परिषद्को २९औँ स्थापना दिवस

गङ्गा लामिटारे
अमेरिका

नेपाली भाषा-साहित्यको संरक्षण र संवर्द्धन साथै नेपाली शिक्षक उत्पादन गर्ने उद्देश्यले १९९३ मार्च १७ का दिन बेलडाँगी २ मा भाषा परिषद्,भूटानको विधिवत् स्थापना भएको थियो । ५० भन्दा बढी भाषा प्रेमीहरूको उपस्थितिमा यस संस्थाको गठन भयो  । २००३ देखि यसलाई नेपाली साहित्य परिषद्,भूटानको नाममा रूपान्तरित गरियो । त्यसै गरी पुनर्वासपछि साहित्य परिषद् भूटान अथवा अङ्ग्रेजीमा लिट्रेचर काउन्सिल अफ भूटान (LCOB) अमेरिकामा गैर नाफामुखी संस्थाको रूपमा दर्तासमेत भयो । भाषिक तथा साहित्यिक अभियान सञ्चालन गर्दै आएको परिषद्ले स्थापनको २८ वर्ष पुरा गरेर यसै १७  मार्चदेखि २९ वर्षमा प्रवेश गर्दै छ ।  लगभग ३ दशक लामो यात्राका क्रममा यसले के गर्‍यो वा के गरेन,त्यसको मूल्याङ्कन समाजले अवश्य गर्नेछ ।

झापाका सातै वटा क्याम्पमा शाखा प्रशाखा विस्तार गरेर नेपाली साहित्यको पठन-पाठनलाई तीव्रताका साथ अघि बढायो,परिषद्ले । साहित्य प्रचार समिति सिलिगुडी र साहित्य परिषद्को संयुक्त पहलमा १९९३ देखि सुरु भएको साहित्यिक  एवं शैक्षिक अभियान २००९ सम्म निरन्तर चलिरह्यो । १७ वर्ष लामो अभियानबाट लगभग १० हजार भूटानहरूले साक्षर र शिक्षित बन्ने अवसर पाए । त्यसमा  सबैभन्दा बढी महिलाहरूको सहभागिता रह्यो । यसै शैक्षिक उपक्रमका माध्यमबाट उत्पादित  सयभन्दा बढी  स्नातकहरूले क्याम्पका स्कुलहरूमा शिक्षक-शिक्षिकाको भूमिका निर्वाह गरे । भाषा प्रभाकर(४) देखि साहित्य अलङ्कार (स्नातक सरह) दोस्रो वर्षसम्मको अध्ययन  क्याम्पमै सञ्चालन गर्ने व्यवस्था गरिएको थियो ।

शैक्षिक कार्यक्रमसँगै परिषद्ले पत्रपत्रिकाका प्रकाशन (जस्तै भूटान कोपिला वार्षिक, भूटान जागरण पाक्षिक) प्रकाशन गरेर हाम्रा समाजका उदयमान लेखकहरूलाई लेख्ने, अभिव्यक्ति दिने र सामाजिक उन्नयन र चेतना विस्तारका लागि एउटा मञ्च प्रदान गर्‍यौँ । शरणार्थी क्याम्पमा नेपाली भाषा पढाउने अधिकांश शिक्षकहरू परिषद्का उत्पादन थिए र अहिले भूटानी समाजमा उदाएका थुप्रै लेखक र उदयमान स्रष्टाहरूको जननी पनि परिषद् नै हो ।

पुनर्वासपछि नेपाली भाषाको स्थिति नाजुक र कमजोर हुँदै गएको छ ।  पुनर्वासको १२-१३ वर्षको अन्तरालमा स्थानीय भाषाले नेपाली भाषालाई बिलकुल विस्थापित गरिदिएको छ ।  प्रयोग भए मात्र भाषा बाँच्न सक्छ । तर पुनर्वाससित देशहरूमा बच्चाहरूले नेपाली  भाषाको प्रयोग गर्न छाडेका छन् । भाषा बोल्न नजान्ने तिनीहरूका छोरा-छोरी र नाता-नातिनीहरूको पहिचान र स्वाभिमान के होला ?  नेपाली लेख्न-पढ्न नजान्नलाई सामान्य मान्न सकिएला तर बोल्नै नजान्नुलाई कदापि सामान्य मान्न सकिन्न ।

हाम्रो समाज आफैमा पनि डाइभर्स छ । विविध विश्वास र आस्था बोकेको छौ र विविध मातृ भाषा बोल्नेहरू छन्  । यस  अनेकता र विविधतालाई एकतामा बाँध्ने,विविध आस्था र विश्वासहरूका बिच पनि सद्भाव कायम राख्ने बलियो र विश्वासिलो आधार भनेकै हाम्रो यही नेपाली भाषा हो । जुन दिन हामी बिच यो सद्भावको डोरी छिन्छ, त्यस दिन संस्कृति त सकिन्छ नै जाति पनि विनाश हुने सुनिश्चित छ ।

हाम्रो समग्र जातीय अस्तित्वलाई  जीवित राख्ने एक मात्र बलियो आधार भनेको  नेपाली  भाषा र त्यसको पठन-पाठन नै हो । बच्चाहरूको पहिलो पाठशाला भनेको आमा बाबुको काख र वरिपरिको समाज हो । आमा बाबुकै काखमा सिक्ने अवसर मिलेन भने बच्चाले  कहाँ गएर सिक्ने ?  सकिन्छ, भने घरमा बच्चाहरूसँग नेपाली मै कुरा गर्ने, सकिँदैन   वर्तमान  अनलाइन कक्षाहरू  भइरहेका  मञ्चहरूमा  बच्चाहरूलाई  जोड्ने वातावरण मिलाएर पनि भाषा र संस्कृतिको संरक्षणमा सहयोग गर्न सकिनेछ ।

अब तीर्थका जाँदा होस् वा पर्यटनमा छलफल र बहस पनि नेपाली भाषा र साहित्य नै बन्न सकोस् । साहित्य परिषद् भूटान,संसार भरि छरिएका हाम्रा सन्तान र दर सन्तानका लागि पहिचान र एकताको सुरक्षित छहारी बन्न सकोस् । र यसै छाहरीका न्यानोपनमा भाषा,साहित्य र सांस्कृतिक बिरामीहरू पल्लवित र पुष्पित हुँदै जान सकुन् भन्ने साहित्य परिषद् भूटानको २९ औँ स्थापना दिवसका उपलक्ष्यमा सबैमा  शुभकामना व्यक्त गर्न चाहन्छु ।

आदरणीय भाषा प्रेमी  सज्जनहरू, हिजोका दिनहरूमा साहित्य परिषद् भूटान एक दुई जनाको रहर थियो होला । सपना थियो होला । तर अब साहित्य परिषद् सबै नेपाली भाषाहरूका लागि आवश्यकता बनेको छ । सबैको बाध्यता र कर  बनेको छ ।  यसको आवश्यकता र महत्त्वलाई बुझेर परिषद्लाई पुनर्वाससम्म ल्याउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने वर्तमान/निवर्तमान कार्यकर्ताहरू/शुभचिन्तक र नेपाली भाषालाई माया गर्ने सबैलाई अन्तर हृदयबाट हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु ।

साहित्य-परिषद्,भूटानले सिस्ने खोलादेखि प्रारम्भ गरेको साहित्यिक प्रकाशनलाई निरन्तरता दिने भूट्निज स्ट्रेचर डट कमका संस्थापक,सम्पादक र प्रकाशन विभागका निर्देशक सबैलाई विशेष सम्झन चाहन्छु  । साथै पुनर्वासमा नेपाली भाषाको संरक्षणका लागि व्यक्तिगत वा संस्थागत रूपमा कक्षा सञ्चालन गर्ने मित्रहरू,स्वयंसेवकहरू र शुभचिन्तकहरू सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । पुनर्वासमा परिषद्लाई संस्थागत,समयसापेक्ष बनाएर लैजान सक्षम युवाहरूको खाँचो छ । त्यसैले  परिषद्को यस महत्त्वपूर्ण र ऐतिहासिक जिम्मेवारी समाल्नका लागि पनि प्रस्ट विचार,दूरगामी दृष्टिकोण, कुशल योजनाकार र दक्ष एवं सक्षम युवाहरूलाई म  आह्वान गर्दछु  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *