विशेष सम्पादकीय
मानव सभ्यताको शुरुवात नै सिर्जनाबाट भएको हो । जतिजति मानिस सभ्यताको सिँढी चढ्दै गयो, उतिउति मानव उर्वर मस्तिष्कबाट नयाँ नयाँ सिर्जनाहरु पल्लवित हुँदै आए । मानवले आफ्नो परिपक्व मस्तिष्कबाट भौतिक्ताको मात्रै उन्नति गरेर अपितु भाषा कला साहित्यमा पनि त्यति नै उन्नति गरेको पाइन्छ । वास्तवमा भन्ने हो भने प्रकृति नै भौतिक एवं आध्यात्मिक उन्नतिको श्रोत हो । सिर्जनाको कुरा उठाउँदा के स्पष्ट हुन आउँछ भने सर्जकले जुनसुकै क्षेत्र वा विषयमा सिर्जना गरोस् तर उसले प्रकृतिलाई नै श्रोत मानिरहेको पाइन्छ । यसलाई यसो पनि भन्न सकिएला कि सिर्जना भनेको पुनर्संरचना हो । कच्चा पदार्थ त प्रकृतिमा नै निहीत छ । कला वा साहित्य सिर्जना पनि यस्तै हो तर यसमा साधन, साधक र साध्य अभिन्न अङ्गझैं बन्न पुग्छन् । साधनले साधकलाई अन्तर्मनबाटै प्रेरित गर्छ र साध्य वा सिर्जना तयार हुन्छ । साहित्य पनि यस्तै हो, जीवन जगतले सर्जकको हृदयमा गर्भदान गर्छ र सर्जक सिर्जनाको व्यथाले पीडित भई नयाँ रचनालाई जन्म दिन्छ । अर्को कुरा भाषा चाहिँ साहित्य सिर्जनाकी जननी हो । यसबाट के बुझिन्छ भने सर्जक जनक हो भने भाषा जननी हो किन कि जनकले आफ्नो कला भाषाका माध्यमबाट व्यक्त गर्दछ । साहित्य अभिव्यक्तिको माध्यम भाषा हो । साहित्य भनेको भाषारुपी वृक्षमा फलेको स्वदिष्ट फल हो । फल सरस भएझैं साहित्यमा रस हुनै पर्छ भन्ने मान्यता पूर्वीय आचार्यहरुको मत छ । त्यसैले भावक साहित्यमा रसको स्वादन गर्न लालयित हुन्छन् । साहित्य सिर्जना गर्न समृद्ध भाषा नै चाहिन्छ किन कि चिल्लोपात र झ्याँगिएको मलिलो वृक्षको फल मीठो हुन्छ । जुन भाषाका माध्यमबाट साहित्य सिर्जना हुन्छ, त्यो भाषा कालजयी वा अमर हुन्छ । साहित्य सिर्जना गर्न नसक्ने भाषाको लोप हुने सम्भावना बढी रहन्छ । भाषाले साहित्य सिर्जनाको ढोका खोलिदिन्छ । हेक्का राख्नु पर्ने कुरा के हो भने नेपाली भाषाबाट नेपाली साहित्य सिर्जना हुन्छ, अंग्रेजीबाट अंग्रेजी साहित्य नै सिर्जना हुन्छ । नेपाली भाषाबाट अंग्रेजी साहित्य सिर्जना कदापि हुँदैन । यसबाट के बुझाइ आउँछ भने साहित्यका माध्यमाट पाठक र श्रोता भाषाका सेवक बनेको देखिन्छ । संसारको भूरेखा तन्किएको त छैन तर मानव सिर्जनाको उचाई दिनानुदिन उध्र्वगतितिर उन्मुख छ । पूर्वीय साहित्य र पश्चिमी साहित्यका बीचमा सुरक्षित भूटानी साहित्यको विकास पनि यस्तै गतिमा अगाडि बढ्दै छ । भूटानी साहित्यका आँकुराहरु बग्रेल्ति छन् । जति थिए, छन् र आउनेछन् । ती सबैको लेखाजेखा एवं मूल्य मान्यता र प्रवृत्तिका आधारमा इतिहास एवं समालोचनाको आँकडा तयार पार्ने जग बसिसक्यो । भूटानी नेपाली साहित्यको इतिहासको काल बिभाजनको रेखा समयले पनि कोरिदिइ सकेको छ । भाषाको आशीर्वाद कै कारण भूटानी लेखक र पाठक नेपाली भाषा साहित्य विकासको क्रममा संसारका विभिन्न मुलुकमा पुगे पनि भाषिक एकीकरणको सूत्रमा बाँधिएका छन् । हाल भूटानी सर्जक उमङ्ग र उत्साहका साथ साहित्य सिर्जनामा क्रियाशील रहेको पाइन्छ । युवा पिँढी ज्यादै उत्साहित छन् । विज्ञान तक्निकीका माध्यमबाट आफ्ना कृति प्रकाशित हुने साझा स्थल पनि बनिइसकेको छ । पाठक लेखक सबै यस साझा स्थललाई आफ्नो साहित्यिक कला प्रदर्शनको धरोहर मान्न थालेका छन् । भूटानी सर्जकहरुले प्रायः साहित्यका सबैसबै विधालाई समेट्दै अगाडि बढेको पाइन्छ । जसमा गजल विधा द्रुत गतिमा अगाडि बढेको पाइन्छ । साझा स्थलले भूटानी साहित्यको इतिहास लेखनको शुरुवात, प्रतिभा परिचय संकलन एवं समालोचनाको स्तम्भ पनि सुरुवात गर्ने तयारीमा छ ।
सम्पादक