सम्पादकीय
भूटानमा रोपिएको नेपाली भाषाले प्रवासमा फष्टाउने अवसर पायो । जसको पल्लवित रुप भरखर मात्र देखिन थालेको छ । त्यो पनि विश्वलाई आफ्नो कर्मभूमि बनाएका सचेत भूटानी प्रबुद्घवर्गको सिर्जनाको साझा मञ्च स्पेसका तर्फबाट । वर्तमान जीवन बाँच्ने र आफ्नो भाषा, साहित्य तथा संस्कृति बचाउने क्रममा विभिन्न महादेश, उपमहादेशहरुमा विस्थापित भूटानीहरुको अभिव्यक्ति आदान प्रदान गर्ने सिर्जनाको उत्कृष्टमाध्यम बन्दै छ , “भूटानी लिट्रेचर डट कम” यतिबेला केही महत्वपूर्ण कार्य गर्नको लागि सबै भेला हुनुपर्छ भन्ने मान्यता विपरीत पनि संस्थाहरु निर्माण गरी सृजनात्मक कार्यहरु गर्न सकिँदो रहेछ भन्ने सन्देश यसले पक्कै पनि दिएको हुनुपर्छ । अहिलेको अवस्थामा दीगो र प्रभावकारी माध्यम यस अतिरितm अर्को पक्कै पनि छैन । तर आधुनिक प्रविधिसँग अपरिचित लेखक तथा पाठकहरुका लागि भने यो माध्यम त्यति सहज नहुन सक्छ तर ढिलो छिटो सबैले यो माध्यम स्वीकार्नै पर्छ । युगको माग पनि यही हुनसक्छ हाम्रो लागि । युगको प्रवाहसँगै बग्नेहरु पक्कै पनि किनार लाग्न सक्छन् तर त्यसबाट भाग्नेहरु भने समयको मूलप्रवाहमै डुब्न वा हराउन पनि सक्छन् ।
संसार बदल्न चाहनेले आफूबाटै शुरु गर्नुपर्छ भन्ने मान्यता अनुसार पुनर्स्थापनाको क्रमा नर्वे पुगेका एउटा भूटानी युवाले एक वर्षअघि शुरु गरेको यस साहित्यिक मञ्चले विश्वभरि छरिएका स्रष्टा एवं प्रबुद्धवर्गलाई एउटै मालामा उन्ने प्रयास पक्कै पनि गरेको छ । एकसाताअघि प्रकाशित वार्षिकी विशेषमा स्रष्टा,साधकहरुको हौसला र यसकार्यप्रति देखिएको शुभचिन्तकहरुको सकारात्मक प्रशंसा नै यसको ज्वलन्त उदाहरण हो भन्न सकिन्छ ।
परिस्थितिवश संसारका विभिन्न महादेश वा उपमहादेशमा पुगेका भूटानी समुदायको भाषिक एवं सांस्कृतिक पहिचानलाई कायम राख्नका निम्ति समस्या र अड्चनहरु पनि त्यतिकै छन् । बर्तमान हाम्रो सामाजिक परिवेश विखण्डन र विलयको संघारमा छ एकातिर भने अर्कोतिर नेपाली भाषा साह्रै अफ्ठ्यारो छ भन्ने हाउगुजी हाम्रा किशोर विद्यार्थी भाइ बहिनीहरुमा व्यापक थियो र छ पनि । प्रवेशिका र त्यो भन्दा माथि अध्ययन गर्ने अधिकांशहरुको पनि सोच त्यही नै छ । नेपाली भाषाप्रतिको नकारात्मक सोचलाई सकारात्मकतातिर लैजान पनि त्यतिकै जरुरी छ ।
कथ्यबाट भरखरै मात्र लेख्यरुपमा आउन प्रारम्भ गरेको भूटानी नेपाली भाषाको विकास र विस्तारको निम्ति भाषा सिकाइको व्यवस्था पनि त्यतिकै टड्कारो भएको छ । एउटा जीवित जातिको भाषा नै रहेन भने साहित्य सृजनाको अर्थै नहुन सक्छ । भाषा पठनपाठनको समुचित व्यवस्था गर्नसकिएन भने भूटानकै स्थिति देहोरिन सक्छ । आज हामी जहाँ छौँ र जस्तो अवस्थामा बाँचेका छौँ त्यो आफ्नै ठाउँमा छ । तर त्यो हाम्रो बचाइलाई अझ सुन्दर र सार्थक पार्न भाषाको प्रशिक्षण र सांस्कृतिक कार्यक्रमहरुको आयोजना अपरिहार्य भएको छ । भाषाको अभावमा सिर्जना नफष्टाउने मात्र हैन जातीय पहिचान नै विलुप्त हुनसक्छ । सृजना र अभिव्यक्तिको सहज र सरल माध्यम मातृभाषा नै हुनसके मात्र साहित्यिक सृजना मौलाउन र फष्टाउन सक्छ । भाषा हरायो भने जाति पनि हराउँछ भन्ने मूल मर्मलाई कसैले पनि बिर्सिन मिल्दैन । भूटानी नेपाली भाषा र साहित्यको विकास र विस्तारका निम्ति भूटानी समुदाय नै अघिबढ्नु पर्छ । अघिल्लो पुस्ताबाट पछिल्लो पुस्ताको सिर्जनात्मक चेतनाको विकास गर्ने प्रयास र उनीहरुमा सिर्जनाको हस्तान्तण गर्ने परम्परा प्रारम्भ गरिनु पर्छ । भाषा सिकाइ र रचना लेखाइका विभिन्न अभियानहरु संचालनमा नआएसम्म न नयाँ स्रष्टाहरु नै जन्मन सक्छन् न त सिर्जनात्मक यात्रा नै अघिबढ्न सक्छ । आजको दशवर्षपछि अंग्रेजीमा लेख्नेहरुको संख्या तीव्र बढ्नसक्छ तर भाषा सिकाइ र प्रशिक्षणको अभावमा । नेपालीमा लेख्नेहरुको मात्र होइन नेपाली पढ्नेहरुकोसमेत संख्या अहिलेकै हाराहारीमा होइरहन्छ भन्ने अवस्था छैन । त्यसैले जातीय पहिचानको निम्ति प्रथमतः भाषा संरक्षणको नितान्त आवश्यकता खड्किएको छ । अब नेपाली भाषाका कक्षाहरु संचालन गर्ने अभियान सबैतिर आजैका दिनबाट प्रारम्भ गरिएन भने समाजको लागि त्यो भन्दा ठूलो दुर्भाग्य अर्को नहुनसक्छ ।
सम्पादक