सम्पादकीय: सङ्क्रमणको बेलामा सृजना र पठन संस्कृति
गोला/बारुद र अत्याधुनिक हतियारको प्रयोगले पलभरमै विश्वलाई ध्वस्त पार्न सक्ने मानवजाति आज एउटा अति सूक्ष्मभन्दा सूक्ष्म विषाणु [भाइरस]देखि आजित भएको छ । हारेको छ । यो त्रासदीपूर्ण कालखण्डमा सम्पूर्ण मानवजाति आफ्नै घरको घेराबन्दी भित्र कैद भएर बसेको छ । यस सङ्क्रमणको महायुद्धलाई जितेर भोलिका दिनमा हामी कतिजना यस प्रलयको साक्षी बन्न सक्नेछौँ, केही निश्चित छैन ।
क्वाराइन्टाइनको यो समयलाई मानिसहरुले आ-आफ्नै तरिकाले प्रयोग गरेका छन् । नियमित काम ठप्प भएपछि, फुर्सदको समयमा साहित्यिक कृतिहरू पढ्ने, लेख्ने र तिनका बारेमा छलफल गर्ने अभ्यासहरू भइरहेका छन् । साइबर स्पेसले यसकार्यलाई अधिक रूपमा सहयोग पुर्याएको छ ।
पठन संस्कृति न्यून रहेको हाम्रो समाजमा पनि केही हदसम्म साहित्यिक गतिविधि अघि बढ्दै गरेको देखिन्छ । विभिन्न समूह, सङ्घ-संस्था र साहित्यिक अभिरुचि भएका व्यक्तिहरूबाट सामाजिक सञ्जालहरूमा रचना वाचन, कृति समीक्षा, साहित्यिक अन्तर्क्रिया र बहसहरू दिनहुँ भइरहेका छन् । यो आफैमा सकारात्मक पक्ष पनि हो । तर के यसले मात्र हराइसकेको पठन संस्कृतिलाई पुनर्जागरण गर्न सक्ला ? यदि सक्दैन भने कसरी पठन संस्कृति बढाउन सकिन्छ भन्ने विषयमा हाम्रा भासिक अभियन्ता, साहित्य साधक र त्यससँग सम्बद्ध सङ्घ-संस्था, व्यक्ति र समग्र समाजले सोच्नु पर्ने अवस्था आएको छ ।
आफ्नो मातृभाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु, स्तरीय साहित्य लेखन गर्नु, विषयगत अद्ध्यान गरेर विज्ञता हासिल गर्नु र प्रकाशित साहित्यिक कृतिहरू [सृजनाहरू]को समीक्षात्मक बहस र छलफल गर्नु नै हाम्रो समाजमा हालको ठूलो चुनौती हो र यो चुनौती तपाई हामी सबैको हो । अब दायित्वबोध गर्ने साहस र क्षमता सबैले राख्नु पर्छ ।