शान्ति आइनन्
अणु बमको विष्फोटसँगै
धुजा धुजा भएर च्यातिएकी,
पिइसकेको रक्सीको बोतलसँगै फ्यालिएकी,
फुत्किएकी मेसिन् गन, मिजाइलहरूबाट,
त्यो कोलाहलदेखि
ज्यानमारा बन्दीझैं
हिँडेकी आश्रयको खोजीमा कहीं,
रावणले हरेकी सिताझैं
खोसिएकी मेरो जिन्दगीदेखि,
प्रचण्ड हुरीको चक्रब्यूहले रन्थनाएकी,
आकस्मिक भीमकाय खहरेले लगारिएकी,
आज यी छातौराको बथानमा छैनन्
यी सुन्तलाले चुलिएका डोकामा छैनन्,
छैनन् उनी यी तोते बोल्ने बालकका कोक्रामा
खोइ कता बिलाइन्,
तापको रापले पग्लेको हिउँझैं
पलकमै मलाई छोडेर एक्लै
गएकी शान्ति आइनन् !
हिजोसम्म त्यही पाखामा आउँथिन्
मस्त मेरो नानीमा निदाउँथिन्
सुम्सुम्याउँथिन् मेरा पाखुरा
पलाउँथिन् भएर आँकुरा
भर्दै हरियाली हराभरा
पुग्थिन् कहिले हिउँ फुल्ने टाकुरा,
क्यामेराको लेन्सले तान्यो भनूँ
मैले क्यामेराम्यानलाई सोधें
उनलाई मैले एकान्तमा खोजें
उनलाई नै भेट्न भनेर वनपाखा धाएँ,
खुप् कुरें भञ्ज्याङ चौतारीहरू
कतिपल्ट पुगें पानीका पँधेरीहरू
कति सल्काएँ दीपकमा रात्री अँधेरीहरू
सेकिएँ सकेसम्म
शिशिरका चिसा सिरेटाहरूसँग,
उनकै स्वागतका निम्ति,
ह्याँगिंग गार्डनले मोहनी लायो भनूँ
मैले उनलाई फूल-फूलमा खोजें
खोज्दै उनलाई म सगरमाथा पुगें
मैले ढुंगा पनि फुटाई हेरें,
हेरें उनलाई प्यासिफिकको तरलतामा
तर उनी भेटिइनन्,
हराइन् बितेको समयझैं
पलकमै मलाई छोडेर एक्लै
गएकी शान्ति आइनन् !
भाद्र १० २०५७, चन्द्रगढी, झापा
One Reply to “शान्ति आइनन्”