लुटिएकी सरला

नील अधिकारी
ओहायो, अमेरिका

हिउँ परेर भखरै बिसाएको छ, तर धर्तीमा भने मोतीको फसल उठाएर बिस्कुन फिँजाएको जस्तो देखिन्छ।

हिजो अस्तिदेखि परेको हिउँले साम्राज्य जमाएको छ। अनुमानित एक फिटजति पानीको सेतो पिठो पार्किङतिर पस्ने ड्राइभह्वेम थुप्रिएकाले बाटो कहाँ छ, पार्किङ कहाँ छ केही थाहा नहुने ! पाँच बजेको अलार्म बज्नेबित्तिकै सरला उठेर वासरुम पसिन्, केटा मान्छेलाई भन्दा केटी मान्छेलाई अलिक बेर लागि नै हाल्छ। सिँगार-पेटार गर्न बाँकी नै छ।

एयरपोर्टको जागिर, बिहान साढे छमा पञ्च-इन गर्नुपर्ने, खाजा पनि फ्रिजबाट निकालेर लञ्चब्यागमा लगाउनुपर्ने, पार्किङबाट गाडी झिक्न सकिने हो कि होइन, आज एन्जीला पनि अफ् छे, उसको पनि काम मैले नै गर्नुपर्ने…, मनमा यस्तै कुराले डेरा जमाइराखेको थियो सरलालाई । डुप्लेक्स घर भएकाले पल्लो दैलाको पिटरले पार्किङ सोर्न थालेछन्-“थ्याङ्क्यु पिटर फर योर गुड जब”- भन्दै हतारहतार कार स्टार्ट गरेर कालोपत्रे अन्दाजी सडकमा गाडी हुइँक्याइन्।

काममा पुग्न बीस मिनेट लाग्छ तर, अत्यधिक हिउँ परेकाले आधा घण्टै अगाडि निस्कनु परेको थियो सरलालाई। सधैँ जस्तै आफ्नो स्क्याजुल अनुसार काममा लागिन्। आज सरला जेटवेको वेटिङ्ग एरियामा काम गर्दैछन्। विभिन्न देश र शहरबाट आउने विमानहरू कोही ल्यान्डिङ हुँदैछन् त कोही उड्दैछन्। अपराह्न दुई बजे बेलायतको मेन्चेस्टरबाट ब्रिटिस एयरवेज रनवेमा अवतरण भइसकेको थियो । यात्रुहरू जेटवेबाट आफ्नो सामान झिक्न ब्यागेज क्लेम भएतिर आउँदै थिए, पाइलट रिचार्ड पनि ककपिटबाट निस्किए । धेरै पटक भेट भएकाले सरलाको रिचाडसँग हेलो, हाय हुनुका साथै नजिक पनि भइसकेकी थिइन्।

एसियन मुलुकका केटीहरू भनेपछि जो कोही पनि विचलित नभई रहन सक्दैन, फेरि यहाँका भन्दा हरेक कुरामा पृथक देखिन्छन् पनि। सरलाको सोझोपन, शान्त स्वभाव, लगनशीलताजस्ता गुणले जो कोही पनि लठ्ठ पर्दथे। दुइचार पटकको भेटमै सरलाको सोझोपनको पाठ पढिसकेछन् रिचाडले। उनी पनि सरलालाई नभेटी आफ्नो सयन कक्षतिर जाँदैन थिए। जान्नेले आँ गर्दा अलङ्कार बुझ्छन्, पाइलट र अरू कर्मचारीहरूसँग सरल र हँसिलो भइदिँदा टिप्सको पनि आशा हुन्छ भन्ने विचार गर्दै सरला रिचाडसँग पग्लिन थालिन्; सधैँ नजिक हुन कोशिश गर्न थालिन्। महिनामा दुइपल्ट आउने ब्रिटिस एयरवेज हप्तामा दुईपल्ट आइदिए हुन्थ्यो जस्तो लाग्नथाल्यो।

पाइलट रिचाड पनि सुशील युवती, शान्त स्वभाव र अनुशासित र सोझी केटी आफूसँग आकर्षित भएको देखेपछि ‘पल्केको तिल्के घरी घरी मिल्के’ भनेजस्तै नजिकिन पुग्यो । एक आपसमा राम्रै गफास्ट चल्ने गर्नथाल्यो । टुटेफुटेको अङ्ग्रेजी बोल्न जानेकी सरलाले पनि आफू आएको ठाउँदेखि लिएर विगतमा भोगेका दु:ख, अभाव, पारिवारिक अवस्थाको ठेली नफुकाई रहन सकिनन् । एकसरो नयाँ लगाउन र एकछाक मीठो खान गरेको जीवनसङघर्षका कथा सुनाइन् टिप्सको आशाले । रिचाडले भन्यो, “तिमी त ठूलो दुखबाट गुज्रिएकी रहिछौ, मलाई तिम्रो विगतको जीवन भोगाई र दु:ख सम्झँदा दु:ख लागेर आईरा’छ, तर केही गर्न सक्दिन । मेरो एकजना साथी निकै धनाढ्य छन्, तिमीजस्तो दुःखमा परेकालाई ज्यानै दिएर सहयोग गर्छन् । केही महिनाअघि उनले सोमालियाबाट आएकी एउटी केटीलाई पनि निकै ठुलो रकम सहयोग गरेको कुरा मिडियामा आएको थियो । म तिम्रो पनि कथा सुनाइदिन्छु ।”

अर्कोपल्ट आउँदा रिचाडले, “तिम्रो दु:ख सुनेर मेरो साथीले अस्सी हजार युरो र केही अमूल्य गरगहनाहरू तिम्रो ठेगानामा मेल गरिदिएका छन्, त्यतिमात्र हैन, आउने क्रिष्ट्मसमा फ्री युरोप टुरको लागि टिकट पनि तयार पारेको छ तर, तिम्रो पासपोर्ट पो छ कि छैन?” भनेपछि सरलाको खुशीको सीमा रहेन । “के कस्ता गहनाहरू पठायो होला, अस्सी हजार पाउण्ड युरो, आहा..!! मैले पाँचवर्ष काम गर्दा साठी हजार मात्रै सेभ गरेकी थिएँ, अब त एकाएक लखपति बन्छु। एक पाउण्ड बराबर १.११ डलर हुन्छ,असी हजार पाउण्डको कति हुँदो हो त्यसमाथि त्योभन्दा महँगो मूल्यको गहना पनि रहेछ”- भन्दै खुसी भइन।
सरलाको स्वभावमा एकाएक परिवर्तन आउन शुरु भयो। हिजोसम्म लञ्चब्यागमा बोकेको खाजा खाने सरला आज पाँचतारे होटेलको मेचमा खान थालिन्, हिजोसम्म चढेको टोयोटा रेभ-फोर पुरानो जमानाको लाग्नथाल्यो । रोल्स रोइस् र फरारी जस्ता महँगा गाडीतिर मन जानथाल्यो।

केही दिनपछि रिचाडले भन्यो उनको साथीले युरोपबाट पठाएको सामान न्युयोर्कको कस्टम विभागमा चेक जाँचका क्रममा अड्किएको छ । दिन बित्दै गयो सरलाको मन झन् आतुर हुँदै गयो, मनमनै त्यो दातालाई लाख लाख धन्यवाद दिइन्। रिचाडले पनि आफूले सामानको ट्र्याकिङ गरेको अपडेट दिँदै गयो । फेरि अर्को हप्ता बित्यो सामान आइपुगेन, सोधिन् सरलाले। पैसा भन्दा पनि गरगहनाको मूल्य बडी रहेछ, पहिलो प्रक्रिया पुरा भएको र दोस्रो प्रक्रियाका लागि अगाडि अडिट भइरहेको र अब प्रतीक्षाको घडी सकिएको कुरा रिचाडले बतायो । सरलाको मनमा अझ कौतूहल बढ्दै थियो, कुइन भिक्टोरिया, एलिजाबेथ पहिलो एलिजाबेथ दोस्रो जस्ता महारानीहरूले लाउने गरगहना पठाएको रहेछ क्यार अनि पो कस्टममा धेरै दिन लागेको होला, मोराले फेरि दिन पनि दिनु त्यस्तो अमूल्य वस्तुचाहिँ नपठाएको भए हुन्थ्यो, अब कहिले हात पर्ने हो,भन्दै मेल बक्स र फेडेक्सको गाडीको बाटो हेर्न थालिन्।

भनिन्छ प्रतीक्षाको घडी अति कठिन हुन्छ । तर, फल मीठो हुन्छ। यसबेला मान्छेले प्रतीक्षा कम गराउन लाखौँ मूल्य चुकाउन पनि पछि पर्दैन । शनिवारको दिन सरला विदामा थिइन्, कल आयो । रिचाडले गरेका रहेछन् । सरलाले सोधिन्, “सामान कस्टमबाट निस्कियो ?”- “अहँ झमेला भएछ, विदेशी पैसा यहाँ आउँदा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ट्याक्स तिर्नुपर्ने रहेछ । त्यसैले अस्सी हजार युरोको पन्ध्र हजार डलर तिर्नुपर्ने भयो”, रिचाडले भन्यो । त्यत्रो धेरै पैसा र अमूल्य गरगहना आउँदैछन भने जाबो पन्ध्र हजार के हो र? सरलाले “चेक पठाउँदा हुन्छ” भनेर सोधिन्। चेक ढिलो पुग्ने भएकाले अनलाइन् पे गर्न वेबसाइट पठायो रिचाडले। त्यो पैसा कसैले थाहा नपाई सरलाले अनलाइन पठाइन्।

दिन… हप्ता..  हुँदै गयो सामान आइपुगेन । सरलालाई एकै मिनेट पनि वर्षौँ लाग्नथाल्यो। अर्को दिन फेरि कल आयो, रिचाडले रहेछ । भन्यो,  “पैसा चाहिँ निस्कियो तर, गरगहनाको लागि पच्चिस हजार डलर तिर्नुपर्ने भयो के गरौँ ? कि मै लगाइदिउँ पैसा ?”, “पर्दैन मेरो लागि आएको, म आफैं पठाइहाल्छु निः”, सरलाले फेरि पच्चिस हजार डलर अनलाइन पठाइन्। अब सरलाले पाँचवर्षमा कमाएको दश हजार डलर मात्र बाँकी रहेको छ एकाउन्टमा।

सरलाले फेरि फोन गरिन् रिचाडको फोन उठेन, फेरि कल गरिन्, रिचाडले फोनमा भन्यो, “तिम्रै सामानको बारेमा कुरा गर्दै थिएँ कस्टमका कर्मचारीहरूसँग ।”  अब दुईदिन भित्रमा पार्सल आउँछ तर, पार्सल महँगो र संवेदनशील भएकाले सेक्युरिटी इस्यू छ, बकाइदा इन्सोरेन्स गरेर पठाउनु पर्नेभयो अरू थप पैसा लाग्ने भयो भन्यो । कति लाग्ने रैछ? यसपाली त त्यति धेरै लाग्दैन दश हजार मात्र । एकाउन्टमा भएको त्यो दशहजार पनि कसैले थाहा नपाई अनलाइन पठाइन् ।

पैसा सबै पठाइसकेपछि सरलाको एकाउन्टमा जिरो डलर ब्यालेन्स रह्यो । उनी अतालिन थालिन्, फेरि पैसा पुगेन भने के गर्ने होला, उनले सँगै काम गर्ने साथी क्रिष्टीनालाई सबै कुरा भनेर दुईचार हजार सापटी लिने बिचार गरेर उनका घरमा पुगिन्।

सरलाको कथा सुनिसकेपछि क्रिष्टिनाले लामो सास तान्दै जिब्रो टोकिन्।

क्रिष्टीनाले सबै कुरा थाहा पाइसक्दा धेरै ढिला भइसकेको थियो। सरलासँग फोन नम्बर मागेर हतार हतार क्रिष्टिनाले रिचाडलाई फोन लगाइन्, फोन स्वीच अफ आयो । एयरपोर्टका कर्मचारीसँग बुझ्न कोशिश गरिन, पत्ता लागेन । अन्तिम विकल्प पुलिसलाई खबर गर्नुशिवाय अरू केही बाँकी रहेन। केश सीबीआइमा दर्ता गराइदिइन् क्रिष्टीनाले । दुई महिना पछि सीबीआइले के पत्ता लगायो भने सरलाले पठाएको साठी हजार डलर अफ्रिका पुगिसकेको थियो । सरलालाई अझ पनि आफू लुटिएको कुरामा विश्वासै लागिरहेको थिएन।

उनी त्यो पैसा र गरगहनाको प्रतीक्षामा दिन बिताइरहेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *