वेदमा के छ ? एक विहंगावलोकन

प्रो.हरिप्रसाद अधिकारी
वाराणसी ,भारत Dr Hari prasad Adhakari

उपर्युक्त शीर्षकको सम्बन्धमा सोच्ने बित्तिकै श्रद्धेय विद्वान् डा.स्वामी प्रपन्नाचार्यज्यूको स्मरण हुन गयो । वेदको सम्बन्धमा लेख्न या सोच्न थाल्दा विशेष गरेर नेपाली मूलका लेखकले वहाँको स्मरण गर्नु स्वाभाविक पनि हो, किनकि आज भन्दा लगभग ३५ वर्ष अघिनै स्वामीज्यूले गहन शोध गरी ‘‘वेदमा के छ ?’’ नामक ग्रन्थ दुईभागमा प्रकाशित गरिसक्नुभएको छ । नेपाली समाजको शैक्षिक स्तर, भौगोलिक दूरी आदिको कठिनाईले सबै नेपालीले उक्त पुस्तकको अवलोकन गर्न नपाउनु पनि स्वाभाविकै हो । जसले पनि उक्त पुस्तकको दर्शन, अध्ययन, चिन्तन र मनन गरेको छ उसले भारतीय संस्कृतिका आधारस्तम्भ वेदको तात्पर्य अवश्य बुझेको हुन्छ ।
यहाँ यो तथ्य पनि उल्लेखनीय छ कि डा.स्वामी प्रपन्नाचार्यज्यूको जन्म स्वभावतः वेदज्ञानविहीन राईजातिको परिवारमा भएको तथा ३० वर्षको उमेरदेखि मात्र संस्कृत अध्ययन शुरुगरेको र अल्पावधिमै वेद, व्याकरण, न्याय, साहित्य, वेदान्त, धर्मशास्त्र, इतिहास आदि विषयमा प्रामाणिक विद्वानको रूपमा काशीमा धाक जमाउनु भएको कुरा असंभव जत्तिकै हो । यस असंभव कार्यलाई संभव गरेर देखाउनु भयो डा.स्वामी प्रपन्नाचार्यज्यूले । वहाँ आज परमपद भैसक्नु भएको भएता पनि उक्त कृति र उदाहरणीय जीवनका रूपमा नेपालीभाषी समाजमा अमर बनिसक्नु भएको छ I
अस्तु ! संक्षिप्तरूपमा भन्ने हो भने ‘वेद’ समस्त भारतीयशास्त्रको मूलस्रोत हो, साथै विश्ववाङ्मयको पनि सबैभन्दा पुरानो साहित्य । यसमा एक विषयको मात्र वर्णन नभएर समस्त दैवीय, मानवीय, जैवीय, भौतिक विषयहरूको आफ्नो शैलीमा साङ्गोपाङ्ग वर्णन छ । यो ज्ञानराशी सनातन हो, अपौरुषेय हो, अनादि हो । त्यसैले मनुस्मृतिमा भनिएको छ – वेदोऽखिलोधर्ममूलम् – अर्थात् समस्त वेद धर्मको मूल हो । धर्म भनेको सत्कर्म हो, कर्तव्य हो, धारणीय वस्तु हो । वेदप्रतिपादित यज्ञ विधान व्यष्टि र समष्टिको सुन्दर समन्वय हो, प्रकृति र मानवको सामंजस्य हो, लौकिक र अलौकिकको संवाद हो, दिव्य र भौमको मिलन बिन्दु हो । त्यसैकारणले मनुस्मृतिकार भन्छन् – सर्वं वेदात् प्रसिद्धय ति – अर्थात् वेदबाट सबैकुराको सिद्धि हुन सक्छ । जति पनि हाम्रा शास्त्रहरू छन् ती सबै वेदकै विस्तार हुन् । पुराण, स्मृति, धर्मशास्त्र, रामायण, महाभारत, दर्शन, वेदान्त, न्याय, सांख्ययोग, वैशेषिक, मीमांसा, आदि जति पनि शास्त्र प्रस्थान छन् ती सबै वेदका व्याख्यान हुन् । समस्त व्यक्तिको वेदमा गति असंभव भएको हुनाले वेदव्यासले महाभारतको रचना गरेको उल्लेख पाइन्छ । जस्तै –
स्त्री शूद्र द्विजबन्धूनां त्रयी न श्रुतिगोचरा ।
अतो भारतमाख्यानं कृपया मुनिना कृतम् ।।
यसको तात्पर्य सामान्यजनलाई वेदबाटवंचित गर्नु होइन अपितु विभिन्न शास्त्रले वेदज्ञानमा असमर्थ व्यक्तिहरूलाई पनि वेदको तात्पर्यबाट परिचित गराउनु यसको मूल उद्देश्य हो ।यस सामान्य लेखमा वेदको विषयमा साङ्गोपाङ्ग विवरण दिन असंभव छ, तथापि यसबाट अलिकति वेदको तात्पर्य अवश्य ज्ञात हुने छ । यहाँ सर्वप्रथम अनादिकालिक वेदमा वैश्विक चिन्तन कसरि गुँथिएको छ भन्ने सन्दर्भमा केही नमूना प्रस्तुत गर्न चाहन्छु –
ऋग्वेदको शिक्षा
एकं सद् विप्रा बहुधा वदन्ति (ऋ. 1/164/46)
सत् अथवा सत्य एउटै छ । विद्वान्हरूले त्यसको वर्णन आफ्ना-आफ्ना तरिकाले गर्दछन् ।
एको विश्वस्य भुवनस्य गोप्ता (ऋ. 6/36/4)
यस समस्त विश्वको रक्षक एउटै छ ।
संगच्छध्वं संवदध्वम् (ऋ. 10/191/2)
सबैले साथ-साथ चल्नु पर्छ एवं हितकारी कुरा साथ-साथ बोल्नु पर्छ ।
स्वस्ति पन्थानमनुचरेम (ऋ. 5/51/15)
हामीले कल्याणकारी मार्गको अनुसरण गर्नु पर्छ ।
उपसर्प मातरं भूमिम् (ऋ. 10/18/10)
मातृभूमिको सेवा गर ।
यजुर्वेदको शिक्षा –
भद्रं कर्णेभिः श्रृणुयाम (यजु. 25/21)
हामी कानले राम्रो कुरा सुनौं ।
मा गृधः कस्यस्विद् धनम् (यजु. 40/1)
धन कसैको होइन, त्यसकारण लालच न गर्नु ।
मित्रस्य चक्षुषा समीक्षामहे (यजु. 37/18)
सबैलाई मित्रको दृष्टिले हेरौं ।
तन्मे मनः शिवसङ्कल्पमस्तु (यजु. 38/1)
मेरो मन राम्रा विचारले युक्त होस् ।
सामवेदको शिक्षा –
अध्वरे सत्यधर्माणं कविम् अग्निम् उपस्तुहि (साम. 32)
हिंसा रहित यज्ञमा सत्यधर्मको प्रचार गर्ने अग्निको स्तुति गर ।
यज्ञस्य ज्योतिः प्रियं मधु पवते (साम. 1031)
यज्ञको ज्योतिले प्रिय र मधुर भाव उत्पन्न गर्दछ ।
अथर्ववेदको शिक्षा –
मधुमती वाचमुदेयम् (अथर्व. 16/2/21)
मीठो बोली बोलौं ।
सर्वमेव शमस्तु नः (अथर्व. 19/09/14)
हामी सबैका लागि सबै कुरा मङ्गलकारी हुन् ।
मानो द्विक्षत कश्चन (अथर्व. 12/1/28)
हामीसँग कसैले पनि कहिले पनि शत्रुता न गरोस् ।
यस्ता यस्ता सर्वमानवकल्याणकारी सन्देशहरू चारै वेदमा प्रशस्तरूपमा पाइन्छन् । त्यसै कारणले वेद समस्त भारतीयशास्त्रमा समादृत छ। त्यसैले आस्तिकता र नास्तिकताको परिभाषा गर्दा वेदलाईनै मुख्यआधार मानेर ‘‘नास्तिको वेदनिन्दकः’’ भनिएको छ । प्राचीन भारतीय वर्णव्यवस्थाको आधारमा वेदको रक्षा गर्ने गुरुतर दायित्व ब्राह्मणलाई सुंपिएको थियो, तर दुर्भाग्यवश आज ब्राह्मणलाई पनि वेदको रहस्य पूर्णरूपमा थाहा छैन । मात्र 20 प्रतिशत ब्राह्मण वेदसंग परिचित होलान् । यही देखेर होला एक विद्वान्ले यसो भनेका छन् हिन्दीमा – ‘‘ब्राह्मण भी संस्कृत छोडेंगे कभी नहीं थी आशा’’।
अस्तु । ब्राह्मणलाई यसका रक्षणको दायित्व दिएको भएपनि वेदको ज्ञान समस्त मानवताको लागि हो । मानवमात्र पनि नभएर समस्त जीव जगत् तथा विश्वब्रह्माण्डको साझा सम्पत्ति हो वेद । किनकि वेदमा प्रायः एकवचनको प्रयोग विशेष परिस्थितिलाई छोडेर कहीं छैन । सर्वत्र सबैका लागि भएकाले वेदमा बहुवचनमात्रको प्रयोग भएको छ । कालक्रमले आज वेदमा धेरै शाखाहरू अनुपलब्ध छन् । सर्वसाधारणको जानकारीका लागि यहाँ वेदको संक्षिप्तरूप प्रस्तुत गरिन्छ –
1. ऋग्वेद संहिता
क. शाखा – 1. शाकल 2. बास्कल
ख. ब्राह्मण – 1. ऐतरेय 2. कौशीतकि (शांखायन)
ग. आरण्यक – 1. ऐतरेय 2. शांखायन
घ. उपनिषद् – 1. ऐतरेय 2. कौशीतकि 3. बाष्कलमन्त्रोपनिषद्
ङ. कल्पसूत्र/श्रौतसूत्र – 1. आश्वलायन 2. शांखायन
गृत्यसूत्र – शौनक, भारवीय, शाकल्य, पैंगी, पराशर, बह्वृच, ऐतरेय।
2. (क) शुक्लयजुर्वेद संहिता
क. शाखा – 1. माध्यन्दिन 2. काण्व
ख. ब्राह्मण – शतपथ ब्राह्मण
ग. आरण्यक – बृहदारण्यक
घ. उपनिषद् – 1. ईशोपनिषद् 2. बृहदारण्यकोपनिषद्
ङ. कल्पसूत्र – (श्रौतसूत्र) कात्यायन श्रौतसूत्र (गृह्यसूत्र) पारस्कर गृह्यसूत्र (शुल्बसूत्र) 1. बोधायन 2. मानव 3. आपस्तब 4. कात्यायन 5. मैत्रायणीय 6. हिरण्यकेशी (सत्याषाढ) 7. वाराह शुल्बसूत्र।
(ख.) कृष्णयजुर्वेदसंहिता
क. शाखा – 1. तैत्तिरीय 2. मैत्रायणीय 3. कठ (काठक) 4. कपिष्ठल (कठ)
ख. ब्राह्मण – तैत्तिरीय ब्राह्मण।
ग. आरण्यक – तैत्तिरीय आरण्यक।
घ. उपनिषद् – 1. तैत्तिरीय 2.कठ 3. श्वेताश्वतर 4. मैत्रायणी (मैत्री) 5. महानारायण उपनिषद्
ङ. कल्पसूत्र – (श्रौतसूत्र) 1. बोधायन 2. बाधूल 3. मानव 4. भारद्वाज 5. आपस्तम्भ 6. काठक 7. सत्याषाढ 8. वाराह 9. वैखानस श्रौतसूत्र। (गृह्यसूत्र) 1. बौधायन 2. मानव 3. भारद्वाज 4. आपस्तम्ब 5. काठक 6. अग्निवेश्य 7. हिरण्यकेशि 8. वाराह 9. वैखानस 10. चारापणीय 11. बैजवाप गृह्यसूत्र ।
(शुल्बसूत्र) शुक्लयजुर्वेदवत् (शुक्लयजुर्वेद जस्तै)
3. सामवेद-संहिता
क. शाखा – 1. कौथुम 2. राणायनीय 3. जैमिनीय
ख. ब्राह्मण – (कौथुमीय) 1. तांड्य महाब्राह्मण (पंचविंश या प्रौढ) 2. षड्विंश ब्राह्मण (एवं अद्भुत ब्राह्मण) 3. सामविधान, 4. आर्षेय 5. मंत्र (या उपनिषद्) 6. देवताध्याय 7.वंश 8.संहितोपनिषद् ब्राह्मण। (जैमिनीय)1. जैमिनीय (आर्षेय), 2. जैमिनीय तलवकार 3. जैमिनीय उपनिषद् ब्राह्मण।
ग. आरण्यक –
घ. उपनिषद् – 1. छान्दोग्य 2. केन उपनिषद्
ङ. कल्पसूत्र – (श्रौतसूत्र) 1. आर्षेय (या मशक) कल्पसूत्र 2. क्षुद्र कल्पसूत्र 3. जैमिनीय श्रौतसूत्र 4. लाट्यायन श्रौतसूत्र 5. द्राह्यायण श्रौतसूत्र 6. निदान सूत्र 7. उपनिदान सूूत्र। (गृह्यसूत्र) 1. गोभिल 2. कौथुम 3. खादिर 4. द्राह्यायण 5. जैमिनीय गृह्यसूत्र। (अप्रकाशित) 6. गौतम 7. छान्दोग्य 8. छन्दोग गृह्यसूत्र।
4. अथर्ववेद-संहिता –
क. शाखा – 1. शौनक 2. पैप्पलाद।
ख. ब्राह्मण – गोपथ ब्राह्मण।
ग. आरण्यक
घ. उपनिषद् – 1. प्रश्न 2. मुण्डक 3. माण्डूक्य उपनिषद् ।
ङ. कल्पसूत्र – (श्रौतसूत्र) बैतान श्रौतसूत्र (गृह्यसूत्र) कौशिक सूत्र ।
धर्मसूत्र (सबै वेद सॅंग सम्बद्ध)
क. प्राचीन – 1. गौतम धर्मसूत्र 2. बौधायन धर्मसूत्र 3. आपस्तम्ब धर्मसूत्र।
ख. गौण – 1. वशिष्ठ धर्मसूत्र 2. हारीत 3. हिरण्यकेशि 4. शंखलिखित 5. वैखानस 6. विष्णुधर्मसूत्र ।
ग. अन्य धर्मसूत्रकार – 1. अत्रि 2. उशनस् 3. कण्व 4. कश्यप 5. गाग्र्य 6. च्यवन 7. जातूकण्र्य 8. देवल 9. पैठीनसि 10. बृहस्पति 11. भारद्वाज 12. सुमन्तु ।
चार वेद का उपवेद यी हुन्
1. ऋग्वेद: – आयुर्वेद । 2. यजुर्वेद:- धनुर्वेद । 3. सामवेद: -गान्धर्ववेद । 4. अथर्ववेद: – इतिहास , पुराण , स्थापत्य , सर्पवेद , पिशाचवेद , असुरवेद ।
यो वेदको सामान्य झलक देखाएको मात्र हो, जिज्ञासुहरूका लागि । आज वेदका धेरै शाखाहरू लुप्त भैसकेका छन् । माथि बताइएको विवरण आज उपलब्ध हुने विवरण हो । यसका ज्ञाताहरू भारतवर्षमा कमै छन् । विशेषरूपमा दक्षिणभारतमा सबै शाखाहरूका विद्वान् मिल्दछन् । तत्पश्चात् वाराणसी त्यो स्थान हो जस्मा चारै वेद कण्ठस्थ भएका विद्वान्हरू उपलब्ध छन् ।
वेदमा कर्मकाण्ड, उपासना काण्ड, ज्ञानकाण्ड, आदि गरिएका विभाग छन्। सबै वेदमा यज्ञको सर्वोपरि महत्त्व बताइएको छ । यज्ञको महत्त्व श्रीमद्भगवद् गीतामा यसरि बताइएको छ-
अन्नाद् भवन्ति भूतानि पर्जन्यादन्नसंभवः ।
यज्ञाद् भवति पर्जन्यो यज्ञः कर्म समुद्भवः ।।
यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्विषैः।
भुंजते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् ।।
अर्थात् अन्नबाट प्राणी उत्पन्न हुन्छन् । पर्जन्य (वृष्टि) बाट अन्न उत्पन्न हुन्छ, यज्ञबाट वर्षा हुन्छ तथा कर्मद्वारा यज्ञ उत्पन्न हुन्छ।यज्ञमा समर्पित वस्तुको ग्रहण गर्ने सन्तहरू समस्त पापबाट मुक्त हुन्छन् तथा मात्र आफ्ना लागि भोजन निर्माण गर्छन् ती पापी हुन्, तिनले पाप खान्छन् । यस प्रकार समस्त पुराण स्मृति, धर्मग्रन्थ आदिमा यज्ञको महत्त्व एकस्वरले बताइएको छ।
व्यष्टि र समष्टिको सुन्दर सहयोगात्मक समन्वय नै यज्ञ हो । दुर्भाग्यको विषय यो छ कि आज वैदिक यज्ञहरूको अस्तित्व समाप्तप्राय छ । त्यसै कारणले अनेकप्रकारका प्राकृतिक विपद्हरू संसारमा बढीरहेका छन् ।
एउटा कुरा दरो सँग भन्न सकिन्छ कि वेदमा मनुष्यको मात्र कल्याण कामना गरिएको छैन । यसमा समस्त प्राणिजगत्को साथै विश्वब्रह्माण्डकै कुशल कामना गरिएको छ । उदाहरणार्थ यो प्रसिद्ध मन्त्र हेरौं-
द्यौः शान्तिः – द्युलोक शान्त अर्थात् उपद्रव रहित होस् ,स्वच्छ रहोस् I
पृथिवी शान्तिः – पृथ्वीशान्त अर्थात् उपद्रव रहित होस् ।
आपः शान्तिः – जल (नदी, नाला, समुद्र आदि) शान्त अर्थात् उपद्रव रहित होस् ।
ओषधयः शान्तिः – औषधी शान्त अर्थात् उपद्रव रहित होस् ।
वनस्पतयः शान्तिः – वनस्पति (वृक्षादि) शान्त अर्थात् उपद्रव रहित होस् ।
विश्वेदेवाः शान्तिः – सबै देवहरू शान्त अर्थात् उपद्रव रहित होउन् ।
सर्वं शान्तिः – यस ब्रह्माण्डमा जे जति छ त्यो सबै शान्त अर्थात् उपद्रव रहित होस् ।
यस्ता उदात्त विचारहरू वेदका प्रत्येक पृष्ठमा गुम्फित छन् । वेद बराबर विश्वमा कुनै ग्रन्थ छैन जसमा समष्टिको हितकामना गरिएको होस्। वेदमा उल्लिखित वैश्विक चिन्तन का नमूना अझ हेरौं-
यत्र विश्वं भवत्येकनीडम् – जहाँ समस्त विश्व एक परिवार बन्दछ ।
कृण्वन्तो विश्वमार्यम् – समस्त संसारलाई श्रेष्ठ बनाऊँ ।
समानी व आकूतिः समाना हृदयानि वः – सबैको चिन्तन एक होस् सबैको हृदय एकहोस् ।
मा भ्राता भ्रातरं द्विक्षन् – भाईले भाईसंग द्वेष नगरोस् ।
सर्वं खलु इदं ब्रह्म – यो समस्त जगत् ब्रह्ममय छ ।
आ नो भद्राः क्रतवो यन्तु विश्वतः – राम्रा विचारहरू सबै तिरबाट हामीसंग आउन्।
कुर्वन्नेवेह कर्माणि जिजीविषेत् शतं समाः – आफ्ना कर्तव्यको पालन गर्दै स्वस्थतापूर्वक सौ वर्ष बाँच्ने इच्छा गर।
असतो मा सद्गमय – मलाई असत् बाट सत् प्रति लैजाउ।
तमसो मा ज्योतिर्गमय – मलाई अन्धकारबाट प्रकाश तिर लैजाउ।
मृत्योर्मा अमृतं गमय – मलाई मृत्युबाट अमृततिर लैजाऊ।

यस छोटो लेखमा वेदका सबै उपदेशहरूको उल्लेख संभव छैन । संक्षिप्तरूपमा भन्दा वेदमा कुनै प्रकारको भेदभाव छैन । मुण्डकोपनिषद्को यो मन्त्र मननीय छ-
यथा नद्यः स्यन्दमानाः समुद्रे, अस्तं गच्छन्ति नामरूपे विहाय ।
तथा विद्वान् नामरूपाद् विमुक्तः, परात्परं पुरुषमुपैति दिव्यम् ।।
अर्थात् जस्तै सबै नदीहरू बग्दै आफ्नु नामरूपलाई त्यागेर समुद्रमा विलीन हुन्छन्, त्यस्तै विद्वान् अर्थात् ज्ञानी व्यक्ति नामरूपबाट हटेर दिव्य परात्पर ब्रह्मलाई प्राप्त गर्दछ ।
अतः वेदज्ञान भएका व्यक्तिले त्यसलाई अझै जान्ने र न जान्ने हरूलाई जनाउने आवश्यकता छ । सौभाग्यवश आज नेपालीमा पनि वेदका व्याख्याहरू पाइन्छन् । अतः जिज्ञासुहरूले त्यसको अन्वेषण र अनुशीलन गर्नुपर्दछ । अर्कालाई सुधार्नु भन्दा पैला आफु सुध्रिने कोशिश गर्नुपर्छ । आफ्ना मनको मैलो आफैं पखाल्नु पर्छ । दूषित चित्तमा वेदज्ञानको प्रवेश असंभव छ । संक्षेपमा यतिमै यस लघुलेखको उपसंहार गर्न चाहन्छु ।
तन्मे मनः शिवसंकल्प मस्तु । ऊँ शान्तिः शान्तिः शान्तिः।

Leave a Reply

Your email address will not be published. Required fields are marked *