विशेष सम्पादकीय: फेरि समय सहज हुनेछ

यो कठिन समय हो । हामी सबैलाई थाहा छ आज हामी कस्तो युगमा प्रवेश गरेका छौँ । यस्तो त्रासदीपूर्ण समय इतिहासमा सायदै अभिलिखित होला । अहिले हरेक व्यक्ति, समाज, राष्ट्र र विश्व समुदाय सङ्कटमा फसेको छ । हामी सारा कोरोना विषाणु विरुद्धको लडाइँमा छौँ ।

जुन परिणाम र व्यापकताका साथ कोरोना विषाणुको सङ्क्रमण भइरहेको छ त्यसलाई रोकथाम गर्ने कुनै प्रभावकारी उपाय देखिएको छैन । अन्य रोग झैँ यसलाई निको पार्न सक्ने औषधि र खोप नभएपछि सङ्क्रमणको गति रोक्न ‘सामाजिक दुरी’लाई सबैभन्दा उपयुक्त जुक्तिका रूपमा अघि सारिएको छ । जसले गर्दा संसारभर ‘लकडाउन’को स्थिति छ । एकातिर सङ्क्रमण हुने र त्यसबाट ज्यान नै गुमाउनेको सङ्ख्या डरलाग्दो रूपमा बढेको छ भने अर्कातिर ‘लकडाउन’ र सम्भावित सङ्क्रमणको त्रासले जनजीवन आक्रान्त बनेको छ ।

मानिसहरूले अहिले एक किसिमको अनौठो र असहज अनुभूति गरेका छन् । सन्त्रास छ । चिन्ता छ । भय छ । पीडा छ । शोक छ । अनिश्चितता छ । अन्योलता छ । शून्यता छ । स्तब्धता छ । यो अकल्पनीय परिस्थिति हो । तर यस्तो अवस्थामा हामीले धैर्यता, सतर्कता र संयमता अपनाउनु बुद्धिमानी हुन्छ ।

यो माहामारीले प्रभावित नगरेको कुनै एउटा क्षेत्र छैन । त्यस कारण हामी यो विषाणु विरुद्धको अभूतपूर्व लडाइँमा एक साथ छौँ । यो जटिल परिस्थितिबाट हामी अवश्य पनि मुक्त हुने छौँ । सामान्य अवस्थामा हामी फेरि फर्किने छौँ ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् ॥

[यो त्रासदीपूर्ण समयमा उब्जिएका अनुभूतिहरूलाई हामीले Bhutaneseliterature.com मा अभिलेखिकृत गर्न सुरू गरेका छौँ।  आफ्ना लेखहरू editor@bhutaneseliterature.com मा प्रेषित गरिदिनुहुन हामी हार्दिक गर्दछौँ – सम्पादन समिति ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *