यसरी बोल्छ इतिहास-५

बि.पी. कश्यप

भूटानको सन्दर्भमा यसअघि भएका कुरामात्र गरेर पुग्दैन । आजसम्म पनि विश्वक्रियाकलापमा भूटानको मौलिक सक्रियता छैन । भूटान अन्तर्राष्ट्रिय रंगमञ्चमा भारतका लागि एउटा ‘पकेट भोटर’ मात्र हो । अन्तर्राष्ट्रियस्तरका आर्थिक कारोबारवाला संस्था र भारतलगायतका देशहरूले थिम्पूमा पैसाको खोला बगाए पनि भूटान आर्थिक दृष्टिले आत्मनिर्भर बनेको छैन । विदेशी सहयोगले राजनीतिमा प्रभाव फैलाइरहेको छ । सैन्यक्षमताको दृष्टिले भूटान कुनै बाह्य आक्रमणबाट आफ्नो प्रतिरक्षामा सफल हुने होइन । सन् २००३ मा भारतबाट अवैधरूपमा भूटान छिरेका विभिन्न पृथकतावादी संगठनका लड़ाकूहरूलाई निकाल्न त भारतकै सैनिक मगाएको थियो भूटानले भने अन्य कुरा पर राखे हुन्छ अहिलेलाई ! कुटनीतिक दृष्टिमा पनि भूटानको कार्यक्षेत्र भारत-चीनबीचमै सीमित छ । हाल भूटानका शासकहरूमा गम्भीर मतभेद पैदा भएको छ जसको परिणाम राजाले गद्दी त्यागेर आफ्ना छोरालाई शासनको हक सुम्पिएको स्वाङ पार्न बाध्य भएका छन् । दरबारभित्र गुटबन्दी शुरु भइसकेको छ । अवैध राजपुत्र जिग्मे गेशार नाम्गेल (राजासित उनकी आमाको विवाह हुँदा उनी आठ वर्षका थिए)-ले गद्दी पाउनु नहुने दाबीमा एउटा गुट छ भने विधानतः राजा स्वयं सेनाका अधिपति भएकाले राजपरिवारबाटै अर्को व्यक्ति सैनिक प्रमुख बन्नु नहुने अर्को गुटको दाबी छ । राजाले आफ्नो विवाहपूर्व नै जन्मिए पनि अफ्नै पुत्र मानेका, चार रानीमध्ये माइली रानीका छोरा गेशारलाई नयाँ राजा बनाएका छन् भने गद्दी भाग खोजेर भड्किएका जेठी रानीपुत्र जिगेल वाङ्चुकलाई सेनाप्रमुखको पद दिएर थुम्थुम्याएका छन् । सैद्धान्तिकरूपमै पनि दरबारमा गुटबन्दी छ-एउटा गुट भूटानको राजसंस्था स्थापनाभन्दा पहिलेखि मैत्रीपूर्ण सम्बन्ध कायम रहेको भारतसित ढुक्क बन्नुपर्ने र अझ विश्वासको वातावरण बढाउनुपर्नेमा जोड दिन्छ भने अर्को गुट अनुहार, जाति, धर्म-परम्परा र संस्कृतिको मूल तिब्बत भएकोले तिब्बतको हर्ताकर्ता आजको चीनसितै बढी नजिकिनुपर्नेमा जोड दिन्छ । केही वर्षअघिको कुरा हो, भारतमा छुट्टै राज्यको माग गर्दै पृथकतावादी विद्रोह हाँकिरहेको संयुक्त असम मुक्ति मोर्चा (उल्फा), जातीय स्वायत्तताका लागि सशस्त्र युद्धमा सामेल बोडोहरू र कामतापुर मुक्ति आन्दोलनका कामतापुरी संगठनका लडाकूहरूलाई भूटानले सुरक्षित आश्रय दिएको थियो । यो कुरामा भारत थिम्पूसँग निकै चिड़िएको पनि थियो । अन्ततः भारतीय दवाबको सामना गर्न नसकेर सन् २००३ को दिसम्बरमा भूटानले भारतीय विद्रोहीहरूलाई बलप्रयोग गरी भूटानबाट खेदुवा लाउन भारतलाई अनौपचारिक अनुमति दियो ! फलस्वरूप भूटानी सेनालाई देख्ने ठाउँमा राखेर नदेख्ने ठाउँबाट भारतीय सेनाले भूटानभित्र हजारौं विस्फोटक प्रहार गर्‍यो । विद्रोहीहरू त्यहाँबाट भागे, केही पक्रा परे जसमा उल्फाका संस्थापक भीमकान्त बुरागोहिँ, कामतापुरीका टोम अधिकारीजस्ता नेताहरू थिए । तिनलाई भूटानले पक्रेर भारतीय प्रशासनमा सुपुर्दगी गरेको नाटक रचियो, वास्तवमा भूटानभित्रै पसेर भारतकै सुरक्षकर्मीले उनीहरूलाई पक्रेको थियो ! यसको सट्टामा सन् १९९७ देखि दिल्लीमा नजरबन्दी बनेका सार्छोप नेता रोङथोङ क्युनले दोर्जीलाई भारतले भूटानमा हस्तान्तरण गर्ने आशा थिम्पूले पालेको थियो । तर, हिस्स पर्नुबाहेक थिम्पूको हातमा केही परेन । रोङथोङका अतिरिक्त भारतमा तीनदशक पहिलेदेखि रहेका भूटानीहरू पनि छन् जसमध्ये राजपरिवारकै सदस्यहरू समेत पर्दछन् । पश्चिमोत्तर भारतका धर्मशाला र मनालीमा रहँदै आएका यिनीहरूमा शाब्ड्रूङको नयाँ अवतार मानिएका व्यक्ति (अहिले उनी थिम्पूमै बन्दी अवस्थामा रहेको खबर छ) र स्व. राजा जिग्मे दोर्जी वाङ्चुककी रखौटी रानी आशी यांकी र उनका दुई छोराहरू दिल्लीमै छन् । आफू रानी भएकीले वंशाणुगत हिसाबमा आफ्ना छोराहरूको पनि भूटानको शासनमा हक रहेको दाबी गर्नेहुँदा सन् १९७४ तिर आफूमाथि दरबारबाट घातक आक्रमणको संकेत बुझेर आशी यांकी देश छोडी भागेकी थिइन् । दिल्लीको नजाँनिदो आड़ पाएकाले अझै पनि जिग्मे सिंगेलाई आफ्नी सौतेली आमापट्टिका भाइ जुर्मे वाङ्चुकबाट सत्ता हडप हुने ठूलो डर रहेको बुझिन्छ ! त्यसैले उनले आफ्ना चार रानीहरूको विमतीमै नाजायजपुत्र गेशारलाई सत्ता सुम्पिन हतार गरे ! थिम्पूका लागि शूल बनिरहेका यिनीहरूलाई कुनै दिन भूटान आफ्नो स्वार्थविपरीत चलेमा तुरुपको रूपमा प्रयोग गर्ने भारतले अठोट राखेको छ । रोङथोङ क्युनलेलाई पनि भारतले त्यही बगालमा मिसाइसकेको थियो यद्धपि, क्युनलेको भरखरै आकसम्क मृत्यु भइसकेको छ । भूटानलाई यिनीहरूको हाउगुजी देखाएर अब भारतले बिरालोलाई एक हातमा दूध-भात र अर्को हातमा लठ्ठी देखाएझैं गर्नेछ ! यही कुराको आंशिक संकेत बुझेर दिल्लीसित सतरञ्ज खेल्ने हिसाबमा थिम्पूले भारतका पृथकतावादी विद्रोहीहरूलाई राजकीय सम्मानका साथ भूटान भित्र्याएको थियो । जातीय रक्षाको सवालमा अघि बढेका असमीयाँहरूलाई बलियो सहयोग दिँदा आफूले पनि उनीहरूबाट पैंचोफिर्ती सहयोग पाउने थिम्पूको आशा थियो । पृथकतावादी संगठन अल्फाका सैन्य नेता परेस बरुवा र अरविन्द राजखुवाहरूको बंगलादेश पलायन र श्रीलंका लिट्टे नेता प्रभाकरणको समाप्तिपछि सशस्त्र विद्रोह दक्षिण एशियाबाटै निरुत्साहित भएको कल्पना दिल्लीले गरिरहेको हुनसक्छ । तर भूटानको दरबारले तिनीहरूको बीऊ उत्तरी भूटानमा लगेर जोगाई राखेको छ । अरबिन्द राजखुवा र परेस बरुवाहरूको संरक्षण भूटानको उत्तरी भेगमा भइरहेको छ भन्ने अनुमान लगाउन जोकसैले पनि सक्छ । यसका धेरै आधारहरू छन् ।

सन् १९९० तिरै दक्षिणका ल्होत्साम्पाहरूलाई लखेट्न तत्कालीन गृहमन्त्रि दागो छिरिङले गोप्य सम्झौता गरी पृथकतावादीहरूलाई भूटानप्रवेशको अनुमति दिएको असम कंग्रेसका नेता तरुण गोगोईले समेत पुष्टि गरेका थिए । मंगोल र थाई-बर्मेली मूलका यी भारतीय लडाकूहरू हेर्नलाई भोटियाजस्तै देखिन्छन् । वर्णमा कालोपन केही अधिक भएपनि हिमाली क्षेत्रको बसोबास र भूटानी खानपानले उनीहरूको वर्णसमेत फेरिँदै गएको भान हुन्छ भने भाषा सिकेपछि त भूटानकै परम्परागत पहिरनमा सजिएका उनीहरूलाई बोल्दा कसैले भोटिया होइन भन्नै सक्दैन ! भारत सरकारको औपचारिक याचना र दवाबका कारण निलौं कि ओकेलौं भएर सन् २००३ मा ती लडाकूलाई भूटानबाट लखेट्ने नौटंकी रचिए पनि थिम्पूले उनीहरूमध्ये विशेष असमीयाँ र बोडो जातिका अधिकांशलाई उत्तरी भेगमा लगेर भूटानी नागरिककै रूपमा समाहित गराइसकेको कुरासमेत चर्चामा छ । उत्तरका ब्रोक्पा र खेङहरूलाई दक्षिणका (शरणार्थी स्वामित्वका) जमीनहरूमा ल्याएर राखिएको यथार्थले उत्तरका जमीन खाली गरेर भारतीय लडाकूहरूलाई त्यहाँ प्रतिस्थापित गरिएको सोझै पुष्टि हुन्छ । फेरि भएन, एक वर्षमा लगभग ५० प्रतिशतले घट्ने, फेरि अकस्मात ८० प्रतिशतले बढ्ने-फेरि क्रमशः घट्दै र बढ्दै रहने सरकारी जनसंख्या तथ्यांकले पनि यो कुरालाई पुष्टि गर्दछ । भूटान सरकारले आजसम्म नै देशको यकिन जनसंख्या तथ्यांक सार्वजनिक गरेको छैन । कहिले १३ लाख हुन्छ, कहिले ६ लाख हुन्छ त कहिले ५६० हजारमात्र हुन्छ-फेरि ६ महिनामै बढेर ८ लाख पुग्छ ! भूटानको यो रवैयाबाट थिल्थिलिएको भारतले सन् १९९७, अप्रिल १८ को दिन निर्वासित भूटानीहरूको आन्दोलनलाई नेतृत्व दिँदै भारतको समर्थन माग्न दिल्ली पुगेका रोङथोङ क्युनले दोर्जीलाई समातेर बन्दक बनायो । यद्यपि, भूटानले उनको सुपुर्दगीको माग गर्दा दिल्लीले टेर-पुच्छर लाएन । यस्ता दोहोरो मापदण्डका कदमहरूबाट थिम्पू र दिल्लीबीचको सतरञ्ज खेल सहजै बुझ्न सकिन्छ ।

यता आसाम राज्यको विखण्डन तथा समायोजनको दोहोरो द्वन्द्वमा लपेटिएका पृथकतावादी लडाकु र सरकारबीच वार्ताको कुरा चल्न थालेपछि आसाम राज्य सरकार पनि पहिले पृथकतावादीहरूलाई आश्रय दियो भनेर गरिएको खुलासाबाट रिसाएको थिम्पूलाई मल्हमपट्टि गरेर सम्बन्ध सुधार्न तम्सिएको छ । पहिले बिग्रिएको भूटानसितको सम्बन्ध पुनः सुधार्ने मनाशय देखाउँदै सन् २००९ मै गुवहाटीमा पक्रा परेका निर्वासित भूटानी युवा तेन्जिङ गावा जाङ्पोलाई थिम्पूसमक्ष हस्तान्तरण गरेको खबर आइरहेको छ । तर, यतिलेमात्र एकपटक बिग्रिएको सम्बन्ध किन सुध्रिन्थ्यो र? दीर्घकालीन हिसाबमा आसामले भूटानमा निरपेक्ष प्रजातन्त्रको वकालत गर्ने निर्वासित भूटानीलाई गैर-न्यायिक ढंगमा पक्रेर सुपुर्दगी गरेको कुराले आपसी राष्ट्रीय सम्बन्धमै दखल पुर्याउन सक्छ ।

हुन त यो दाउपेचको खेल नयाँ होइन । पहिलेदेखि नै चल्दै आएको छ । विद्रोहीहरूलाई भूटानबाट लखेटेर भारतसितको मित्रतामा सन्तुलन ल्याउन दिल्लीले चर्को दवाब सृजना गरेकाले सन् २००० देखि नै भूटानका शासकहरू त्रसित भई चीनियाँ सहयोगका निम्ति हात पसार्न थालिसकेका थिए । सन् २००१ को नोभेम्बरमा तत्कालीन भूटानी विदेशमन्त्रि जिग्मे वाई थिन्ले र चीनियाँ विदेशमन्त्रि वाङही-बीच थिम्पूमा सम्पन्न वार्तालाई यसकै नमूनाको रूपमा लिनसकिन्छ !

हुन त यो क्रम सन् १९८४ देखि नै शुरु भएको हो । तर, पहिलेका वार्ताहरू भूटान-चीनबीचका सीमासम्बन्धमा केन्द्रित हुन्थे भने पछिल्ला वार्ताहरू भूटानका शासक र दरबारको संरक्षणमा केन्द्रित छन् । चीनियाँ शासकहरू एकतन्त्रीय निरंकुश शासनपद्धतिमा विश्वास गर्दछन् र वरिपरिका निरंकुश शासकहरूको अधिकतम संरक्षण गर्न चाहन्छन् । स्मरण रहोस्, नेपालमा ज्ञानेन्द्र शाहको राजकीय शासनलाई चीनले अन्त्यसम्म सघाएको थियो । चीनसित निकट हुनु भूटान-भारत मैत्रीसन्धि-१९४९ को मर्मविपरीत छ । १९४९ मैत्रीसन्धिको धारा दुईअनुसार भारतको सल्लाह र परामर्शबिना बाहिर मुलुकसित सम्पर्कसमेत गर्न नपाउने प्रावधान हुँदाहुँदै चीनसित वार्षिकरूपमा यसरी २० औं पटकसम्म भूटानले वार्ता गर्नु भारतका लागि हितकर विषय पक्कै थिएन । भारत यसरी दिनदिनै थिम्पूप्रति तिरस्कृत बन्दै गएको छ भने भूटानचाहिं अनुहारको सामिप्यताका कारण बोडो आदिवासी, उल्फा र कामतापुरका लडाकूहरूलाई काखी च्याप्तै चीनसित मितेरी लाउन पुगेको छ ।

क्रमशः….

One Reply to “यसरी बोल्छ इतिहास-५”

  1. Milan

    जानुस दाइ अगाडी बढ्नुस यसरी नै देशको कथा लेख्दै जानुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *