समयको कठाघरामा

कवि

जयराम तिमल्सिना

यतिखेर चुपचाप चुपचाप
म उभिएको छु
समयको कठाघरामा ।

सजाउन चाहान्छु, म
मेरा आस्था र विश्वासका थैलीहरु
कल्पनाको सुन्दर दीप बाली
चेतनाको उज्याला बगैँचाहरु
भर्न चाहन्छु
कर्तव्यनिष्ट र जिम्मेवरीको भण्डार
थाहा छ मलाई
भण्डार आफ्नो संचित मनको
एक युगको सङ्ग्रह हो ।।

म हेरिरहेछु यतिबेला
परिवर्तनका सम्वाहकहरु
चेतनाको दीप छोपी
मान्यताको बाजी लगाएर
सिरानी काखिच्यापी
मौन कोठाबाट
हानिएको छ एउटा वाण
शून्यतामा ।
म यतिखेर बटुवा हुँ
बाटो हिँड्न बसेको
बाटोको कर्म हो लमतन्न परिदिनु
जुन बाटो
मेरो वर्तमान
घडीको सेकेन्ड सूईसँगै
टुक्रिँदैछ एकाईमा
र नापिरहेछ
समयले मलाई
मेरो वर्तमानलाई
धकेल्दैछ इतिहासतिर
र उभ्याउँदै छ
भविष्यको कठाघरामा
त्यसैले अहिले म
वर्तमानको तुलोमा
मेरा कर्तब्यहरु जोखिरहेछु ।।

बागबजार काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *