राजमार्गमा अक्षरहरू

कवि

मनोज बोगटी
दार्जीलिङ्ग, भारत

राजमार्गमा पथ अवरोध गर्न बसेका अक्षरहरू
अखबार र टेलिभिजनबाट छरिन्छ।
त्यसैले बटुलेर कुरा गर्दैछु म
तपाईं?

लुते सरकारी अक्षरहरूलाई प्लास्टिकमा हालेर झरीबाट जोगाउने त्यो रत्नेलाई
हाईस्कूल फेल भएकोमा खेद छ।

अर्द्ध परीक्षा हुँदै गर्दा स्कूल पुग्ने
सरकारी क-खहरू
छिप्पट जुङ्गामा उनिएर बस्छ
टाउकोमा छिर्दैन।

चुहुने छानामुनि हुर्किने अक्षरहरूलाई
झरीको पनि डर; हुरीको पनि डर।

डरहरूको औंली समातेर
भत्किएको सिँड़ी उक्लँदा
चुट्टिएको चप्पल बोकेर
सड़कमा आइपुगेको शिक्षालाई
हनहनी ज्वरो आउँछ
ओखती खोज्न जङ्गल पसेकी बोजु
रूख नभेटेर फर्किन्छन्।

रूखहरू ट्रकमा गएर
मधेशमा घर बनाउँछन्।

त्यो घरमा
टाई बॉंध्ने ए.बी.सी.डी-हरू बस्छन् अनि
क-ख-हरूको विकासको निम्ति पोलिसी बनाउँछन्।

भत्किएको सिँड़ी बनाउन आएका
कचल्टिएका अक्षरहरूलाई थाहा छ
उसले कति जुलूस हिँड़ेको छ
कतिको घर भत्काएको छ
र क-कसलाई छप्काएको छ।

उनीहरूको गाडेका चन्द्रबिन्दु र रेफहरु
ओकार र औकारहरू
अझ पनि डाम जस्तो छ जङ्गी इतिहासको जीउमा।

एउटा सिँड़ी मरम्मति गर्न थुप्रिएका
थुप्रै अर्धअक्षरहरू लाप्पा पर्छन्।

विचराहरू
सिँड़ी होइन पिँड़ी मरम्मतिको निम्ति
जुनै रणनीतिको मुखमा सिग्रेट झोस्न पनि सक्छन् भैंसी अक्षरहरू।

अहिले अक्षरहरू
प्राइमेरी स्कूलको प्वाल परेको भित्ताबाट छिर्दै
राजमार्ग पुगेका छन्।

राजमार्गमै अनशन बसेका अक्षरहरूको
फोटो खिँच्दैछन् पत्रकारहरू
सरकारहरू
र, हेर्दैछन् रमिता बाँदरहरू।

लुते प्राइमेरी अक्षरहरू
हाइस्कूल र कलेजको आँगन टेक्दै झर्दैछन्
त्यत्रो अप्ठ्यारो पहाड़को बाटोबाट जोगिँदै
राजमार्ग आइपुगेका अक्षरहरू बटुलेर कुरा गर्दैछु म
तपाईं?
पोष्टर र पोखिएका अर्थहरू

पोष्टर टाँसिएको छ समयको निधारमा।
टाइमपासहरू पढ्दैछन्
आफ्नै अनुहारको पुरानो बिसङ्गति।

समयलाई
चप्पलले टेकेर उभिएको त्यो आदर्शको छाती छोएर
भुइँमा झरेको छ विशाक्त हावा।

त्यही हावाले बोकेको खस्रो चिच्याहटले छ्याप्प भिजेको भुँइ फुटाएर
उम्रिएको बिरोधपदक्षेपको छिप्पट अक्षर
दह्रो छाती गरेर उभिएको छ पोष्टरमा।

पोष्टर भनेको कुनै गोर्खाको समसामयिक अनुहार त हो
जो कञ्चनजङ्घा जत्रो अग्लो भएपनि देख्दैन
अन्धो संविधानले।

पोष्टर भनेको यही भीड़को फिङ्गरप्रिन्ट त हो
जसले सधैँ थ्याप्चेको तोक्चे हालेको छ डरछेरूवा देशलाई।

पोष्टरमा कति धपक्क बलेको छ
चिन्हारीको घाउ।
कति बलियोगरी उभिएको छ
किनारमा उम्रिएको नेपाली अक्षर।
एउटा दह्रो मर्यादा हुने गरेको इतिहासलाई
बलैले उचाल्दै आएको सत्यको पानीफोका
हत्केलामा नै फुटेपछि
आह! कसले टाँस्यो हँ त्यो पोष्टर?
नव-उपनिवेशकारी बोराको भित्तामा?

पोष्टरको कुनै संवेदन हुँदैन
कुनै आत्म हुँदैन
कुनै जात हुँदैन
पोष्टर र वर्तमानले एकैचोटी सासमा लिने
त्यो विष्मयकारी हावा
कत्ति जोड़ले चलेको
हर्नू गोर्खाहरूको खण्डहर स्वाभिमान उख्लिनेगरी हल्लिएको!

त्यो हावाको आँखामा देखिने रङ
कुन दलको हँ
त्यसको नाइके को?
एउटा त्रसित वर्तमान टेकेर उड़ेको परेवा
यसपाली पनि फर्किन्छ -फर्किन्न।

छातीको टाँक खुल्लै राखेर
मर्यादा र स्वाभिमानलाई स्तन जस्तै देखाउने
सेलेब्रेटी राजनीति
देह धन्दा गर्दै गाउँ पस्छ।

त्यसको फिलाभरि पोखिएको स्वप्वदोषहरूलाई
रोटीमा दलेर बॉंड्छ
भोका भविष्यहरू जो पेट बॉंधेर बसेका छन्
कुच्चिएको थाल जस्तो निधार बोकेर
राजनीतिको कामुक भाषामा
कति छिटो साटिन्छ
मान्छेको मर्यादा।

सालाहरू

ती नै थालहरूबाट आत्मदाह गर्दै हाम्फालेका अक्षरहरू
पोष्टर टॉंस्दैछन्
हेर्नू
आफ्नै मरूभूमि छातीमा
लौ, हेर्नू नि फेरि
पोष्टरमा
पढ्दैछन आफ्नै खिल्लीहरू
किनारा परेका अर्थहरूले।

पोष्टरको त्यो ठूलो ऐनामा टल्किएका
जायज मागहरूको चहकले
हेर्नू नि कसरी चिम्लिएको छ
सरकारको आँखा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *