लोप्पा

कुबेर कुईकेल भुवानेटारे
अमेरिका

आज सबेरै उठेर!!
मौसुफ ढोग्न आएको
नब्बेको हावाले उडेको एन ओ सी
कतै दरबारको भित्तामा टाँसिन पुगेको छ होला !!

झिनो आशाको दियो बालेर
दरबारको नजिकै पुग्दा झट्ट याद आयो
मैले लगाएको पोषक पहिरनले
कतै मेरै पहिचान त झल्केको छैन ?

होइन !!
यो बक्खुमा लागे ,काब्ने ,जुत्ता मोजा
खोइ के मिलेन जस्तो छ !!
दौरा सुरुवाल जस्तो सजिलो चाहिँ हैन !!

मैले कतै जोङ्खामा बोल्नु पर्दैन !
मन भाषाको कारण डरायो
नेपाली मै भन्छु
राजाले बुजी बक्सन्छ होला !!!

दिमागमा कुराहरू खेल्दै थिए
टाशिछेजोङको गेट नेर
झट्ट कसैको आवाजले झस्कायो
“छे गामो ??“
प्रश्न गरेको जस्तो आवाजमा

म ! म !! म !!!
मौसुफ सरकारलाई भेट्न आएको
मात्र भन्न मुखमा आयो
भित्र प्रवेश निषेध रहेछ

हात जोडेर हजुर !!
मलाई भित्र जानु छ हजुर
मौसुफ ढोग्न !!
आफ्नै भाषा भनी दिएँ

पालेले विवरण लिएर
तिन दिन पछि आउने आदेश गर्‍यो
तेस्रो दिन बिहानै
दरबार मार्ग नाप्दा मौसुफको दर्शन भयो

नियम अनुसार शिर झुकाएर !
बक्खुको गादो मिलाउँदै ,जदौ ! महाराज !! गर्न पुगेँ
नेपालीमा बोलेको राजाले के कति बुझे बुझेनन्
तर जाने आदेश, भने नेपालीमा नै भयो

आखिर !!
खालि हात नै जानु पर्‍यो
देखावटी प्रजातन्त्र घोषणा गर्ने नरेशले
मेरो आशाको दियो निभाउँदै ; लोप्पा खुवाइ दिए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *