रातो गुलाब र सिमलको फूल

बुद्धमणि ढकाल

वसन्त,
आरुको गुलाबी बासनामा
फक्रेको बेला
सहरमा त प्रेम दिवस
होहल्ला मच्चाइरहेको छ
राता गुलाबहरु
कति ठाँटिएर हाँसेका छन्
म देख्न मात्र सक्छु
यो बेला|

म चाहन्थे यसबेला
गोधूलिमा आकाशको कर्‍याङकुरुंगको लहर
तिमीलाई देखाइदिऊँ
हाम्रो आगनको डिलमा उभिएर
मैंले सानो हुँदा, त्यसलाई देखे जस्तै |
खोला किनारको सिमल फूलले
प्रेम दिवस मनाउन सके
हाम्रो प्रेम अमर रहन्थ्यो
यहाँ
शहरलाई सिमलको लालित्य के थाहा ?

हाम्रो गाउँमा
पैंयू फुलेको रमाइलो हुन्छ
मलाई यसबेला रहर लागेको हो
तिमीसंग
सेती दोभानका बाख्रा गोठालाजस्तै
लहराको हुइकिने पिंग खेलूँ
खहरेको टुप्पीमा बसेर
सुनकोशको नागबेली देखाइदिऊँ
देउरालीमा प्रीत यसरी साटूँ
सधैँभरि प्रेम दिवस मनाइरहूँ
मात्र होइन
पसलमा बेचिने रातो गुलाब
गुएलाको फूल भए पुग्छ
प्रेम साट्न
यहाँजस्तो नाटक गर्नुपर्दैन
हाम्रो गाउँमा
तिमीलाई उपहार दिन
मसंग सिङ्गो प्रकृति छ
जहाँ प्रीत लाएर
कहिल्यै अघाइन्न |

Leave a Reply

Your email address will not be published. Required fields are marked *