइनँ,
सिंहदरबार छिर्ने बलात्कारी भइनँ,
त्यसैले प्रिय मित्र, म गलत भएँ रे !!!