सम्पादकीय

कीर्ति यस्य स जीवतिः

विवेकशील प्राणी मानिस आफ्नो नाम वा पहिचान अमर बनाउन सिर्जनात्मक कार्यतिर लाग्दछ । अर्थात् जगतमा उसको नाम उसको कामसँग जोडिएको हुन्छ । भौतिक, आध्यात्मिक, भाषिक वा साहित्यिक सबै क्षेत्रमा जजसको नाम अमर बनेको छ । त्यो अमर नाम पछाडि उसको रचनात्मक कार्यको उपस्थिति हुन्छ । रचनात्मक कार्य नगर्ने व्यक्तिको नामले अमरता प्राप्त गर्दैन । विधाताले मानिसलाई असंख्या सीप वा कलाको वीजारोपण गरिदिएको हुन्छ । विवेकशील मानिसले आफ्नो उर्वर मस्तिष्कले आफूभित्र सल्वलाउन लागेका असंख्या सीप मध्ये कुनै एकमात्र कलाको पहिचान गरी अभिव्यक्तिको माध्यमबाट दुनियाँको अगाडि आउन सक्ने हो भने उसको नाम स्वतः अमर हुन्छ । मानिसमा सिर्जनात्मक सीप त हुन्छ । तर विभिन्न कारणले सीप ओइलाउँछन्, मर्छन् । कति त माध्यम, हौसला, अवसर नपाएर सीप मर्छन् भने कति चाहिँ आफ्नै आलस्यले पनि तुहिन्छन् । हरेक व्यक्तिले आफ्नो नाम उपल्लो तहमा पु¥याउन कुनै न कुनै सिर्जनात्मक कार्य गर्ने हो भने संसारमा केहीको पनि अभाव हुने थिएन । भाषा साहित्यको कुरा गर्ने हो भने पनि माथि कै कुरा लागू हुन्छ । हृदयका भावनालाई निकास नदिएको भए लक्ष्मीप्रसाद देवकोटा साहित्यका सागर बन्ने थिएनन् । आफ्ना भावनालाई गुम्स्याएर राख्ने मानिसको प्रतिभाको पहिचान हुँदैन । आफूमा भएका सुन्दर भावनालाई गुम्स्याएर आफूभित्रै कुण्ठित गर्नाले व्यक्तिलाई भन्दा समाजलाई घाटा हुन्छ । त्यसैले सामाजिक प्राणी मानिस भएपछि आफू बाँच्नु नै समाजका लागि हो, केही काम गर्नु पनि समाज वा राष्ट्रका निम्ति गर्नु हो भन्ने सोचेर आफ्नो सीप वा कला आफूभित्रै सीमित गर्नु हुँदैन । त्यो सीप व्यक्तिमा निहीत भए पनि अभिव्यक्त हुँदा सामाजिक निधि बन्दछ, त्यसैले सामाजिक सम्पत्तिलाई आफूमा सीमित गर्नु ठूलो अपराध हो । हरेक भूटानी युवावर्ग उठौं, जागौं, आफूभित्र गर्भधान भएका रचनात्मक विषयलाई जन्म दिऔं । हाम्रो भाषा र साहित्यलाई समृद्ध बनाऔं । यसैबाट हामी सबै भूटानीको पहिचान बन्दछ ।

सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *