शुभेच्छा

मधु घिमिरे
वस्टर,मासाचुसेट्स,अमेरिका

पहाडका मधेशका हिमालका मनुष्यमा
सुशान्ति कान्ति फैलियोस् हटेर रोग विश्वमा
जताततै प्रमोदले गरेर राज्य मस्किँदा
म छन्दमा सुसिर्जना गरी गरी रमाउँला

तलाउ शैल गाउँमा र कन्दरा कुना कुना
जपेर मन्त्र शान्तिको गरेर नित्य वन्दना
टिपेर फूल बाबरी रमाउँदै चढाउँला
म छन्दमा सुसिर्जना गरी गरी रमाउँला

अनेकता भयो भने सदैव खोज एकता
सधैँ सधैँ धरा भरी रहोस् रहोस् सुसभ्यता
विभेद भेदका जरा उखेलिएर फालिँदा
म छन्दमा सुसिर्जना गरी गरी रमाउँला

सदैव भाइ भाइमा सुभाव होस् धराभरि
सदैव देश देशको मिलाप होस् धराभरि
समानता र शिष्टता रहून् सदा परम्परा
म छन्दमा सुसिर्जना गरी गरी रमाउँला

पवित्रता र प्रेमको विकास होस् बराबर
परोपकार सिर्जना अझै फुलून् निरन्तर
विवेक बुद्धि साधना समेटिएर फैलिदा
म छन्दमा सुसिर्जना गरी गरी रमाउँला

पञ्चचामर छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *