सम्झँदा दुःख लाग्छ
वासुदेव ओस्ती
क्यानाडा
कुरा ८ मार्च २०१० को हो । म ईलाम जिल्लाको लक्ष्मीपुरमा रहेको एउटा निजी विद्यालयमा शिक्षक काम गर्थें । त्यसदिन विद्यालय विदा थियो, त्यसैले म आफ्नो डेरामै बसिरहेको थिएँ । करिब दिनको दुईबजेको थियो, मेरो मोबाईलको घन्टी बज्यो । फोन मेरो मित्र सुर्यको रहेछ । उसले मलाई आफूले ट्युसन पढ़ाउने घरमा जाउँ भन्यो । ‘‘हुन्छ म आउछु, तँ पनि त्यो कल्पट्मा आइज है’’, भनेर मैले फोन राखें । एउटै विद्यालयमा काम गर्ने शिक्षक साथी भएकाले पनि एकदमै घनिष्ठ भएकाले विद्यालयबाहिर आपसमा -तँ तँ- कै व्यवहार हुन्थ्यो हामीबीच ।
महिला दिवसको दिन भएकोले हाम्रो विद्धालय विदा थियो। त्यसैले साथीले चाँडै ट्युसन पढ़ाउने विचार गरेको रहेछ । हामी कल्पट्मा भेट भयौं, हाम्रो यात्रा शुरु भयो । दुवैजना युवा भएकाले युवामैत्री गफ गर्दै हामी हिड्यौं । केहि क्षणमा हामी ट्युसन पढ़ाउने घरमा पुग्यौं । सुर्यले ढोका ढक्ढकायो । घरकी आमा बाहिर निस्किन् । सुर्यले आफ्नु विद्यार्थीको नाम लिएर सोध्यो, ‘‘रोशन घरमा छैन ?’’
रोशनकी आमाले जवाफमा आफ्नु छोरो स्कुल गएको कुरा गरिन् । ‘‘महिला दिवसको दिन पनि स्कुल लाग्यो र ?’’ त्यतिन्जेल मौन बसेको मैले सोधें । कुरा बुझ्दा रोशनको स्कुलले त महिला दिवसको विदा त अघिल्लै दिन पो गरेको रहेछ । म छ्क्क परें । अब पढ्ने विद्यार्थी नभएपछि काम भएन । सुर्यले अलि पर गएर खाजा खाएर आँउ भन्यो । मैले पनि मुन्टो हल्लाएँ । हामी अघी बढ्यौं ।
किन हो कुन्नि! नजिकैको क्यान्टिन पनि बन्द थियो । हाम्रो खाजा खाने इच्छा पनि पुरा भएन । सुर्यले, ‘‘ आज नपढाउँ, घर जाउँ’’, भन्यो, तर मैले मानिनँ । पैसा लिएर पढाउनु छ, परीक्षाको समयमा नपढाउँदा अभिभावक रिसाउँछन् भनेर मैले उसको कुराको प्रतिकार गरें । हुन त मेरो चिन्ताको विषय थिएन, तै पनि…। मैले अलि पर गएर एकछिन बसौँ अनि त्यसपछि फर्कदा त केटो आइहान्छ नि भनें । उसले मेरो कुरा स्वीकार गर्यो । हामी अघि बढ्यौं । केहि पर गएर डाँड़ामा बस्यौं । सुर्य कुनै युवतीसँग प्रेममा बाँधिसकेकोले उसले आफ्नो प्रेमानुभूति मसँग ब्यक्त गर्दै गयो । केहि रोमाञ्चक गफ भए ।
पाहाडको ठाउँ, डाँड़ामा धेरै हावा चल्यो । मलाई चिसो लाग्ला कि भन्ने डर लाग्यो, त्यसैले फिरौँ भनें । हामी फर्कियौँ । यति हुँदासम्म पनि रोशन आएको थिएन । हामीलाई भोकले च्यापेको थियो । नजिकैको पसलमा गएर चटपटे खानेँ भयौं । चटपटेको लागि केहि कुर्नु पर्ने भयो, तै पनि पसलवालनीको मिठो गफले कुरेको महसुस भएन । हामीले चटपटे खायौं । यतिखेर बेलुकीको चार बजिसकेको थियो । मेरो अलि छिटो खाने बानी भएकोले म छिटै खाएर बाहिर निस्कें । म निस्के पछि सुर्य पनि निस्कँदै थियो । चटपटे पसल बाहिर रहेको एउटा व्यक्तिले एउटा सानो नानीलाई बोलायो । बच्चो एकदम दौडेर आयो, जसरी एउटा बाछो आफ्नी आमाको दूध खान दौडिन्छ ।
सुर्य ठीक बाहिर आएको थियो । दौडँदै आएको बालक सुर्यसँग ठोकिन लाग्यो । सुर्यले बालकलाई उसको बाटो छोडिदियो । दुर्भाग्य ! त्यो बालक केहि पर पुगी लड्यो, उसको निधारबाट रगत बग्नथल्यो । हत्तपत्त सुर्य, बालकलाई बोलाउने व्यक्ति र हामी अरु केहि भएर स्वास्थ्य केन्द्र पुर्यायौं । बालकको निधारमा सामान्य चोट लगेको थियो । उपचार गरी बालक घर गयो । त्यो बालक घाइते भएकोमा हामी दु:खी थियौ । तर…. त्यो बालकलाई आफ्नु भान्जो बताउने व्यक्तिले सुर्यले झुक्क्याएर आफ्नु भान्जो घाइते भएको भन्दै आरोप लगायो । सबै प्रत्यक्षदर्सी र गाउँलेले सुर्यको दोष नभएको बताए । सुर्य पनि मसँग आफ्नु दोष नभएको बताउँदै थियो । म आफैंले घटना देखेकोले सुर्यको गल्ती छैन भन्दै थिएँ ।
रोशन स्कुल बाट आइसकेकोले सुर्य उसलाई पढाउन थाल्यो । म भने मोबाईलमा गेम खेल्न थालेँ । केहि क्षणपछि, त्यही घाइते बालकलाई भान्जो बताउने दुई युवक हामी बसेको ठाँउमा आएर, ‘सर झुक्क्याएर नै हो नि’, भनेर सुर्यलाई दोष लगाउन थाले । मदिरा सेवन गरेका ती युवकको आवाज कडै भएछ क्यार, घरबेटी आमै कुर्लिन थालिन्, ‘‘फटाहा हो, मेरो घरमा नकरा । बिचरा सरले के गरेको छ र?’’ युवक वास्तै नगरी हामीपट्टि खनिइरहेका थिए । घरबेटीको धेरै गनगन पछि, हामीसँग ‘सेपरेट’ गफ छ भन्दै बाहिर लगे । हामी पनि गयौं । उनीहरु त बाँसघारीतिर जान भन्दै थिए तर, सुर्यले मानेन । म त त्यस्तोमा कहिल्यै नपरेको मान्छे, त्यसैले मलाई भित्र-भित्रै डर लागिरहेको थियो । उनीहरु बाँसघारीतिर जान कर गर्दै थिए । हामीले मानेनौं । गाँउलेले पनि नजानु भने । ती युवकलाई पनि सम्झाउने प्रयास गरे, तर लागेन ।
गाँउलेको हप्पकाइबाट आक्रान्त बनेका ती युवकले हाम्रो अनुहारमा औंला ठड्याएर, ‘‘ फेरी त्यो बाटो नहिड्न’’ चेतावनी दिएर गए । हामीलाई गाँउलेले नडराउन र ती फटाहाले केहि गर्न नसक्ने भनेपछि मेरो मन पनि हलुका भयो । सुर्य त ती युवकदेखी रत्तिभर पनि डराएको थिएन! ऊ सुरो पनि छ । पछि भन्थ्यो,‘‘ तँ मसँग भएकोले मात्र हात नहालेको नत्र….।’’ नभन्दै ऊ डराएन पनि, भोलिपल्टदेखि नियमित रुपमा ट्युसन गइरह्यौं । ती फटाहाहरुले सुर्यलाई केहि गर्न पनि सकेनन् । उसको सत्यप्रतिको दृढ्ताको सबैले सराहना गरे । तर मलाई भने अनाहकमा गाली खानु परेको त्यो दिन सम्झँदा आज पनि दुःख लाग्छ ।
कस्तो कस्तो हुँदोरहेछ जिन्दगीमा……………………………………….!!!