लेखककी छोरी:- सिंहावलोकन गर्दा
मदन दुलाल
पेन्सिल्भिनिया, अमेरिका
‘लेखककी छोरी’ सामाजिक विषयवस्तुमा आधारित कथा हो । जे एन दाहालको प्रथम प्रयास भएपनि यो कथाकृति पढ्दै गर्दा पहिलो प्रयास मात्र भएको आभास हुँदैन । आन्तरिक परिष्कार र समाजीक मानसिकताले दृढ बनेको वैचारिक पृष्ठभूमिमा अङ्कुरित यस कथाकृतिले जे एन दाहाललाई एक उचाई त दिने नै छ । त्यो भन्दा बढी नेपाली भूटानी कथा लेखन परम्परामा नयाँ आयाम थपेको छ ।
चिटिक्क परेको आवरण सज्जा र मझौलाकारका कथाहरूले पाठकवर्गलाई रसास्वादन गराउँदछ । कथाकृतिको शीर्ष नामले नै कथा भित्र प्रवेश गर्न हुटहुटी जगाउँदछ । लेखक साहित्यको लागि बाँच्दछ र साहित्य समाजलाई दिशाबोध गराउँदछ । तर के समाजलाई दिशाबोध गराउने साहित्य सृजना गर्ने लेखकका [ समाजका ] आउने पिँढीले सृजनशील रही समाजको हित गर्न सक्लान् त? के “लेखककी छोरी” हरूले सृजनशील, कल्पनाशील भएर स्वयं लेखकले साहित्यको माध्यमबाट देखेको/देखाएको त्यो सुन्दर सुदूर भविष्यको गर्तमा सुनौलो दिव्य अङ्कुर आँकुराउन सक्लान् त ? यस्ता प्रशान्त प्रश्नहरू कथाको शीर्ष नामैले उठाएको छ । सङ्ग्रहमा सङ्ग्रहित कथाहरूमा समाजमा भई रहेका घटनाहरूको फेहरिस्त पाइन्छ । समाजमा निहित सङ्गति र विसङ्गतिको कटु तर सत्य विषयहरू पाइन्छ। समाजलाई हेर्ने दर्पण पाइन्छ ।
सङ्ग्रहका विषयवस्तु:-
प्रस्तुत कथा सङ्ग्रहमा विभिन्न विषयवस्तु रहेका छन् । यी प्रत्येक कथाहरूको आ-आफ्नै विषय, आकार, भाव, आशय देखा पर्छन् । तीमध्ये केहीलाई केलाउँदा मुख्य गरी अमेरिकामा बसोबास गर्दै गरेको [ भूटानी ] नेपाली समाजको सामान्य लाग्ने तर जटिल समस्याको चिन्तन, जातीय चिन्तन, भाषाको चिन्तन आदि पाइन्छन् । उनका निम्ति समाजको मूर्त अमूर्त जुनै कुरालाई पनि कथाको विषय बनाउन सकिन्छ । १४ वटा कथाको आ-आफ्नै विषयवस्तु र भाव भए तापनि कतिपय कथाका साझा विषय र भाव पाइन्छ । अमेरिकी नेपाली समाजको ऐना देखाउने क्रममा समाजमा देखिएका समस्याको विभिन्न स्वरूपको वर्णन गरिएको पाइन्छ । यसका साथै प्राय सबै कथामा मूलमा, आदर्शता, सुधारवादको पक्षहरू सालाखाला रूपमा पाइन्छ ।
“लेखककी छोरी” कथा सङ्ग्रहका प्रायः जम्मै कथामा सामाजिक चेतना र अनुभूति पाइन्छ । समाजमा घटित अ/सहानुभूतिहरूलाई कथाको माध्यमबाट बाहिर ल्याएका छन् । उनको निम्ति कथा आफ्नै समाजमा छ, परिवारको घर व्यवहारमा छ । लेखक, महेश माध्यमबाट झट्ट हेर्दा नदेखिने तर बिलकुलै भिन्न रूपको कथा देख्छन् । लेखककी छोरीबाट सुदूर भविष्यको कथा देख्छन् । आँफुले जिउँदै गरेको समाजमा उपलब्ध अधिकारको गलत प्रयोगमा कथा देख्छन् । ”कर्म दाइ” -को सुसाईडको माध्यमबाट विदेशमा हुने मानिसहरूको मानसिक स्खलनमा कथा देख्छन् । “हन्टिङ द सिक्रेट कोड”बाट कथाकारले स्वच्छन्दतावाद पनि प्रयोग गरेका छन् । र लेखकले समाजको अन्तर्ह्रदयमा खिलेका भावहरूलाई कथाको माध्यमबाट अभिव्यक्त गरेको पाइन्छ ।
कथाकार दाहालले कथामा सुधारवादलाई प्रश्रय दिएका छन् । सङ्ग्रहमा रहेका अधिकांश कथामा सुधारवादी चिन्तन पाइन्छ । मानव समाजको कुरूपता, विकृति, विसङ्गति, स्वार्थन्धता, मानवताको ह्रास आदि देखि कथाकार विरक्त हुन्छन् । यस्ता प्रतिकूल पक्षहरूलाई पन्साएर नयाँ सुन्दर, स्वच्छ, सुधार सहितको समाजको स्थापना गर्न चहान्छन् ।
संरचना:-
यस सङ्ग्रहका कथामा वादको कुनै पनि उपस्थिति छैन । सरल र सहज कथा खोलाको पानी झैँ सलल बगेका छन् । पाठकले कथामा भएका हरेक संवाद बुझ्न दिमाग खियाई रहन पर्दैन । कति कथामा लेखक स्वयं पात्रको रूपामा खडा छन् त कतिमा द्वितीय दृष्टिविन्दु र तृतीय दृष्टिविन्दुको प्रयोग गरिएका कथामा भाव पक्ष बलियो छ । विषय प्रधान भन्दा पनि कथाहरू घटना प्रधान छन् । कथागत संरचना हेर्दा प्राय कथा मझौलाकारका छन् । लामा लामा कथा पढ्न झिँजो मान्ने पाठकलाई यस कृतिभित्र रहेका कथा पढ्नलाई प्रयुक्त छन् । सबै कथाको गति र लय एकनासले अघि बढेका छन् । पढ्दै गर्दा कसैलाई पट्यार लाग्दैन ।
पात्र/परिवेश र भाषा शैली:-
प्राय कथाको परिवेश अमेरिकी भूगोलमा केन्द्रित छ । एकाध कथामा नेपालसम्म पुगेका कथाकारले सरल सटिक र छोटा छोटा संवादको माध्यमबाट घटनाको गाम्भिर्यता नमारी आधुनिक पठित युवावर्गलाई पात्रको रूपमा उभ्याएका छन् । परिवेश अमेरिकाको हुनाले अङ्ग्रेजी भाषाको प्रयोग प्राय कथामा पाउन सकिन्छ । जुन पात्र सुहाउँदो छ तर अङ्ग्रेजी भाषामा ज्ञान नहुनेलाई केही असहज हुने भएपनि कथाको मूल मर्ममा पस्न असहज भने हुने छैन ।
अन्त्यमा:-
नेपाली भूटानी साहित्याकाशमा कथा लेखनमा उत्रिएका कथाकार जे एन दाहालको यस कथा कृतिमा १४ वटा कथा रहेका छन् । १४ वटा कथा [ उहाँकै शब्दमा ] चौध तिर फर्किएका छन् । चौधै दिशामा फर्किए पनि सबै कथाले समाजमा भएका विभिन्न आयामलाई समात्न सकेको छ । सरल, सरस र सुबोध्य छन् कथाहरू । कथाले समाजमा भएका सङ्गति र विसङ्गतिलाई सबैले देख्ने गरी, बुझ्ने गरी देखाइदिएका छन् र सुधारको आह्वान गरेका छन् । हर कुराको सुरुवात राम्रो हुन्छ भन्ने छैन । केही त्रुटि हुन्छन् नै । यस कथाकृति पनि त्रुटि रहित भने छैन । त्रुटि अवश्य छन् । तर त्रुटि भन्दा राम्रा पक्षको सघन उपस्थितिले कथाकृति सुन्दर बनेको छ । भविष्यमा अझ परिष्कृत कृति आउनेमा म ढुक्क छु । यस कृति सफल रहोस्। शुभकामना छ ।
(नोट: “नेपाली भूटानी साहित्य” पदावलीको प्रयोग लेखकको निजी विचार हो, सम्पादन समितिको धारणा होइन )