साहित्य परिषद्,भूटानको  दायित्व

सम्पादकीय

सन् १९ ९३ मा शरणार्थी शिविरमा भाषा परिषद् ,भूटानका नामले स्थापित संस्था नाम परिवर्तनका साथ साहित्य परिषद्, भूटान भएको सर्वविदित नै छ  I पुनर्वासपछि सन् २०१६ मा अमेरिकाको ओहायो राज्यमा पंजीकृत भएपछि यस संस्थाको अझ जिम्मेवारी थपिएको छ र दायरा पनि बढेको छ I भाषा र साहित्यका क्षेत्रमा काम गर्ने यो संस्थाले यी दुवै विषयलाई आवश्यकता अनुसार अग्रगामी र लचिलो बनाएर अघि लानुको विकल्प छैन I शरणार्थी शिविरमा भाषाको जग बसाउने र साहित्यको बीजारोपण गर्ने यो संस्थाले  वर्तमानमा आएर पुनः एकपटक भाषा र शिक्षाका क्षेत्रमा सक्रिय हुन आवश्यक देखिएको छ I किनकि पुनर्वासपछि डायस्पोरामा  उब्जिएको भाषाको समस्या दिनानुदिन बढीनै रहेको छ I यो अवस्थामा अब बहुआयामिक कार्ययोजनाका साथ समाजसँग घुलमिल हुन योजनाबद्ध रूपमा अघि बढ्नै पर्छ I साथै समाजका बुद्धिजीवी र सम्पूर्ण भाषाप्रेमी अभिभावकहरूले पनि यस संस्थामा सहकार्यका लागि हातेमालो गर्नु पर्छ I

वर्तमानमा स्थानीय तहमा केही स्थानहरूमा साप्ताहिक भाषा कक्षाहरू आरम्भ  भएता पनि विश्वव्यापी कोरोना महामारीका कारण उक्त कक्षाहरू ठप्प भएका छन् I यो भनेको अस्थायी समस्या हो र केही समयमा यसको अन्त अवश्य हुनेछ र कक्षाहरू पुनः यथावत् चल्नेनै छन् I तर, यस अभियानमा देखिएका मूलभूत समस्या भनेका पाठ्यक्रमको अभाव ,शिक्षक तालिमको आवश्यकता  र अभिभावकहरूको निरुत्साह जस्ता गम्भीर समस्याहरू हुन् I यी समस्याहरूको दीर्घकालीन समाधान गर्न भाषा शिक्षाको केन्द्रीय विभाग (बोर्ड) बनिन र त्यसका छाता मुनि व्यवस्थित शिक्षण प्रणाली र व्यवस्थापनलाई तर्जुमा गर्न बाँकी नै छ I

यी मूलभूत समस्याहरूको निदान गर्न २०१६ मा पिटस्वर्गमा भएको परिषद्को सम्मेलनले भाषा शिक्षणका क्षेत्रमा सबैभन्दा खड्किएको विषय पाठ्यक्रमलाई अनुसन्धान गरी स्थानीय परिस्थिति अनुकूलको पाठ्यक्रम निर्माण गरिनु पर्ने प्रस्तावलाई पारित गरेको थियो र  तदर्थ एउटा समितिको गठन गरेको थियो I   त्रिसदस्यीय उक्त समितिले चर्चा परिचर्चा आरम्भ गर्दै केही आवश्यक मौखिक  अवधारणाहरू  तय गरेता पनि लिखित रूपमा पाठ्यक्रम निर्माणका लागि अनुसन्धान र लेखन आरम्भ हुन सकेन I सन् २०१८ मा परिषद्को चुनाव भएपछि नयाँ बोर्डको गठन भयो I नवनिर्वाचित बोर्डले ५ सदस्यीय पाठ्यक्रम अनुसन्धान तथा निर्माण समितिको पुनर्गठन गर्‍यो I यस पुनर्गठित समितिले केही नयाँ योजनाका साथ विभिन्न स्थानमा सञ्चालित हुँदै गरेका भाषा कक्षाहरूको स्थलगत सर्वे गरी त्यहाँ भएका समस्याहरूको अध्ययन गर्दै,शिक्षक,अभिभावक र केही बुद्धिजीवीहरूसँग अन्तरक्रिया गरेर  सुझावहरू सङ्कलन गर्दै पाठ्यक्रम निर्माणका दिशामा एक खुड्किलो माथि चढ्ने योजना बनायो I यस समितिले साप्ताहिक रूपमा नियमित घन्टौँ बसेर विस्तृत छलफल पछि त्यस बसाइलाई निरन्तरता दिँदै पाठ्यक्रम लेखनकार्य आरम्भ गर्‍यो I यो पहिलो तहको पाठ्यक्रम २ वर्षको अथक परिश्रम पछि अब तैयार भएको अवस्थामा छ I

समितिले परिस्थितिलाई ध्यानमा राख्दै स्थानीय शिक्षा नीति (क्रेडिट सिस्टम)मा  मेल खाने र देश,काल र परिस्थिति अनुरूप नयाँ र शिक्षक प्रशिक्षण नलिएका शिक्षकहरूलाई पनि सहज होस् भन्ने ध्येयले पाठ्यक्रम,शिक्षक निर्देशिका र पाठ्य वस्तु सबैलाई एकै स्थानमा समावेश गरी के पढाउने ? कति पढाउने ? र कसरी पढाउने भन्ने विषयहरूलाई निर्धारण गरी ३ वर्ष देखि ५ वर्ष सम्मका आयुवार्गका बालबालिकाहरूका लागि पहिलो तह निर्धारण गर्दै ४५ हप्ताको सामग्री तैयार गरेको छ  I

यद्यपि यो ऐतिहासिक कार्य भएको छ,तर यति गरेर मात्र परिषद्को उक्त पाठ्यक्रम अनुसन्धान तथा निर्माण समितिको दायित्व अवश्य पुरा हुँदैन I यो पहिलो तहको नयाँ शैलीमा प्रस्तुत पाठ्यक्रम बालबालिकाहरूलाई र शिक्षकहरूलाई कतिको उपयोगी हुने हो भन्ने कुरो एकसरो प्रयोग गरेपछि मात्र निश्चित हुने हो I यदि यो नयाँ शैलीको पाठ्यक्रम सहयोगी सिद्ध भएमा अगाडीका अन्य तहका लागि पनि पाठ्यक्रम तैयार गर्नु पर्ने त हुन्छ नै,यसका साथै शिक्षक प्रशिक्षण, स्थानीय कक्षा सञ्चालक संस्थाहरूसँग समन्वय र सहकार्य गर्न पनि उत्तिकै आवश्यक देखिन्छ I त्यसरी नै नवनिर्मित पाठ्यक्रमका आधारमा “पाठ्यपुस्तक’ र विद्युतीय शिक्षण सामग्रीको पनि निर्माण गरिनु पर्ने हुन्छ I यी सम्पूर्ण कार्यहरू सम्पादन गर्न अनुभवी अनुसन्धाताहरूलाई जोड्नु, अभिभावकहरूलाई जागरूक गराउनु जस्ता सांगठानिक दायित्वलाई पनि अभियानका रूपमा व्यवहार पथमा ल्याउन आवश्यक छ I

 यस अभियानमा परिषद्ले नगरी नहुने अर्को महत्त्वपूर्ण कार्य के  देखिन्छ भने  यस शिक्षण योजनालाई मान्यता दिलाउन र प्रोत्साहित गर्न कुनै शैक्षिक संस्थासँग आबद्ध गरेर परीक्षा प्रणालीको व्यवस्था र प्रमाण पत्रको व्यवस्थापन पनि गर्नु पर्ने हुन्छ I यी उपर्युक्त आवश्यक विषयहरूमा साहित्य  परिषद् भूटानले अभिभावक संस्थाको दायित्वलाई निभाउँदै बहुआयामिक योजनाहरू बनाएर कार्यान्वयन गर्न नितान्त ढिलो भैसकेको देखिन्छ I तर,यो दायित्व संस्थाको मात्र अवश्य होइन ,यो दायित्व सबै भाषिक र सांस्कृतिक रूपमा पीडित प्रत्येक  सदस्यको हो I यस कार्यमा डायस्पोराका सम्पूर्ण नेपाली भाषी भूटानीहरूले तन ,मन र धनको लगानी गर्न हिचकिचाउनु हुँदैन र साहित्य परिषद् भूटानलाई भाषा- साहित्यका क्षेत्रमा केन्द्रीय अभिभावक संस्था बनाउने दायित्व पनि हामी सबैको हो I

आउनुहोस् हामी सबै मिलेर हातेमालो गरौँ  र हाम्रो अस्तित्वसँग जोडिएको मातृभाषा र उक्त भाषासँग जोडिएको हाम्रो संस्कृति र अस्तित्वलाई बाचाऔं II

(सम्पादक डा. लक्ष्मीनारायण ढकालद्वारा लिखित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *